सरकारी वकिलसम्बन्धी छुट्टै ऐन ल्याउन तयार छु : डा.दीनमणि पोखरेल

NepalOne १४ पुष २०७९ १५:५४
प्रमुख खबर

काठमाडौँ / नवनियुक्त महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलले सरकारी वकिलसम्बन्धी छुट्टै ऐन ल्याउन आफू तत्पर रहेको बताउनुभएको छ ।

बिहीबार रामशाहपथ स्थित कार्यालयमा पदभार सम्हाल्दै महान्यायाधिवक्ता पोखरेलले संविधानको म्यान्डेडभित्र रहेको सरकारी वकिलसम्बन्धी छुट्टै कानुन निर्माणका लागि आफू तत्पर रहेको बताउनुभएको हो ।

सरकारी वकिलसम्बन्धी छुट्टै सेवा सुविधा सम्बन्धी ऐन आए कार्यसम्पादन पनि प्रभावकारी हुने उहाँको भनाइ छ । पोखरेलले पेशालाई थप व्यवसायीक बनाउनका लागि महान्यायाधिवक्ता कार्यालयले आवश्यक कार्यक्रम तर्जुमा गर्ने धारणा राख्नुभयो । उहाँले आफुले पुराना कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रमहरूलाई पनि प्राथमिकताका साथ अघि सार्ने बताउनुभयो । यसअघिका महान्यायाधिवक्ताले गरेको राम्रा कामलाई आफुले अङ्गीकार गर्ने उहाँको भनाइ छ ।

त्यसअघि बिहीबार नै नवनियुक्त महान्यायाधिवक्ता पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले  पद तथा गोपनीयता शपथ गराउनुभएको थियो ।


प्रतिक्रिया