आन्तरिक उडानकै सबैभन्दा ठूलो दुर्घटना, हवाई उडानका लागि सुरक्षित छैन नेपाली आकाश

NepalOne १ माघ २०७९ १४:५२
प्रमुख खबर

काठमाडौं / काठमाडौंबाट आइतबार बिहान १०ः ३० बजे पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिक दुर्घटनामा परेको छ । विमानमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रुहरु सवार थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै भयानक दुर्घटना भएको हो । उक्त विमानस्थल जनवरी १ बाट मात्रै सञ्चालनमा आएको थियो।

यो दुर्घटनासँगै फेरी एकपटक हवाई उडानका लागि नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप पुष्टि हुन पुगेको छ ।
पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको यो दुर्घटना आन्तरिक उडानतर्फ सबैभन्दा ठूलो दुर्घटना हो । यसअघि एटीआर ७२ विमान नेपालमा दुर्घटना भएको थिएन । नेपालमा अधिकांश दुर्घटना साना र दुर्गम क्षेत्रका उडानमा हुने गरेको थियो ।

विमान दुर्घटनामा पाँच भारतीयसहित १५ विदेशी नागरिक परेको खुलेको छ । साथै विमानमा ५३ नेपाली यात्रु रहेको पुष्टि भएको छ ।
यती एयरलाइन्सले ७ पुसमा यो विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १७ पुसबाट सबै नियमित उडान आन्तरिक वायुसेवाले यही विमानस्थलबाट गरेका थिए ।

आज दुर्घटनामा परेको विमानलाई क्याप्टेनद्वय कमल थापा र अञ्जु खतिवडाले उडाएका थिए । यो विमान काठमाडौंबाट उडेको १८ मिनेटमै दुर्घटनामा परेको हो । यो दुर्घटना नेपाली आकाशमा भएको विमान दुर्घटना नेपालमा भएका मल्टिइन्जिनको विमानमा ५० औं दुर्घटना हो ।
यसअघि विभिन्न कम्पनी मल्टिइन्जिनका ४९ वटा विमान दुर्घटनामा परेका छन् ।

नागरिक उड्डयन प्राधिकरणद्वारा जारी एभिएसन सेफ्टी रिपोर्ट अनुसार पोखरामा व्यवसायिक उडान अन्तर्गत भएको यो दोस्रो दुर्घटना हो । यसअघि ०५९ भदौ ६ गते सांग्रिला एयरको ट्वीनअटर दुर्घटना हुँदा चालक दलका सदस्यसहित १८ जनाको मृत्यु भएको थियो ।
यसै बीच सरकारले विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।

आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेनुभएको छ भने सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहनुभएको छ ।


प्रतिक्रिया