कञ्चनपुरमा १५ वर्षीया बालिकाले जन्माइन् शिशु, भारतीय युवकको नाममा जाहेरी

NepalOne १० माघ २०७९ १२:०२
प्रमुख खबर

कञ्चनपुर । कञ्चनपुर बेलौरीमा १५ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका–८ को कलकत्तामा ३ माघमा बालिकाले शिशु जन्माएको घटना सार्वजनिक भएको छ । अवैध गर्भधारणबाट शिशुलाई जन्म दिएर आमा बनेकी ती बालिका भने अविवाहित हुन् ।

बालिकाले जन्म दिएको शिशु कसको हो भन्ने खुलेको छैन । ईलाका प्रहरी कार्यालय बेलौरीकाअनुसार स्थानीयबासिन्दाको दबाबपछि बालिकाका आमाबुवाले बालिकाको भिनाजु नाता पर्ने एक जना भारतीय करिब २२ वर्षीय युवकको नाममा किटानी जाहेरी दिएका छन् । यसअघि बैशाख १९ गतेका दिन ती युवक र बालिका दुवै जनालाई भारततर्फ भाग्ने क्रममा प्रहरीले नियन्त्रण लिई अभिभावकको जिम्मा लगाएको प्रहरी रिपोर्टले देखाएको छ ।

अहिले बालिकालाई शिशुसहित परिवारको जिम्मा लगाइएको छ । प्रहरीले भारतीय नागरिकको शिशु भएको दाबी गरेपनि स्थानीयले भने वास्तविक दोषीलाई उन्मुक्ति दिन आर्थिक चलखेल गरिएको आरोप लगाएका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।


प्रतिक्रिया