अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

NepalOne १४ माघ २०७९ १८:००
प्रशासन

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रूपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । ‘अहिले म्यानुअल्ली रुपमा उडान सामान्य रुपमा भइरहेको छ’, उहाँले भन्नुभयो, ‘सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।’

अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उहाँको भनाइ छ । यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भीड बढेको उहाँले जानकारी दिनुभयो ।

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो । केहीबेर अघि इण्डिगो एयरको जहाज भारतको नयाँदिल्ली उडेको छ भने फ्लाई दुबईको जहाज भर्खरै अवतरण गरेको छ । कतार एयरवेजको जहाज पनि अवतरणको तयारीमा छ ।

महाप्रबन्धक ठाकुरले विगतमा पनि यस किसिमको समस्या उत्पन्न हुने गरेको भन्दै विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने बताउनुभयो ।

उहाँले सबै सरकारी सर्भर डाउन भएकाले आजको समस्या आएको जिकिर गर्नुभयो । रासस


प्रतिक्रिया