‘मुलुकको अर्थतन्त्रमा केही गम्भीर समस्या भएकाले सुधार गर्ने अठोट गरेको छु’ : प्रधानमन्त्री दाहाल


सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ९५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्रधानमन्त्रीले मुलुकको अर्थतन्त्रमा केही गम्भीर समस्या भएको भन्दै यस्तो बताएका हुन् ।
शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् । उनले भने, ‘निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधार देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ । उनले प्रतिनिधिसभामा आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त भएको भन्दै यो ठूलो जिम्मेवारी र चुनौती भएको बताए । ‘विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्न सकिँदैन । आम जनसमुदाय र छिमेकीको सहयोगबाट मात्र हामीले त्यो चुनौती छिचोल्न सक्छौँ । नेपालको विकासमा भारत र चीन सरकारबाट महत्वपूर्ण सहयोग रहनेछ’ ।
शिक्षा क्षेत्रमा ठीक ढङ्गले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उनले समतामूलक समाज निर्माणको आधार नै शिक्षा भएको उल्लेख गरे ।