पोखराबाट अन्तर्राष्ट्रिय उडान कहिले भने प्रश्नमा मन्त्री किरातीको जवाफ: ‘पात्रो हेरेर भन्न सक्दिनँ’


काठमाडौंं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले योजना बमोजिम चाँडै नै पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् । बिहीबार विमानस्थलको निरीक्षणपछि पत्रकार सम्मेलनमा पोखराबाट अन्तर्राष्ट्रिय उडान हुनेबारे पत्रकारले सोधेको प्रश्नमा मन्त्री किरातीले आफू मन्त्रालयको जिम्मेवारी सम्हालेको ३१ दिनमात्रै भएकाले सम्बन्धित निकायसँग ‘बुझिरहेको’ भन्दै यस्तो बताएक हुन् ।
उनले भने, ‘सुरु हुन्छ भन्ने त म पात्रो हेरेर भन्न सक्दिनँ । किनकी हामी नेपालमा छौं । तर, पनि हाम्रोतर्फबाट अत्याधिक कोशिस भइरहेको छ । यथा चाँडो गर्नुपर्छ भन्ने हाम्रो चाहना छ । चीन र भारतका महामहिम राजदूतसँग कुरा भइसकेको छ । पोखराको शहरलाई चीनको धेरै युवाहरुले पनि मन पराउने भएकाले त्यहाँका धेरै सहरसँग सिधै जोड्न कुरा भइराखेका छ’
योजना बमोजिम चाँडै नै अन्तर्राष्ट्रिय उडान हुनुपर्ने पक्षमा आफू रहेको मन्त्री किरातीको भनाई थियोे । मन्त्री किरातीले निरीक्षणका क्रममा विमानस्थलमा सार्वजनिक यातायातको सुविधा सहज नहुँदा महंगो भाडा तिरेर ७, ८ किलोमिटरसम्म ट्याक्सीमै यात्रा गर्नु परेको भेटेको सुनाए । उक्त समस्या तत्काल समाधान गर्न छलफल सुरु गर्ने उनले बताए ।
विमानस्थलमा अझै पनि चराको समस्या रहेकाले उक्त समस्या समाधानकै क्रममा रहेको मन्त्री किरातीले जानकारी दिए । उनले नयाँ विमानस्थल सञ्चालनमा आएपछि पुरानो विमानस्थल के गर्ने भन्नेबारे सम्बन्धित निकायसँग छलफल गरेर अगाडि बढ्ने सुनाए ।
गत १ जनवरीमा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पनि अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । र कहिलेदेखि सुरु हुन्छ भन्ने पनि टुंगो छैन । कोभिड महामारीले थलिएका पोखरा र आसपासका पर्यटन व्यवसायी अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै अन्तर्राष्ट्रिय यडान सुरु भएर पुनः व्यवसायले गति लिने आशामा थिए । तर, अन्तर्राष्ट्रिय उडानबेगर सञ्चालनमा आएको विमानस्थलबाट लाभ लिन नपाएको गुनासो गर्न थालेका छन् ।