नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिन्छ : सभामुख घिमिरे


काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने बताएका छन् ।
सोमबार काठमाडौँमा नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दृष्टिविहीनता न्यूनीकरणमा नेपालको उपचार विश्वस्तरकै रहेको भन्दै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने बताएका हुन् ।
उनले नेपालमा हुने आँखाको उपचारको ९० प्रतिशत उपचार नेत्रज्योति सङ्घका विभिन्न संस्थामार्फत हुने गरे पनि यो विषयको प्रचारप्रसार र विकास हुन नसकेको धारणा राखे । सभामुख घिमिरेले आँखाका समस्याका साथै दृष्टिविहीनता घटाउन सङ्घको भूमिका प्रभावकारी रहेको बताए ।
नेत्रज्योति सङ्घले २७ आँखा अस्पताल, एक सय ५० भन्दाबढी आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखामार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।