नेपाली महिला टिम भियतनामसँग ५–१ गोलले पराजित

NepalOne २२ चैत २०७९ २१:४४
खेलकुद

काठमाडौं, २२ चैत – पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपाल  भियतनामसँग पराजित भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाल भियतनामसँग ५–१ गोलले पराजित भएको हो ।

पहिलो हाफमा नेपाल ३ गोलले पछाडि परेकोमा दोस्रो हाफमा नेपालले थप २ गोल खायो भने एक गोल फर्कायो । नेपालका लागि सावित्रा भण्डारीले ८० औँ मिनेटमा गोल गरिन् । फिफा वरीयतामा भियतनाम ३३औँ र नेपाल एक सयऔँ स्थानमा रहेको छ । भियतनाम अस्ट्रेलिया–न्युजिल्यान्डमा चार महिनापछि हुने फिफा महिला विश्व कपमा प्रतिस्पर्धा गर्दैछ ।

पहिलो चरणको छनोटमा समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेलेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । नेपाल र भियतनामको दोस्रो खेल आउँदो शनिबार हुँदैछ ।
 


प्रतिक्रिया