एसएसपीबाटै महिला प्रहरीमाथि यौन दुर्व्यवहार: पहिले कारबाही नै भएन, यसपालि के होला ?


काठमाडौँ / कञ्चनपुरको महेन्द्रनगरस्थित प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।
दुर्व्यवहारमा परेकी ती प्रहरीले धनगढीस्थित प्रदेश प्रहरी कार्यालयमा पालविरुद्ध उजुरी दिएपछि प्रहरीकै वरिष्ठ अधिकृतबाट भएको यौन दुर्व्यवहारको घटना बाहिर आएको हो ।
कानून कार्यान्वयन गर्ने प्रमुख निकाय, नेपाल प्रहरीकै वरिष्ठ अधिकृतले आफूमातहतका जुनियर महिला कर्मचारी (प्रहरी सहायक हवल्दार) माथि यौन दुर्व्यवहार गरेको यो घटना बाहिर आउँदै गर्दा पीडितपक्षले कानूनी कारबाही अघि नबढाइएको आरोपसमेत लगाएका छन्।
पीडित महिला प्रहरी हवल्दारका एक आफन्तले कानूनअनुसार कारबाही अघि बढाउनुपर्नेमा त्यसो नगरिएको बताए । पीडितका आफन्तले घटनालाई सामान्य रूपमा लिएर थामथुम पारिन खोजिएको भन्दै कानूनबमोजिम अगाडि बढाउन माग गरेका छन् ।
पालविरुद्ध उजुरी परेपछि प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी)श्यामसिंह चौधरीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता, डीआईजी कुबेर कडायतले उजुरी परेपछि सम्बन्धित प्रहरी अधिकृतलाई प्रशासनमा हाजिर हुने गरी प्रहरी प्रधान कार्यालयमा बोलाएर बुझ्ने काम भइरहेको बताए ।
यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी पाललाई हेडक्वार्टर झिकाइए पनि थप प्रक्रिया भने अघि बढाइएको छैन ।
पाल २०७८ कात्तिक ३० मा एसपीबाट एसएसपीमा बढुवा भएका थिए। पालले भने आफूलाई बदनाम गराउन खोजिएको दाबी गरकेका छन् ।
एसएसपी पाल २०७९ पुस २९ गते गृहमन्त्रीस्तरीय निर्णयअनुसार मधेश प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा जनकपुरबाट महेन्द्रनगरस्थित प्रहरी प्रदेश कार्यालयमा सरुवा भएका थिए । महेन्द्रनगरस्थित सोही कार्यालयमा कार्यरत एक महिला प्रहरी सहायक हवल्दार जेठ १९ गते बिदा स्वीकृत गराएर घर जाने तयारीमा थिइन्। उनले कर्मचारी प्रशासन हेर्ने अधिकृतसँग बिदा स्वीकृत गराइसकेकी थिइन्।
बिदाबारे कार्यालय प्रमुख रहेका पाललाई जानकारी दिइयो । पालले आफ्नो सञ्चार सेटबाटै बिदा जाने हवल्दारलाई आफूलाई भेट्न पठाइदिनू भनेका थिए। त्यहाँ कार्यरत एक प्रहरी अधिकृतका अनुसार त्यसबेला पाल आफ्नो निवासमा थिए।
बिदा स्वीकृत भइसकेकी महिला प्रहरी कार्यालय प्रमुखले नै भेट्नू भनेपछि उनको निवासमा पुगिन्। उनले उजुरीमा उल्लेख गरेअनुसार एसएसपी पालले उनलाई ‘तिमी मलाई मन प¥यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भनेका थिए। उनले त्यहीँ नै त्यसको प्रतिवाद गरेकी थिइन्।
दुर्व्यवहारमा परेकी प्रहरीले घटनाबारे परिवारलाई जानकारी गराएपछि परिवारले पत्रकार सम्मेलन गरेरै घटना सार्वजनिक गर्ने तयारी गरेको थियो। तर प्रहरीबाटै दबाब आएपछि परिवारले पत्रकार सम्मेलन गरेन। घटना भइसकेपछि पालसाबले सामान्य विषयलाई ठूलो बनाउन हुँदैन भन्दै फकाउने प्रयास गरियो ।
एसएसपी पाल पहिलोपटक यस्तो आरोपमा मुछिएका होइनन्। यसअघि उनी सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत रहँदा पनि यौन दुर्व्यवहारको आरोप लागेको थियो।
सहकर्मीबाट आरोप लागेपछि प्रहरी प्रधान कार्यालयले उनको जिम्मेवारी खोसेको थियो। तर, उनीमाथि त्यसबेला पनि कुनै कानूनी कारबाही अगाडि बढाइएन। अहिले पनि कानूनअनुसार कारबाही नगरेर उन्मुक्ति दिन चलखेल भइरहेको आरोप पीडितपक्षको छ ।
पाल महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत रहँदा अर्को एक घटनामा कारबाहीमा परेका थिए। पाल पटक–पटक गम्भीर आरोपमा मुछिँदै र विवादमा पर्दै आए पनि प्रहरी संगठनले नै कानूनी कारबाही नगर्दा उनको अराजकता बढेको र फेरि गम्भीर घटनामा मुछिएको अधिकारीहरु बताउँछन्।