‘आर्थिक र समाजिक परिवर्तनका लागि जागरुक हुनुपर्छ’ – एमाले उपाध्यक्ष ज्ञवाली


सुदूरपश्चिम, २९ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले देशमा आर्थिक, समाजिक र सांस्कृतिक परिवर्तनका लागि जागरुक हुन जरुरी रहेको बताउनुभएको छ ।
सो पार्टीले आज धनगढीमा गरेको जागरणसभामा उहाँले अहिलेसम्म देशमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक परिवर्तन हुन नसकेकोे बताउनुभयो । प्रतिगामी शक्तिले फेरि लोकतन्त्र मास्न चाहिरहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, “नेपाली जनताले प्रगति र उन्नति चाहेका छन्, राजा फर्काउन चाहेका छैनन् ।”
उहाँले भ्रष्टाचार, गरिबी, पछ्यौटेपनलाई अन्त्य गरी न्यायपूर्ण र समतामूलक समाज निर्माणमा पार्टी लागेको बताउनुभयो । सो पार्टीका महासचिव शङ्कर पोखरेलले अहिले देशमा अराजकता र अस्थिरताको समस्या रहेकोले यस्ता तत्वविरुद्ध सचेत र जागरुक हुनुपर्ने बेला आएको बताउनुभयो ।
राजनीतिक अस्थिरताकै कारण देशमा अपेक्षित काम अघि बढ्न नसकेको बताउँदै उहाँले भन्नुभयो, “हरेक जनता राष्ट्रको पक्षमा बोल्न सक्नुपर्छ ।” मुलुक सङ्कटमा परेको बेला देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर सङ्कटको सामना गरेको इतिहास रहेको चर्चा गर्दै उहाँले अहिले देखिएको अस्थिरता र सङ्कटको समाधानका लागि दुई ठूला पार्टीको सरकार बनेको भनाइ राख्नुभयो ।
उहाँले थप्नुभयो, “ठूला पार्टीमाथि साना दलले शासन गर्ने परम्परा अन्त्य गर्नका लागि ठूला दल मिलेर सरकार गठन गरेका हौँ ।” अहिलेको लोकतान्त्रिक व्यवस्थाकै कारण खानेपानी, बिजुली, स्वास्थ्य, शिक्षा, सडक पूर्वाधारलगायत क्षेत्रको विकासमा ठूलो सुधार भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “लोकतन्त्रले केही दिन सकेको छैन भन्ने आरोप गलत छ, पञ्चायतकालभन्दा लोकतन्त्रान्त्रिक व्यवस्थामा समाज बदलिएको छ, यो व्यवस्थाका कमीकजोरी सुधारेर थप उत्कृष्ट बनाउने प्रयास गर्न चाहन्छौँँ ।”
सभामा एमालेका सचिव लेखराज भट्ट, कर्णबहादुर थापा, दामोदर भण्डारी, निरुपाल, नारदमुनी राना थारुलगायतले समसामयिक राजनीतिका विषयमा चर्चा गर्नुभएको थियो ।