पाँच बुँदे साझा संकल्प पत्र जारी गर्दै सकियो ‘च्छोरोल्पा संवाद’


दोलखा । पाँच बुँदे साझा संकल्प पत्र जारी गर्दै ‘जलवायु परिवर्तन सम्बन्धी च्छोरोल्पा संवाद’ शनिबार समापन भएको छ ।बिहीबारदेखि दोलखाको सिङ्गटीमा बागमती प्रदेश सरकारको आयोजनामा सुरु भएको ‘गौंरीशंकरको रक्षा हिमालदेखि तराईसम्मको सुरक्षा विषयक जलवायु परिवर्तन’सम्बन्धी च्छोरोल्पा संवाद शनिबार समापन भएको हो ।
कार्यक्रमको समापन गर्दै गौंरिशङ्कर गाउँपालिका प्रमुख विश्वास कार्कीले पाँच बुँदे साझा संकल्पसहित तीन दिने संवाद कार्यक्रम समापन भएको घोषणा गरे ।
उनले भने,‘पाँच गतेदेखि सुरु भएको यस संवादले साझा संकल्पसहित समापन गरेका छौं । यो एउटा सुरुवात मात्र हो । तर यो संकल्प एउटा इतिहास बन्नुपर्छ । साथै यसको पूर्ण कार्यान्वयन हुन्छ भन्ने कुरामा विश्वस्त छु ।’कार्यक्रममा दोलखाकी सगरमाथा आरोही तथा २०७५ सालकी मिस शेर्पा दाफुटी शेर्पालाई सम्मानसमेत गरियो । समाज सेवा र पर्यटन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।
सम्मान ग्रहण गर्दै उनले जलवायु परिवर्तनले हिमाल चढ्न पहिलेको तुलनामा जोखिमपूर्ण बन्दै गइरहेको बताइन् ।
‘जलवायु परिवर्तनले हाम्रो हिमाल पहिलेको जस्तो छैन् । हिमाल देखिने ठाउँमा चटान देखिन थालका छन् । हिमाल चढ्न धेरै नै जोखिम बढ्दै गएको छ,’ उनले भनिन् । कार्यक्रममा सरोकारवालाहरुले जलवायु परिवर्तन जस्ता जोखिमहरुको न्यूनिकरण गर्न नीतिगत रुपमा नै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।