ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’


गुल्मी । गुल्मीको रूरू क्षेत्र गाउँपालिका–३ स्थित थोर्गामा उत्पादन हुने ‘थोर्गेली गुड’ अहिले एक ‘ब्राण्ड’का रूपमा स्थापित भएको छ । डेढ सय वर्षदेखि उखुखेती हुँदै आएको यस क्षेत्रमा पछिल्लो समय गाउँपालिकाको पहल र विभिन्न संस्थाको सहयोगमा उखु प्रशोधन केन्द्र स्थापना भएपछि ‘थोर्गेली गुड’ ले बजारमा छुट्टै पहिचान बनाउन सफल भएको हो ।
रूरू बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालनमा रहेको गुड प्रशोधन केन्द्रले २०८१ सालको माघ २० गतेदेखि नियमित उत्पादन थालेको थियो । सहकारीका अध्यक्ष भेषराज ज्ञवालीका अनुसार हालसम्म उद्योगले करिब रू २४ लाख ६० हजार बराबरको नौ हजार ७०० किलोभन्दा बढी गुड बेचिसकेको छ ।
त्यस्तै, १० लाख ९५ हजारभन्दा बढीको पाँच हजार ४७२ लिटर खुदो र पाँच हजार दुई सय बराबरको १५ किलो चकलेट बेचिसकेको छ ।
विगतमा परम्परागत प्रविधिबाट गुड बनाउने र त्यसको प्रयोग पनि स्थानीय रुपमै हुने भएकाले थोरै सङ्ख्यामा किसानले सीमित जमिनमा उखुखेती गर्ने गरेका थिए । तर अहिले आधुनिक मेसिनसहितको उद्योग स्थापना भएपछि उखु किसान हौसिएका छन् ।
“खुदो उद्योग स्थापना भएपछि उखु किसानको सङ्ख्या पनि बढ्दै गएको छ । अहिले वडा नं ३ र ४ मा मात्र उखुखेती गर्ने कूल किसान सङ्ख्या करिब ४०० हाराहारी छ भने १०० हाराहारी किसानले सहकारीलाई उखु बिक्री गरिरहेका छन्”, सहकारी अध्यक्ष ज्ञवालीले भने, “रूरू क्षेत्रमा अहिले तीन हजार २०० रोपनी क्षेत्रफल जमिनमा उखुखेती भइरहेको छ । जबकि, २०७४ सालअघिसम्म त्यहाँ करिब आठ सय रोपनी हाराहारीमा मात्रै उखुखेती गरिन्थ्यो ।”
सहकारीका अनुसार गत माघयता ३१ लाख बराबरको उखु खरिद भइसकेको छ । बारीमै प्रतिकिलो १२ मा खरिद गरिएको उखु प्रशोधन गरी अहिले २६० प्रतिकिलो दरमा गुड बिक्री हुँदै आएको छ । उद्योगले स्थानीयलाई रोजगारी पनि दिएको छ । त्यहाँ हाल आठ जना कर्मचारी मासिक तलबमा कार्यरत छन् । अहिले पनि उद्योगसँग ५० देखि ५५ हजार लिटर खुदो मौज्दात छ । स्थानीय रिडी बजारसहित केही स्थानमा बिक्री प्रबन्धक राखिएका छन् ।
गाउँपालिकाको अनुदान सहयोग र हेफर इन्टरनेसनल नेपाललगायतका संस्थाको सहकार्यमा स्थापना गरिएको यो उद्योगमा भारतको गुजरातबाट आधुनिक क्रसर मेसिन, भट्टी र केही सङ्ख्यामा जनशक्तिसमेत ल्याइएको थियो । उद्योगको संरचना निर्माण तथा मेसिन जडानका लागि भारतबाटै मान्छे झिकाइएका थिए ।
उद्योगका व्यवस्थापक प्रकाश थापाका अनुसार दार्सिङबासस्थित जनप्रिय प्रावि विद्यार्थी सङ्ख्या कम भएपछि उनीहरुलाई अर्को विद्यालयमा सारेर त्यसैको भौतिक संरचना प्रयोग गरी उद्योग स्थापना गरियो । अहिले स्थानीय कामदारबाटै उद्योगका काम भइरहेका छन् भने व्यावसायिक उत्पादन पनि निरन्तर छ ।
“क्रसिङ क्षमतामा कुनै समस्या छैन, खुदो पकाउने क्षमता बढेको छ । प्याकेजिङ र बजारको कुनै समस्या छैन”, थापा भन्छन् । उद्योगले चकलेट उत्पादनका लागि पनि ‘फ्रेम’ (खुदोलाई चकलेटको आकार दिने भाँडो) पनि ल्याइसकेको छ । विस्तारै चकलेट उत्पादनलाई पनि बढाउने योजना रहेको थापाले बताए ।
उखु प्रशोधन केन्द्र निर्माण तथा व्यवस्थापनका लागि गाउँपालिकाले चालु आथिक वर्षमा २० लाख अनुदान दिएको छ । त्यस्तै उखु प्रवर्द्धन कार्यक्रमका लागि कृषि ज्ञान केन्द्रबाट तीन लाख अनुदान र हेफर इन्टरनेसनल नेपालले उद्योगका लागि चाहिने मेसिनरी तथा प्राविधिक पाटोमा सहयोग ग¥यो ।
गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार गुड उत्पादनसँगै उखुखेतीलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । उखुको बीउ वितरण, जैविक मल उत्पादन, कीटनाशक व्यवस्थापनलगायत कार्यक्रमलाई अनुदानमा सञ्चालन गर्ने योजनामा गाउँपालिका जुटेको उनको भनाइ छ ।
“उखु नगदेबाली हो, पहिले धेरै जसो जमिन बाँझो र छिटपुट मकैखेती हुन्थ्यो । अहिले उखु उत्पादन हुँदैछ । यो आन्तरिक उत्पादनलाई उद्यमसँग जोड्ने र युवा पलायन रोक्ने पालिकाको प्रयास पनि हो”, अध्यक्ष ज्ञवालीले भने, “गुणस्तरीय उत्पादन भएको कारण उपभोक्ताले मूल्यभन्दा पनि यसको उपयोगिता हेर्छन् । बजारको कुनै समस्या छैन । गुडलाई चकलेट बनाउनेसम्मको योजना छ ।”
मिसावटरहित स्थानीय उत्पादन र अर्गानिक गुण भएको भन्दै ‘थोर्गेली गुड’ को माग बढ्दो छ । अध्यक्ष ज्ञवालीका अनुसार केही उच्चपदस्थ व्यक्तिहरु थोर्गेली गुडका नियमित ग्राहक बनेका छन् ।
“यहाँ उत्पादित गुड राम्रा लागेर नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पछिल्लोपटक १० किलो मगाउनुभयो, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको नातिनीको बिहेमा कसार बनाउनका लागि पनि यही उद्योगको खुदो प्रयोग गरिएको थियो । पूर्वमुख्यसचिव लीलामणि पौडेल, सचिव माहादेव पन्थ लगायतले उहाँको गुड खुदो नियमित प्रयोग गर्नुहुन्छ”, अध्यक्ष ज्ञवालीले भने ।
उखु प्रवर्द्धन कार्यक्रम आगामी आवको बजेटमा पनि राख्ने योजना रहेको उनले बताए । बीउ तथा जैविक मलमा अनुदान दिने, ठूलो परिमाणमा उखु उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्नेजस्ता कार्यक्रम थप परिस्कृत रुपमा ल्याएर यसलाई पालिकाको गौरवको आयोजना बनाउने लक्ष्य पालिकाका रहेको उनको भनाइ छ ।
थोर्गेली गुड खुदो उद्योगले उद्योग विभागबाट आफ्नो छुट्टै ‘ट्रेडमार्क’ र ‘लोगो’ पाएको छ । जसले थोर्गेली गुडलाई विशिष्ट ब्रान्ड बनाउँदै लगेको छ । उत्पादित वस्तु बेच्नका लागि बजारको समस्या छैन । यद्यपि उखुखेती बढाउने र बढीभन्दा बढी गुड खुदो उत्पादन गर्नका लागि स्थानीय प्रयासमात्र पर्याप्त नहुने कृषकको बुझाइ छ । प्रदेश सरकारले विगतमा बीउमा केही अनुदान दिएको भए पनि सङ्घ सरकारको सहयोग भने खासै नपाएको स्थानीयको गुनासो छ ।
“अहिले गाउँमै रोजगारीको सम्भावना देखिएको छ, युवालाई विदेश जानुपर्ने बाध्यता केही हदसम्म घट्ने आशा पलाएको छ”, वडा नं १ का कृषक विष्णु न्यौपानेले भने, “खुदो उद्योग स्थापना भएपछि मैले पनि चार रोपनी जग्गामा उखुखेती थालेको छु, सरकारबाट सहयोग हुने हो भने अझ बढी व्यावसायिक भएर जान सकिन्थ्यो भन्ने लाग्छ ।”