‘अव बैंकहरुले राष्ट्रिय उत्पादन बृद्धि गर्ने क्षेत्रमा लगानी गर्नुपर्छ’ : गभर्नर अधिकारी


काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अव बैंकहरुले राष्ट्रिय उत्पादन बृद्धि गर्ने क्षेत्रमा लगानी गर्न आवश्यक देखिएको बताएका छन् । सोमबार काठमाडौंमा ग्लोबल आइएमई बैंक तथा बैंक अफ काठमाडौबीच मर्जर भई एकिकृत कारोवारको शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अधिकारीले वित्तिय संस्था धेरै हुँदा वित्तिय खर्च धेरै बढेको र अस्वस्थ्य प्रतिष्पर्धा समेत बढेकोले मर्जरमा जोड दिएको धारणा राखेका छन् । त्यस्तै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरको सफलताले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरको लागि प्रोत्साहन गरेको बताए । उनले राज्य र जनताको अपेक्षाका आधारमा व्यवसायको प्राथमिकता निर्धारण गरेको बताए । पर्यटन पूर्वाधार र सूचना प्रविधि लगाएतका क्षेत्रमा लगानी केन्द्रीत रहेको उनको भनाइ छ ।
एकीकृत ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब, कुल पुँजी ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल ऋण ३ खर्ब ७७ अर्ब पुगेको छ । दुवै बैंक एक बराबर एक अनुपातमा मर्ज भएका हुन् ।