`

ऋण लिएको रकम उत्पादनशील क्षेत्रमा खर्चन आग्रह

Nepal One HD १७ असार २०८० १८:१०
अर्थ समाचार

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले ऋण लिएको रकम उत्पादनशील क्षेत्रमा खर्चन आग्रह गर्नुभएको छ । ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयकमाथिको छलफलमा सांसदहरुले अर्थतन्त्रलाई अनुशासन र सन्तुलन राख्दै कम ऋण लिने स्थिति सृजना गर्न पनि माग गर्नुभयो ।

सो विधेयकमाथिको संशोधन प्रस्तावको छलफलमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले रु. दुई अर्ब ४० अर्ब राष्ट्र ऋण उठाउने प्रस्ताव समसामयिक र वस्तुनिष्ठ भएको बताउँदै राष्ट्र ऋण र बेरुजु फरक फरक विषय भएको जनाउनुभयो । नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले बाह्य र आन्तरिक ऋणमा गरिएका प्रस्तावहरु यथार्थपरक नभएको टिप्पणी गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरीले ऋण लिएर पनि सेवा वा वस्तु उत्पादनमा खर्च गर्न सकेको अवस्थामा मात्र ऋण बढाउन सुझाव राख्नुभयो । उहाँले भन्नुभयो, “सेवामा र वस्तुको उत्पादनमा खर्च गर्न सकिएको छैन । ऋण लिएर पूँजीगत खर्च गरिरहनुपर्ने अवस्था छ ।”

एमालेका अमृतलाल राजवंशीले वित्तीय अनुशासनमा बस्न सकेमात्र ऋणको उपयोग सही ढङ्गले हुनसक्ने बताउनुभयो । सांसद शिशिर खनालले भन्नुभयो, “पछिल्लो दश वर्षमा जम्मा ऋणको रकम तीन गुनाले बढेको छ । पूँजीगत खर्चमा भन्दा ऋणको ब्याज तिर्नमा बढी खर्च गरिरहेका छौँ ।”

कांग्रेसका प्रदीप पौडेलले अर्थतन्त्रले सन्तुलन गुमाएको भन्दै सरकारलाई ऋण लिने विषयमा सचेत हुन ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “ऋणका कारण हरेक वर्ष हाम्रो बजेट प्रभावित भएको छ । वित्तीय अनुशासनमा नबस्दा अहिलेको अवस्था आएको हो । अब उत्पादनको क्षेत्रमा ऋणको प्रयोग बढाऔँ ।”

जनता समाजवादी पार्टीका रञ्जुकुमारी झाले ऋणको सदुपयोग गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले ऋणलाई उत्पादनमूलक बनाउन, कृषि र पर्यटनमा कर्जा लगानी गरेर रोजगारी बढाउनुपर्ने बताउनुभयो ।

सांसद बिजुला रायमाझीले ऋणको भार नबढाउन सुझाव दिनुभयो । सांसद सोबिता गौतमले सरकारलाई ऋण घटाउन सुझाव दिनुभयो । उहाँले ऋणलाई उत्पादनशील क्षेत्रमा खर्च गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अब पनि ऋणलाई सकेसम्म कम गरौँ । ऋण लिनैपरे पनि उत्पादनाशील क्षेत्रमा खर्च गरौँ ।”


प्रतिक्रिया