तेस्रो सुपर ओभरमा नेपाललाई पराजित गर्दै नेदरल्यान्ड्सको जित


काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बराबरी खेलेपछि तेस्रो सूपरओभरबाट खेल टुङ्ग्याइएको छ ।
टस जितेर सुरुमा फिल्डिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नेदरल्यान्ड्सलाई ७ विकेटको क्षतिमा १५२ रनमा रोकेको थियो। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । दोस्रो इनिङ्समा नेपालले ८ विकेटको क्षतिमा उति नै रन बनायो र खेल बराबरीमा टुङ्गियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४८ रन बनाए । त्यसपछि सूपरओभर भयो । सूपरओभरमा पहिले ब्याटिङ गर्दै नेपालले १ विकेट गुमाएर १९ रन बनायो । जवाफमा २० रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले १९ रन मात्र बनायो र फेरि बराबरी भयो । अनि फेरि सूपरओभर भयो ।
दोस्रो सूपरओभरमा नेदरल्यान्ड्सले सुरुमा ब्याटिङ गर्दै १ विकेटको क्षतिमा १७ रन बनायो । जवाफी ब्याटिङ गर्दै नेपालले ६ बलमा पुनः १७ रन नै बनायो र फेरि बराबरी भयो ।
अनि तेस्रो सूपरओभर सुरु भयो । तेस्रो सूपरओभरमा नेपालले सुरुमा ब्याटिङ गर्दै १ रन बनाउनुअगावै २ विकेट गुमायो । अर्थात् नेदरल्यान्ड्सले खेल जित्न जम्मा १ रनको लक्ष्य पायो । जवाफी ब्याटिङ गर्दै नेदरल्यान्ड्सले १ बलमै ६ रन बनायो र खेल जित्यो । शृङ्खलाको पहिलो खेलमा आइतबार नेदरल्यान्ड्स स्कटल्यान्डसँग हारेको थियो।