`

हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन सुरु

Nepal One HD ११ असोज २०८० १६:१९
अर्थ समाचार

मकवानपुर– करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिदा उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको थियो । बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरिएपछि उत्पादन सुरु गरिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणले दिँदै आएको विद्युत आपूर्ति करिब आधाघण्टा अवरुद्ध हुँदा उत्पादन कार्यलाई नियमित राख्न कठिनाइ भएको उद्योगको गुनासो छ । उक्त उद्योगमा विद्युत् आपूर्तिको लागि छुट्टै फिडर जडान गरिए पनि आपूर्ति पटक–पटक अवरुद्ध हुँदा उत्पादन कार्यमा निकै समस्या भोग्नु परेकाले प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गर्न पत्राचार भइरहेको पनि महाप्रबन्धक कर्णले बताए ।

नेपाल सरकारको स्वामित्वमा रहेको सो उद्योग करिब चार दशक पुरानो हुँदै जाँदा सबै उपकरण पनि जीर्ण हुँदै गएकाले उत्पादन क्षमतामा कमी आएको छ । साविक क्षमताअनुसार दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि अहिले दैनिक १० हजार बोरा मात्रै सिमेन्ट उत्पादन भएको उद्योग व्यवस्थापनले जनाएको छ ।


प्रतिक्रिया