राष्ट्रिय डुङ्गा दौड प्रतियोगितामा फेवा हर्पन र ताल पारी समूह विजयी

NepalOne १८ जेठ २०८२ २२:३८
खेलकुद

कास्की । पर्यटकीय राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आइतबार सम्पन्न राष्ट्रियस्तरको खुला डुङ्गा दौड प्रतियोगितामा पुरुषतर्फ फेवा हर्पन सहकारी र महिलातर्फ ताल पारी समूह विजयी भएका छन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना तथा फेवा डुङ्गा व्यवसायी सङ्गठनको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली तथा महिलातर्फ ताल पारी समूहको ‘बी’ टोली प्रथम भएका हुन् ।

पुरुषतर्फ बाराही डुङ्गा घाटले द्धितीय र स्विमिङपुल घाटले तृतीय स्थान हासिल गर्न सफल भए भने फिष्टेल घाटले सान्त्वना स्थान हासिल गरे । महिलातर्फ गौरीघाटले द्वितीय, पहारी घाटले तृतीय र जलारी दिदीबहिनी समूहले सान्त्वना स्थान हासिल गरे ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम हुने समूहले समान नगद ४० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार तथा सान्त्वना स्थान हासिल गर्नेले १० हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराको पर्यटन प्रवद्र्धनका लागि फेवातालको संरक्षणमा जोड दिनुपर्ने बताए ।

उनले ताल सरंक्षणका लागि पोखरा महानगरसँगको सहकार्यमा फेवातालको सीमाना (तालघर)मा पिल्लर गाड्न सुरु गरिएको जानकारी दिए ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले फेवाताल पर्यटकीय राजधानी पोखराको प्रमुख गहना र मुख्य पहिचान भएको बताए । डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले फेवातालको महत्व बुझाउन यो प्रतियोगिता आयोजना गरिएको बताए ।

बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ अधिकृत सागर श्रेष्ठले फेवातालबारे यस कार्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा थप प्रचारप्रसार तथा प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया