नेपाल कसैको मातहतमा रहेन र रहँदैन पनिः प्रधानमन्त्री ओली

NepalOne ३० जेठ २०८२ १५:१६
प्रमुख खबर

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने बताएका छन् ।

शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल सानो राष्ट्र भए पनि कसैको दयामायाले मातहतमा नरहेको उल्लेख गर्दै स्वाधीनताका साथ बसेको बताएका हुन् ।

‘दुनियाँमा नेपाल नेभर कोलोनाइज, कसैको मातहतमा रहेन र रहँदैन पनि, विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन, बरु तोपसँग पुर्खाले चक्कु लिएर तोपलाई हराएर देशको स्वाधिनता बचाएका हुन्’, प्रधानमन्त्री ओलीले भने ।

उनले ‘नेपाली बहादुर’ मात्रैको परिचयले नपुग्ने भएकाले नेपाली राम्रो जनशक्ति पनि हो भनेर परिचय थप्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले ‘अब नेपालको परिचय इमान्दार, मेहनती र शालिन व्यक्तिको देश’ भनी परिचित गराउनुपर्ने बताए ।

उनले भने, ‘नेपाल सभ्य देखिनुपर्छ, दक्ष जनशक्ति भएको नेपाल, अब रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ ।’

उनले इतिहासका तथ्यहरुले पहिलेदेदिनै नेपालमा ‘रिसर्चर’ भएको देखिएको उल्लेख गर्दै तुलसी, बरपीपललगायत वनस्पतिको महत्व पुर्खाले नै पत्ता लगाएको बताए । ‘अब हाम्रा विद्यार्थी, सीपयुक्त जनशक्तिले रिसर्च र इनोभेसनमा लाग्नुपर्छ’, उनले भने ।

विश्व–पृथ्वी, जल, नक्षेत्र, ब्रमाण्ड शान्ति भनिरहेको अवस्थामा जल, वायु र आकाशमा अशान्ति नहोस् भनी कामना गरिरहेकाले हामी पनि सोहीअनुसार कर्म गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए।

‘पूर्वजदेखि नै सबै क्षेत्रमा शान्ति हुनुपर्छ भन्दै आएका थिए, यसकारण पनि समृद्ध–नेपाल, सुखी–नेपाली भनिएको हो’, उनले भने ।


प्रतिक्रिया