सशस्त्र प्रहरीद्वारा चार महिनामा रौतहटमा एक करोड बढीका अवैध सामान बरामद

NepalOne १ असार २०८२ १२:४९
प्रमुख खबर

रौतहट । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले पछिल्लो चार महिनामा १ करोड ८२ लाख ९५ हजार ६५० मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । गत फागुन १ गतेदेखि जेठ मसान्तसम्ममा सो रकम बराबरको विभिन्न थरिका अवैध समान बरामद भएको हो ।

नम्बर ११ हेडक्वाटका गणपति सन्तोषकुमार बस्नेतले सशस्त्र प्रहरीले चार महिनामा ६९ लाख ३२ हजार मूल्य बराबरको सवारीसाधन नियन्त्रणमा लिएको जानकारी दिए ।

‘सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीले सक्रियता बढाएसँगै अवैध चोरीपैठारीका सामान बरामद हुने क्रम बढेको छ’, उनले भने ‘एक थान स्कारर्पियो, एक थान अटोरिक्सा, ५४ थान मोटरसाइकल र चार थान साइकल पनि बरामद भएको छ ।’

सोही अवधिमा ८५ लाख ६८ हजार २२४ मूल्य बराबरको अवैध किराना तथा कस्मेटिक सामान, लत्ताकपडा र मोटरपार्टस बरामद भएको नम्बर ११ हेडक्वाट कार्यालयले जनाएको छ । पछिल्लो चार महिनामा स्रोत नखुलेको १० लाख ६१ हजार नेपाली रुपैयाँ पनि बरामद भएको गणपति बस्नेतले जानकारी दिए । उनका अनुसार त्यसैगरी स्रोत नखुलेको छ लाख चार हजार ६४० भारतीय रुपैयाँ, सेमी अटोमेटिक पेस्तोलसमेत बरामद भएको छ ।

मानवबेचबिखनमा पर्न सक्ने आशङ्कामा नाकाबाट १० जना नेपाली महिला उद्धार जनाउँदै बस्नेतले सोही अवधिमा ५३ किलो गाँजा तथा अन्य लागुऔषध पनि बरामद गरिएको बताए । हेडक्वाटर मातहतमा रहेका पाँच वटा युनिटलाई अवैध चोरीपैठारी तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन् ।


प्रतिक्रिया