सामाजिक सञ्जाल मार्फत सामाजिक सद्भाव भड्काउने प्रयास भयो : पृथ्वीसुब्बा गुरुङ


काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल मार्फत सामाजिक सद्भाव भत्काउने प्रयास भइरहेको बताएका छन् ।बिहीबार पोखरामा नेपाल पत्रकार महासंघले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामाजिक सञ्जाललाई नियमन नगर्ने हो भने नेपालको राजनीतिका मात्रै धार्मिक र सामाजिक सद्भाव पनि जोखिममा पर्ने बताए । त्यसकै लागि सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी ऐन ल्याउन लागेको उनले प्रष्ट पारे ।
सामाजिक सञ्जाल नियमन ऐनको पत्रकारहरूले नै विरोध गरेको प्रति गुरुङले आश्चर्य व्यक्त गरे । सो ऐनले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई थप सुरक्षित र व्यवस्थित गर्ने उनको धारणा छ ।
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक सरकारले ल्याएरै छाड्न उनले बताए । सामाजिक सञ्जालका सेवा प्रदायक कम्पनीलाई सरकारको दायरमा आउन आग्रह गरिएको भए पनि नआएका बताउँदै उनले सरकारको दायरामा आउने कम्पनी कारबाहीमा पर्ने चेतावनी दिए । नेपालले कस्तो कानुन बनाउँछ भन्ने कुरामा विदेशी कम्पनीलाई टाउको नदुखाउन उनले आग्रह गरे ।
फरक प्रसङ्गमा अदालतले नै सञ्चारमाध्यममा छापिएका समाचार हटाउन र बाँकी समाचार पनि नछाप भनि आदेश दिने कुरा लोकतन्त्रमा सुखद नभएको बताउँदै अदालतले त्यो आदेशलाई खारेज गरेर सुखद सन्देश दिएको उनको धारणा छ । ‘सबै आफ्नो मर्यादामा बस्नु पर्छ, सबैको आफ्नो सीमा हुन्छ, सबै अराजक बन्दा सकारात्मक सन्देश जाँदैन’, उनले भने ।
गुरुङले पत्रकारले न्यूनतम पारिश्रमिक पाउनु पर्ने र त्यसको लागि सरकारले काम गरिरहेको बताए । त्यसैको लागि सरकारले सञ्चार सम्बन्धी विधेयक ल्याउन लागेको गुरुङले जानकारी दिए । श्रमजीवीको ऐनले नसमेटेका कुरालाई समेत त्यो ऐनमा समेट्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
प्रेस जगतलाई मर्यादित र व्यवस्थित बनाउने कुरामा सरकार प्रतिबद्ध रहेको उनले बताए । यसमा कुनै शङ्का नगर्न उनले आग्रह गरे । ‘हाम्रो प्रेस स्वतन्त्रता खोस्ने कुनै नियत छैन, हामी लोकतन्त्र र प्रेस स्वतन्त्रता प्रति पूर्ण प्रतिबद्ध छौँ’, उनले भने ।