`

रास्वपाका सांसदहरु कालो पोशाक र निलो रिबनमा

Nepal One HD ६ असार २०८२ १२:४०
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरुले शुक्रबारको प्रतिनिधिसभा बैठकमा कालो पोशाक र निलो रिबन लगाएर प्रदर्शन गरेका छन् ।

मानव तस्करीको विरोध स्वरुप कालो पोशाक र निलो रिबन लगाएर संसद् बैठकमा सहभागी हुन संघीय संसद भवन पुगेका उनीहरुले सामूहिक तस्बिर पनि खिचाएका थिए ।

भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै आएका रास्वपा सांसदहरु मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’प्रतिकका रुपमा रहेको जनाएका छन् ।

यसअघि पनि उनीहरुले निलो रिबन लगाएर सदनमा उपस्थित भएपछि नेपाली कांग्रेसले ‘अमर्यादित’ पोसाक भन्दै टिप्पणी गरेको थियो ।

रास्वपाका सांसद मनिष झाले नेपालमा भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी सम्बन्धी संगठित अपराधको विरोध स्वरुप कालो कपडा र निलो रिबन लगाएको बताए ।

उनले भने, ‘प्रतिनिधिसभाको बैठकमा विरोध स्वरुप सबैले कालो कपडा र निलो रिबन लगाएका छौं । निलो रिबन मानव तस्करी विरुद्धको विश्वव्यापी संकेत हो । अहिले नेपालमा भइरहेको भिजिट भिसाको नाममा जुन मानव तस्करी सम्बन्धी संगठित अपराध भइरहेको छ त्यसको विरोध विगत २२ दिनदेखि १५ वटा बैठकमा गरिरहेका छौ र त्यो विरोधको आज पनि निरन्तरता दिएका छौ । हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौं तर उहाँले त्यो कुरा सुन्न चाहनुभएन । बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो । तसर्थ हामीले, आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *