७२ जिल्ला विदेशीलाई लिजमा दिने अमरेशको अभिव्यक्ति संसदीय रेकर्डबाट डिलिट


काठमाडौं। ७२ जिल्ला विदेशीलाई लिजमा दिने प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहको अभिव्यक्ति संसदीय रेकर्डबाट डिलिट भएको छ।
सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको भन्दै बाँकी जिल्ला अर्को देशलाई लिजमा दिनुपर्ने सरकारमाथि व्यङ्ग्य गरेका थिए।
बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा बजेट नजाने जिल्ला नेपालमा किन राख्ने ? प्रश्न गर्दै ७२ जिल्ला चीन, अमेरिका भारतलाई लिजमा दिनुपर्ने सिंहको अभिव्यक्ति थियो।
सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाएका थिए। त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए।
सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरीत रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। त्यसपछि सिंहले सभामुख एमालेको मात्रै भन्दै बजेट नजाने बोल्न पनि नपाउने किन भन्दै आक्रोश व्यक्त गरेका थिए।
उनले एमाले देशप्रति गद्दार तपाईँहरू हो भन्दै आक्रोश व्यक्त गरेका थिए। त्यसपछि सत्तापक्षका सांसद नै नाराबाजीमा उत्रेका थिए।