अहिलेका उपप्रधानमन्त्रीलाई फेरि संसद्मा नआउन कांग्रेस सांसदको प्रार्थना


काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटका विषयमा प्रतिपक्षी दलसँगै सत्तारुढ दलका सांसदहरूले पनि आपत्ति जनाइरहेका छन्। बजेटजति मन्त्रीका क्षेत्रमा मात्रै लगिएको आरोपसहित सांसदहरूले मन्त्रीमाथि टिप्पणी गरिरहेका हुन्।
आज आइतबार सत्तारुढ कांग्रेस सांसद पूर्णबहादुर तामाङले उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेल आगामी निर्वाचनबाट संसद्मा नआउन् भनेर प्रतिनिधिसभाको रोस्ट्रमबाट नै प्रार्थना गरे।
बजेट विनियोजनमा सिंह र पौडेलले मन्त्रालयगत आयोजना वितरण गर्दा आ-आफ्ना निर्वाचन क्षेत्र र जिल्लालाई मात्रै केन्द्रित गरेको उनको आरोप छ। सिंहले काठमाडौं र पौडेलले रुपन्देहीमा मात्रै बजेट केन्द्रित गरको तामाङको भनाइ थियो। ‘२०८४ को चुनावमा यी दुईवटै उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा बुद्ध भगवान र पशुपितिनाथसँग प्रार्थना गर्छु,’ उनले भने।
आजै कांग्रेसकै नेता अर्जुननरसिंह केसीले पनि सरकारको बजेटमाथि आलोचना गरेका थिए। त्यस्तै शुक्रबार कांग्रेसका अर्का सांसद दीपक गिरीले त सरकारमा रहेका सबै मन्त्रीमाथि आक्रोश पोखेका थिए।