धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन


सुदूरपश्चिम, ८ असारः सुदूरपश्चिम प्रदेश सरकारले महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबुलकार निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रहरु खप्तड, बडिमालिका, मालिकार्जुन शिखर, सिगसधाम, रमारोशनलगायत क्षेत्रमा केबुलकार निर्माणका लागि आगामी वर्षमा सम्भाव्यता अध्ययन गर्न लागिए
को हो । यसका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको हो ।
आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा नेपाल सरकारको सहयोगमा बाजुराको बडिमालिका क्षेत्रमा पर्यापर्यटन निर्माणका लागि रु सात करोड २५ लाख विनियोजन गरिएको छ । ‘पर्यटन पूर्वाधार, विकासको आधार’ भन्ने मूल नाराका साथ प्रदेशभरिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र सिमसार तालतलैयाको संरक्षण प्रवद्र्धनका लागि ‘बाँकावीर पर्यटन प्रवर्द्धन’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
यसैगरी, कैलालीको चुरे पहाडको टाकुरा राजकाँडादेखि मैदानी फाँटको डुडेझारी क्षेत्रसम्ममा ‘प्याराग्लाइडिङ’ सञ्चालनका लागि बजेट विनियोजन गरिएको छ ।
पर्यटकीय एवं ऐतिहासिक क्षेत्र राजकाँडादेखि डुडेझारी नजिकैको चिसापानी बजारसम्मको दूरीमा झन्डै रु चार अर्ब ४१ करोडको लागत अनुमानमा केबुलकार (जालपादेवी केबुलकार) निर्माणको काम गत पुसदेखि नै सुरु भइसकेको छ ।
केबुलकार सञ्चालनमा आएपछि चिसापानी क्षेत्र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लागि मुख्य पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा देखिने सम्भावना छ । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र विविधतापूर्ण संस्कृतिले भरिपूर्ण सुदूरपश्चिम प्रदेशमा पर्यटन उद्योगका प्रशस्त सम्भावना रहे पनि आवश्यक पूर्वाधार निर्माण अझै हुन सकिरहेको छैन ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कैलालीकै बर्दगोरिया क्षेत्रमा पर्यटकीय पूर्वाधार र कञ्चनपुरको ब्रह्मदेवमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणका साथै पर्यटक भित्रिने प्रदेशका विभिन्न नाकामा पर्यटन सहायता केन्द्र स्थापनाका लागि पनि बजेट विनियोजन गरेको छ ।
खेलकुदको विकासतर्फ प्रत्येक जिल्लामा एक–एक क्रिकेट खेलमैदान निर्माण गर्ने सरकारको नीति छ । क्रिकेट खेलको सम्भावना र अवसरलाई मध्यनजर गरी ‘एक जिल्ला, एक क्रिकेट खेलमैदान कार्यक्रम’ अन्तर्गत क्रिकेट खेलमैदान निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।
कैलालीमा निर्माणाधीन टीकापुर स्पोट्र्स एकेडेमीका लागि बजेट विनियोजन गरिएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट भई पदक प्राप्त गर्ने सुदूरपश्चिम प्रदेशका खेलाडीलाई विशेष सम्मानसहित प्रोत्साहन गर्ने नीति सरकारको छ ।