`

मुग्लिन– पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै

दमौली (तनहुँ), ७ मङ्सिर : मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो ।

मुग्लिन– पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो । हालसम्म दुई दशमलव चार किलोमिटर कालोपत्र सकिएको छ । पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर कालोपत्र भएको छ । त्यसमध्ये २९ किलोमिटर खण्डमा चार लेन र पाँच किलोमिटर खण्डमा दुई लेन कालोपत्र भएको छ ।

पूर्वी खण्डअन्तर्गत दमौलीको बुल्दीपुलदेखि घाँसीकुवा क्षेत्रमा पनि केही  दिनमा कालोपत्र गरिने इञ्जिनियर पाण्डेले बताउनुभयो । दमौली बजारमा सडक विस्तार निर्माण  भइरहेको छ । 

यो सडकको पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । यसमा १४ वटा साना पुल निर्माण भएका छन् । यो खण्ड रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारको लागतमा निर्माण हुँदैछ ।

‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ नारासहित हलेसीमा महिला फुटबल प्रतियोगिता

खोटाङ, ७ मङ्सिर : हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा १७ टोली सहभागी हुने भएका छन् । लैङ्गिक हिङ्साविरुद्धको १६ दिने अभियानको अवसर पारेर नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगितामा सहभागी हुन विभिन्न जिल्लाका १७ टोलीले नाम दर्ता गरेका हुन् ।

‘मेरो गोल, लैङ्गिक हिंसाविरुद्धको बोल’ भन्ने नारासहित नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशि रु एक लाख १० हजार एक सय ११ छ । जिल्लामा यसअघि आयोजना गरिएको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशिभन्दा हलेसीमा आयोजना गरिएको प्रतियोगिताको पुरस्कार राशि सर्वाधिक हो ।

प्रतियोगिताका लागि जिल्लाका विभिन्न स्थानीयमा दर्ता भएका स्पोर्टस् क्लबका साथै छिमेकी जिल्ला ओखलढुङ्गा र भोजपुरका विभिन्न क्लबमा आबद्ध खेलाडीले नाम दर्ता गराएको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयो । नगरपालिकाले पहिलोपटक आयोजना गरेको महिला फुटबल प्रतियोगिताको खेलतालिका आज सार्वजनिक गर्ने तयारी गरिएको छ ।

मङ्सिर ८ गते शनिबारदेखि औपचारिक रूपमा सुुरु हुने फुटबल प्रतियोगिता त्रिधार्मिकस्थल हलेसीस्थित बसाहाथान खेलमैदानमा सञ्चालन गर्ने तयारी गरिएको छ । यही मङ्सिर १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रु एक लाख १० हजार एक सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले रु ५५ हजार पाँच सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।

सेमिफाइनलिस्ट दुई समूहलाई जनही नगद रु २२ हजार दुई सय २२ सहित प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ । यस्तै, विद्यागततर्फ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक हजार पाँच सय ५५ तथा विद्यागततर्फकै अन्य खेलाडीलाई जनही रु एक हजार एक सय ११ का दरले नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।

अभियानका अवसरमा नगरपालिकाले महिला फुटबलसँगै महिला जनप्रतिनिधिका लागि म्युजिकल चियर प्रतियोगिता पनि आयोजना गरेको जनाइएको छ । दुवै प्रतियोगिता समापनका अवसरमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सहभागितामा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

विद्युत् महसुल नतिर्ने छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै

बैतडी, ७ मङ्सिर : विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो ।

जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट रु ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुुसार विद्युत महसुलबापतको रु ८० लाख ९९ हजार तीन सय ६२ बक्यौता उठाउन बाँकी छ । मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका पाँच सय ७९ ग्राहकबाट उक्त रकम असुल गर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताउनुभयो ।

चौरासी वटा सरकारी कार्यालयबाट रु १७ लाख १९ हजार दुई सय ३५ बक्यौता उठाउन बाँकी छ । तीमध्ये ५९ वटा सदरमुकामका कार्यालय र २५ वटा पाटन क्षेत्रका कार्यालय छन् । यस्तै अन्य चार सय ९५ ग्राहकबाट रु ६३ लाख ८० हजार एक सय २६ बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख पौडेलले बताउनुभयो ।

समयमा महसुल नबुझाउने ग्राहकको लाइन काट्ने कार्य सुरु भइसकेको छ । प्राधिकरणले मिटिर रिडिङ भएको ६० दिनभित्र महसुल नबुझाउने ग्राहकको लाइने काट्ने नीति लिएको छ । सोही नीतिअनुसार समयमा महसुल नबुझाउने ग्राहकको यो वर्ष पनि लाइन काट्ने कार्य सुरु भएको वितरण केन्द्रका प्रमुख पौडेलले बताउनुभयो ।

बैतडीमा गत आर्थिक वर्षमा समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर रु ६४ लाख बक्यौता रकम असुल गरिएको थियो । लाइन काटेपछि महसुल तिर्नेहरूको प्राधिकरणले पुनः लाइन जोड्ने गरेको छ ।

यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो

काठमाडौँ, ७ मङ्सिर : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाईभाट, मलेसियन रिङ्गेट, कुवेती दिनार, बहराइन दिनारको मूल्य बढेको छ । युरो र डेनिस क्रोनरको भने मूल्य घटेको छ ।

शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । यस्तै, युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर एक सय ७१ रुपैयाँ ३८ पैसा कायम भएको छ । केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७१ पैसा तथा बिक्रीदर एक सय ५३ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ, बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा निर्धारण भएको जनाएको छ ।

आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६३ पैसा तथा बिक्री दर ९७ रुपैयाँ ०७ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ४४ पैसा तथा बिक्रीदर एक सय रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, बढेको चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ तथा बिक्रीदर ३७ रुपैयाँ १७ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै थाईभाट एकको खरिददर तीन रुपैयाँ ८९ पैसा तथा बिक्रीदर तीन रुपैयाँ ९१ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ २१ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ३५ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १२ रुपैयाँ ३० पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा तथा बिक्रीदर १९ रुपैयाँ ०४ पैसा र हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ४१ पैसा तय गरेको छ ।

यस्तै कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ६७ पैसा तथा बिक्रीदर चार सय ४० रुपैयाँ ६२ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ९० पैसा तथा बिक्रीदर तीन सय ५९ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने

काठमाडौँ, ७ मङ्सिर : नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ ।

विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको छ ।

हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएको छ । ओमानी रियालको खरिद बिक्री सुरु भएपछि वैदेशिक रोजगारीका लागि ओमान पुगेको नेपाली नागरिकका लागि थप सहज हुने बताइएको छ ।

‘दुई वर्षको काम ६ महिनाभित्र गर्छु’ – अध्यक्ष दिनेश डिसी

काठमाडौँ, ६ मङ्सिर : चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले दुई वर्षको काम आफूले ६ महिनाभित्रमा गर्ने बताउनुभएको छ ।

यसवर्षको बाँकी रहेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ आउँदो साताभित्र गर्ने तयारीमा रहेको जानकारी दिँदै अध्यक्ष डिसीले आफूलाई कुनै पनि बहाना बनाएर अलमल गर्ने र काम नगर्ने छुट नरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “बोर्डमा अध्यक्ष बन्नुभन्दा अगाडि मैले पनि स्वायतता चाहिन्छ भनेर धेरै पटक बोलेको छु । तर यहाँ काम गर्न कुनै रोकावट रहेनछ, स्वायतता छ । त्यसकारण मैले मेरो समूहसँग मिलेर यहाँ भएका सेवालाई चुस्तदुरुस्त बनाउने र आवश्यक सेवा थप्ने गरी काम गरिरहेको छु । मैले गरेका काम आगामी वर्षको वैशाख १ गतेसम्ममा देखिने छ, चलचित्रकर्मीले महसुस गर्ने गरी काम गरेर परिणाम देखाउने छु ।”

अध्यक्ष डिसीले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्मा पेस गर्न, चलचित्र क्षेत्रको इतिहासलाई सङ्ग्रहित गर्न, पटकथालाई सङ्ग्रहित गर्न, आउँदो वर्ष २०८२ वैशाख १ गतेदेखि बक्सअफिसमा ‘रियल टाइम डाटा’ निर्मातालाई उपलब्ध गराउनेलगायतका काम गर्न आफ्नो समूहले अहोरात्र काम गरिरहेको बताउनुभयो ।

“चलचित्रकर्मीलाई अपनत्व महसुस गराउन बोर्डको सभाहललाई एकपटकको कार्यक्रम गर्न निःशुल्क उपलब्ध गराउनुका साथै केही चलचित्रकर्मीको हकमा निधन भएपछि अन्तिम संस्कार गर्न कठिनाइ देखिएका कारण अब त्यसको समन्वय बोर्डले गर्नेछ । यसैगरी बोर्डसहित बाँकी रहेका सम्पूर्ण चलचित्र भवनलाई अपाङ्तामैत्री (ह्वीलचेयर पुग्ने) बनाउँछौँ”, अध्यक्ष डिसीले भन्नुभयो ।

कृषि क्षेत्रमा बाधक बनेका कानुन संशोधन गर्नुपर्नेमा कांग्रेसको जोड

काठमाडौँ, ६ मङ्सिरः नेपाली कांग्रेसले कृषि क्षेत्रको विकासमा बाधक बनेका कानुन संशोधनका लागि मन्त्रालयलाई गृहकार्य गर्न आग्रह गरेको छ ।

पार्टीका महामन्त्री गगनकुमार थापा नेतृत्वको समूहले आज कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग भेटगरी कृषि क्षेत्रका समसामयिक विषयमा ध्यानाकर्षण गराउने क्रममा कृषिसँग सम्बन्धित विभिन्न कानुनमा संशोधन गर्न आफू विगतमा कृषि समितिको सभापति हुँदादेखि नै लागिपरेकाले त्यसलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभयोे ।

सभापति हुँदादेखि कृषिसँग सम्बन्धित कानुन संशोधनमा लागिपरे पनि पूरा नभएकाले त्यसमा अग्रसरता लिन उहाँले मन्त्री अधिकारीलाई आग्रह गर्नूभयो । दुई ठूला दल मिलेर सरकार सञ्चालन गरिरहँदा यसको अनुभूति नागरिकले पाउने गरी काम गर्नुपर्नेमा महामन्त्री थापाले जोड दिनुभएको थियो ।

कृषिमा दिएको अनुदानको दुरुपयोग गर्नेहरुको नाम सार्वजनिक गर्न मन्त्री अधिकारीले  लिनुभएको प्रयास सकारात्मक छ भन्नुहुँदै उहाँले अनुदानको स्वरुपमा पनि परिवर्तनको  आवश्यकता औँल्याउनुभयो ।  

सो अवसरमा मन्त्री अधिकारीले आफ्नो कार्यकालमा मलको दीर्घकालीन समाधान होस्  भन्ने  चाहना रहेको र यसका लागि थुप्रै प्रयत्न गरेको जानकारी दिँदै सार्वजनिक खरिद ऐनमा संशोधनको आवश्यकतामा जोड दिनुभयो ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा महामन्त्री थापाले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि मन्त्री अधिकारीले गर्नुभएका निर्णयलाई पार्टीले सकारात्मक रुपले हेरेको उल्लेख गर्दै यसबीचमा कृषकका पक्षमा निर्णय भएकाले यस्ता कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

दुई ठूला दल कांग्रेस र एमालेको सरकारले अप्ठ्यारा र बाधक कानुनको संशोधन गर्न चाहेको बताउदै महामन्त्री थापाले हालै बनेको दुई दलीय संयन्त्रले यस्ता कानुनको एकैपटक संशोधनका लागि गृहकार्य गरिरहेको जानकारी दिनुभयो । संसद्को आगामी अधिवेशनमा समस्या बनाइरहेका सबै विधेयकको टुङ्गो लगाई बाधक रहेका कानुनको संशोधन गर्नेगरी दुई दलीय संयन्त्रले काम गरिरहेको महामन्त्री थापाले जानकारी दिनुभयो ।

रकम भुक्तानी नहुँदा पहिरो पीडितको घर निर्माण अलपत्र

किमाथाङ्का (सङ्खुवासभा) ६ मङ्सिरः सङ्खुवासभाको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा ५५ परिवारको घर निर्माण अलपत्र परेको छ ।

सङ्घीय सरकारबाट दोस्रो किस्ता रकम भुक्तानी नुहँदा सिलिचोङ गाउँपालिका–१ बेसिन्दा पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माण अलपत्र परेको हो । गत २०७७ असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ बेसिन्दाका ९७ घर परिवार विस्थापित भएका थिए । पहिरोबाट विस्थापित बेसिन्दाका ५५ परिवारको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा घर निर्माण थालिएको करिब एक वर्षअघिदेखि घर निर्माण रोकिएको हो ।

सङ्घीय सरकारबाट दोस्रो किस्ता रकम नआउँदा भुक्तानी गर्न नसकिएको सङ्खुवासभाका साहयक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताउनुभयो । पहिरो पीडितको घर निर्माणका लागि सङ्घीय सरकारले ६० प्रतिशत अनुदान निर्णय भए हालसम्म दोस्रो किस्तावापतको रकम जिल्ला प्रशासनको खातामा नआएको साहयक प्रजिअ घिमिरेले बताउनुभयो ।

पहिरो पीडितका लागि सङ्घीय सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो । पहिरो पीडितले घर निर्माणको पहिलो किस्ताको ५० हजार मात्र पाएका छन् । पहिरो पीडित ५५ घरमध्ये २५ घरको ५० प्रतिशत बढी काम सकिएको छ । अन्य घरको २५ प्रतिशत मात्र काम सकिएको छ ।

पहिरो पीडितको समयमा घर निर्माण हुन नसक्दा अझै टेण्टमै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । समयमा घर निर्माण हुन नसक्दा सिलिचोङ–१ बेसिन्दाका पहिरोबाट विस्थापित ५५ परिवारको चार वर्षसम्म पुनःस्थापना हुन सकेको छैन । पहिरोबाट विस्थापित भएको झण्डै साढे दुई वर्षपछि बेसिन्दा गाउँका पहिरो पीडितको घर निर्माण थालिएको हो । घर निर्माण अलपत्र भएपछि अस्थायी टहरामा बस्दै परिवार पहिरो पीडित पीडामा परेका हछन् ।

पहिरो पीडितको आवास निर्माणलका लागि रु ५ लाख ५० तोकिएको थियो । आवास निर्माणको रु पाँच लाख ५० रकम प्राविधिकको मूल्याङ्कनअनुसार तीन किस्तामा भुक्तानी गरिने सम्झौता भए हालसम्म रु ५० हजार मात्र भुक्तानी पाएका छन् । भैरे डाडाँमा ५५ परिवारको लागि ६९ रोपनी जग्गा रु एक करोड ३० लाखमा खरिद गरिएको थियो । सिलिचोङ–१ बेसिन्दाका नौ घर वटा विसं २०७७ असार २८ गते राति आएको पहिराले बगाउँदा ११ जना बेपत्ता भएका थिए ।

हवाईभाडा अनुगमन कार्यदल गठन, ११ कम्पनीले बुझाए विवरण

काठमाडौँ, ६ मङ्सिरः अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।


कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य रहनुभएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार यथाशीघ्र प्रतिवेदन बुझाउनेगरी गठित कार्यदलले यात्रुले खरिद गरेको हवाई टिकट र एयरलाइन्सले बिक्री गरिरहेको टिकट र कालोबजारी अध्ययन तथा अनुगमन गरी सुझाव दिनेछ । उक्त सुझावका आधारमा मन्त्रालयले आवश्यक निर्णय लिने उहाँले उल्लेख गर्नुभयो ।

हवाईभाडा वृद्धिबारे गुनासो बढेपछि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको थियो । सो निर्देशन बमोजिम आज अन्तर्राष्ट्रिय उडान गर्ने ११ हवाई कम्पनीले बिक्री गरेका टिकटको मूल्य, टिकटको उपलब्धता र यात्रुको विवरण बुझाएको मन्त्रालयले जनाएको छ ।

राष्ट्र सेवकको तलब समायोजनसम्बन्धी पुनरावलोकनका अनुमति

काठमाडौँ, ६ मङ्सिरः सर्वोच्च अदालतमा राष्ट्र सेवकको तलब समायोजनसम्बन्धी पुन सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले आज उक्त विषयमा पुनरावलोकनको अनुमति प्रदान गरेपछि कर्मचारी समायोजनको विषयमा पुनः सुनुवाइ हुने भएको हो ।

सहन्यायाधिवक्ता गोविन्द खनालसमेत उक्त विषयमा पुनरावलोकनको अनुमतिको माग गर्नुभएको थियो । इजलासले उक्त विषयमा सुनुवाइपछि पुनरावलोकन अनुमति दिएको हो ।

“यसमा राष्ट्र सेवकको तलब समायोजन गर्दा त्यस्ता राष्ट्र सेवकहरूको सङ्ख्या के कति हुने ? के कति रकम आवश्यक पर्ने? राजस्वको स्थिति के कति छ? तलब समायोजनको अवस्थामा राज्यलाई के कति थप व्ययभार पर्ने?”, आदेशमा भनिएको छ ।

आदेशमा विषयको विश्लेषण गरी कार्यकारी निकायबाट नीतिगत रुपमा हुनुपर्ने निर्णयसम्बन्धी विषयमा यस अदालतको संयुक्त इजलासबाट गत असार १० गते भएको आदेश ने.का.प. २०६७ नि.नं. ८३९० मा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल देखिंदा न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा (२) को खण्ड (ख) बमोजिम पुनरावलोकनको अनुमति प्रदान गरिएको छ उल्लेख छ ।

नेतन्याहू, ग्यालेन्ट र डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी जारी

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट तथा हमासका सैन्य प्रमुख मोहम्मद डीफविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

आइसिसीको यो कदमले नेतन्याहूको गतिविधिलाई सैद्धान्तिक रूपमा सीमित गरेको छ किनभने अदालतका १२४ राष्ट्रिय सदस्यहरूमध्ये कुनै पनि मुलुकले नेतान्याहुलाई आफ्नो इलाकामा गिरफ्तार गर्न बाध्य हुनेछन् ।

“अदालतले बेन्जामिन नेतन्याहु र योआभ ग्यालेन्ट नाम गरेका दुई व्यक्तिविरुद्ध कम्तीमा ८ अक्टोबर २०२३ देखि २० मे २०२४ सम्म भएका मानवताविरुद्धको अपराध र युद्ध अपराधका लागि पक्राउ पुर्जी जारी गरेको छ,”आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आइसीसीले हमासका सैन्य प्रमुख डिफविरूद्ध पनि पक्राउ पूर्जी जारी गरिएको छ ।इजरायलले अगस्टको सुरुमा जुलाईमा दक्षिणी गाजामा भएको हवाई आक्रमणमा डिफको मृत्यु भएको बताएको थियो ।

साक्षीहरूको सुरक्षा र अनुसन्धानको सञ्चालनको सुरक्षाका लागि पक्राउ पुर्जीलाई ‘गोप्य’ को रूपमा वर्गीकृत गरिएको अदालतले जनाएको छ।

न्यायाधिकरणले भनेको छ, “यद्यपि चेम्बरले पक्राउ पुर्जीमा सम्बोधन गरिएको जस्तै आचरण जारी रहेको देखिएकाले तलको जानकारी सार्वजनिक गर्ने निर्णय गरेको छ।”

“चेम्बरले पीडित र उनीहरूका परिवारको हितमा पीडितलाई पक्राउ पूजीसम्बन्धी व्यवस्थाको बारेमा अवगत गराउनु हो भन्ने ठान्छ।”

आइसिसीका मुख्य अभियोजक करिम खानले गत मे महिनामा गाजामा भएको युद्ध अपराध र मानवताविरुद्धको अपराधमा नेतन्याहू र ग्यालेन्टविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतलाई आग्रह गरेका थिए ।

नेतन्याहूले गत नोभेम्बर ५ मा ग्यालेन्टलाई रक्षामन्त्री पदबाट बर्खास्त गर्नुभएको थियो ।

खानले मोहम्मद डिफलगायत हमासका शीर्ष नेताविरुद्ध युद्ध अपराध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गर्न पनि माग गर्नुभएको छ ।

जुलाई ३१ मा तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हनियाहको मृत्युका कारण बदलिएको परिस्थितिका कारण अभियोजकले हनियाहविरूद्धको पक्राउ पूर्जीको आवेदन अगस्ट २ मा फिर्ता लिएको आईसीसीले यसअघि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायली इतिहासमै सबैभन्दा घातक आक्रमण गरेदेखि नै इजरायलले गाजामा युद्ध लड्दै आएको छ ।

इजरायलमा हमासका लडाकुहरुले गरेको आक्रमणका कारण यो युद्ध सुरु भएको थियो, जुन एक आश्चर्यजनक सीमापार आक्रमण थियो । आक्रमणमा एक हजार २०६ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये अधिकांश सर्वसाधारण रहेका छन् ।

गाजा क्षेत्रमा सक्रिय हमास समूहको प्रभावमा रहेको प्यालेष्टिनी सरकारको स्वास्थ्य मन्त्रालयले इजरायल र प्यालेस्टिनी लडाकूबीच १३ महिनाभन्दा बढी समयदेखि चलेको युद्धमा कम्तीमा ४४ हजार ५६ जनाको मृत्यु भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा गाजा पट्टीमा एक लाख चार हजार २६८ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

पाकिस्तानमा पछिल्लो साम्प्रदायिक झडपमा कम्तीमा ३८ जनाको मृत्यु

पेशावर, पाकिस्तान, ५ मङ्सिर – पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको अधिकारीहरूले बिहीबार बताएका छन् ।
शिया समुदायका दुई अलग–अलग समूहलाई कुर्रम जिल्लामा आतङ्ककारीहरूले निशाना बनाएका प्रहरीले बताएको छ ।

“दुवै घटनामा गरी महिला र बालबालिकासहित कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्,” स्थानीय प्रशासनका वरिष्ठ अधिकारी जावेदउल्लाह महसुदले एएफपीसँग बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रारम्भिक रिपोर्टअनुसार मृतक छ जना महिला, केही बालबालिका र प्रहरी अधिकारी रहेको पुष्टि भएको छ ।

दुवै घटनामा करिब १० जना आक्रमणकारीको संलग्नता रहेको र सडकको दुवैतिरबाट अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।

नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले एएफपीसँग भन्नुभयो, “दुवै समूहमा करिब ४० वटा गाडी थिए जुन प्रहरीको सुरक्षामा यात्रा गरिरहेका थिए।”

महसूदले भन्नुभयो, “महिला र बालबालिकाले स्थानीय घरमा शरण लिएका थिए र हामी अहिले त्यस क्षेत्रमा (आक्रमणकारी) को खोजी गरिरहेका छौं।”

“प्रारम्भिक रिपोर्टमा यस क्षेत्रलाई महिनौंदेखि पिरोलेका साम्प्रदायिक मुद्दा होर पीडितमध्ये अधिकांश शिया समुदायका व्यक्तिहरू रहेका छन्,” उहाँले यसअघि जारी गरेको वक्तव्यमा भन्नुभएको थियो ।

सुन्नी र शिया मुस्लिम जनजातिहरू उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा केही महिनादेखि लगातार लडिरहेका छन्।

पाकिस्तानमा हुने सामुदायिक झडपमा परी बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् ।

गत अक्टोबरमा भएको झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।

रूसले युक्रेनलाई ‘परीक्षण स्थल’ का रूपमा प्रयोग गरेको जेलेन्स्कीको भनाइ

रूसले युक्रेनमा सशस्त्र अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगाउनुभएको छ ।

रूसी नेता भ्लादिमिर पुटिनले युक्रेनलाई हतियार परीक्षण स्थलका रूपमा प्रयोग गरिरहेको आरोप पनि जेलेन्स्कीले लगाउनुभएको छ ।

यदि अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको पुष्टि भयो भने इतिहासमा यस्तो हतियार लडाईँमा प्रयोग भएको पहिलो घटना हुनेछ र यसले युक्रेनमा युद्धको तीव्र वृद्धि हुनेछ ।

“गति, उचाईजस्ता सबैका लागि उत्कृष्ट विशेषता भएको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रसँग रूसले हालै प्रयोग गरेको हतियारको क्षमता मिल्ने भएकाले यसको विज्ञहरूद्वारा अनुसन्धान चलिरहेको छ । यो स्पष्ट छ कि पुटिनले युक्रेनलाई परीक्षण स्थलको रूपमा प्रयोग गरिरहनुभएको छ,” जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा भन्नुभयो ।

अन्तरमहाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्रहरू आणविक हतियारहरू बोक्न बनाइएको हो र यसको न्यूनतम दायरा पाँच हजार ५०० किलोमिटर टाढासम्म मार हान्न सक्ने रहेको छ ।

स्रोत र विज्ञहरूले एएफपीलाई बताएअनुसार युक्रेनमा प्रहार गरिएको क्षेप्यास्त्र आणविक भएको आरोप नलगाइएको ‘स्पष्ट’ छ र यसले रूसले यसलाई मुख्यतया राजनीतिक प्रभावका लागि प्रक्षेपण गरेको सङ्केत गर्छ ।

जेलेन्स्कीले पुटिनले आफ्नो छिमेकीलाई आफ्नो पकडबाट भाग्नबाट रोक्नका लागि जे पनि गरेको आरोप लगाउनुभएको छ ।

“आज, हाम्रो ‘पागल’ छिमेकीले फेरि एक पटक वास्तवमा उहाँ को हुनुहुन्छ र उहाँ कसरी सम्मान, स्वतन्त्रता र सामान्य रूपमा मानव जीवनलाई घृणा गर्नुहुन्छ भन्ने देखाएको छ । यसले उहाँ कति डराउनुभएको छ भन्ने पुष्टि हुन्छ,” जेलेन्स्कीले भन्नुभयो ।

मेलम्चीको पानी सहजरुपमा वितरण गर्न मन्त्री यादवद्वारा निर्देशन

काठमाडौँ, ६ मङ्सिरः खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकावासीका घरमा पुगे नपुगेका विषयमा प्रत्येक दिन स्थलगत अनुगमन तथा निरीक्षण गर्न निर्देशन दिनुभएको छ ।

मेलम्चीको पानी वितरण भइरहेका कतिपय ठाउँका पाइपलाइन धमाधम फुट्न थालेका कारण पानी सहज रुपमा वितरण हुन नसकेको जानकारी आएपछि मन्त्री यादवले पानी नजानुका कारण र उपत्यकावासीका धारामा पानी पुगे नपुगेकाबारे स्थलगत निरीक्षण गर्न आज मातहतका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको हो ।

निर्देशनकै क्रममा मन्त्री यादवले भन्नुभयो, “प्रत्येक वडाहरुमा गएर मेलम्चीको शुद्ध खानेपानी आए नआएका बारे बुझ्नुस्, कहाँ समस्या भइरहेको छ, त्यो विषयमा स्थलगत अनुगमन गरेर समस्याको समाधान गरी पानी वितरण गर्नुहोला ।”

मन्त्री यादवले जहाँ पाइप फुटेको छ त्यहीँ ठाउँमा मर्मत गर्न र सोही स्थानबाट तत्काल पानी सञ्चालनका लागि निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “खानेपानीका विषयमा कहाँ समस्या भइरहेका छन्, सो ठाउँमा तत्काल प्राविधिकसहितको टोली खटाएर पानी सञ्चालन गर्न म निर्देशन दिन्छु ।”

मेलम्ची खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप तत्काल जडान गरी पानी वितरण मन्त्री यादवले निर्देशन दिनुभयो । नागरिकका लागि पानी नभई नहुने तथा अतिआवश्यक पर्ने चिज भएकाले सकभर दैनिक, नभएका खण्डमा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिनुभएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी दिर्नेशक अशोक पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेलम्चीको पानी सकिन्छ भने प्रत्येक दिन वितरण गर्न र नसकिने भए एक दिन बिराएर बितरण गर्न मन्त्रीले निर्देशन दिनुभएको छ, अब कसरी सहज हुन्छ सोही हिसाबले हामी पानी वितरण गर्छौं ।”

विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुर, ६ मड्सिर : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा नेपाल र भारतका विभिन्न जिल्लाबाट जनकपुरधाम आउने भक्तजनलाई कुनै कमी हुन नदिने बताउनुभयो । उहाँले विगतमा भएका कमी कमजोरीलाई ध्यानमा राखी यस वर्ष मनाउने विवाह पञ्चमीको तयारीमा लाग्न तथा महोत्सव व्यवस्थापनमा ध्यान दिन प्रदेशका सम्बन्धित मन्त्रालयलाई समन्वयात्मक र तीव्रताका साथ काम गर्न निर्देशन दिनुभयो ।

मेला भर्न आउनेको वास, शौचालय, खानेपानीलगायत अत्यावश्यक पूर्वाधार तयारी, स्वास्थ्य सेवा व्यवस्थापन तथा सुरक्षा कार्ययोजना कार्यान्वयनलगायत विषयमा गम्भीरतापूर्वक लाग्न जोड दिनुभयो । बैठकमा प्रदेशका सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीलगायतको सहभागिता रहेको थियो । भारतको अयोध्याधामबाट यही मड्सिर १७ गते पाँच सय जन्ती आउने बताइएको छ ।

जनताका कामप्रति जनप्रतिनिधि जिम्मेवार बन्नुपर्छः अध्यक्ष दाहाल

दमौली (तनहुँ), ६ मङ्सिरः नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जनप्रतिनिधिहरु जनताको काममा दिनरात खट्नुपर्ने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यालयमा आज जनप्रतिनिधिसँगको भेटघाट एवं स्वागत कार्यक्रममा दाहालले जनताको सेवाका लागि जनप्रतिनिधिले दिनरात नभनी काम गर्नुपर्ने बताउनुभयो ।

दाहालले भन्नुभयो, “जनतालाई कसरी सेवा दिन सकिन्छ भन्नेतर्फ जनप्रतिनिधि जिम्मेवार बन्नुपर्छ । जनमुखी कामका लागि योजना बनाएर अगाडि बढ्नुपर्छ ।” आँबुखैरेनी गाउँपालिकाले गरेका कामकारबाहीबारे आफू जानकार रहेको भन्दै दाहालले आँबुखैरेनी गाउँपालिकाको सिको अन्य पालिकाले गर्नुपर्नेमा जोड दिनुभयो ।

दाहालले भन्नुभयो, “आँबुखैरेनीमा शुक्र चुमानले गरेजस्तै काम अन्य पालिकाले गर्नुपर्छ भनेर मैले भन्दै आएको छु । उहाँको कामबाट प्रभावित छु ।” उहाँले आँबुखैरेनी अस्पतालमा आवश्यक उपकरणको व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा उक्त अस्पतालको उद्घाटन भएको र केही प्रक्रियाका कारण उपकरणमा ढिलाइ भएको भन्दै उहाँले भन्नुभयो, “प्रक्रिया मिलाएर छिटो उपकरण व्यवस्थापन गर्नेतर्फ मेरो ध्यान जानेछ ।”

त्यसक्रममा गाउँपालिकाका अध्यक्ष चुमानले अस्पतालले सञ्चालन गरेको अस्पताल, हाटबजारलगायत विकास निर्माणका कामबारे अध्यक्ष दाहाललाई जानकारी गराउनुभएको थियो ।

पिठो तथा इन्धनको अभावले गाजामा बेकरीसमेत बन्द हुने अवस्थामा ; राष्ट्रसङ्घ

राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले गाजा पट्टीमा भोकमरीमा परेका प्यालेस्टिनीहरूका लागि जीवन बचाउको रूपमा सेवा गरिरहेका बेकरीहरूसमेत पिठो तथा इन्धनको अभावका कारण बन्द हुने अवस्थामा रहेको चेतावनी दिएको छ ।

ओसिएइचएले आफ्नो दैनिक प्रतिवेदनमा हालको समयमा उत्तरी गाजाका केही भागहरू अनिकालको जोखिममा रहेको समेत जनाएको छ ।

यसका साथै गाजा पट्टीको मध्य र दक्षिणी भागहरूमा, गम्भीर भोकमरीको सामना गर्ने बाध्य परिवारहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको रिपोर्ट गरिरहेको यसले जनाएको छ ।

“विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का सहकर्मीहरूलाई उदृत गर्दै ओसिएएचएले हाल गाजामा मानवीय साझेदारहरूद्वारा समर्थित १९ वटा बेकरीहरू मध्ये सातवटा मात्र सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

पिठोको अभावकै कारण यस हप्ताको सुरुमा अन्य धेरै बेकरीहरू बन्द गर्न बाध्य भएको यसले स्पष्ट पारेको छ ।

घुस लिएको भन्ने अमेरिकी आरोप निराधार भएको अदानी समूहको दाबी

अदानी ग्रुपले अमेरिकी न्याय मन्त्रालय र अमेरिकी सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसनले अदानी ग्रीनका निर्देशकहरूविरुद्ध लगाएको घूसखोरीको आरोपलाई आधारहीन भन्दै खण्डन गरेको छ ।

अदानी समूहका प्रवक्ताले यस मुद्दामा एक आधिकारिक विज्ञप्ति जारी गर्दै सबै कानुनी उपाय अपनाइने बताउनुभएको छ ।

“अमेरिकी न्याय मन्त्रालय र अमेरिकी सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसनले अदानी ग्रीनका निर्देशकविरुद्ध गरेको आरोप निराधार रहेकोले यसको खण्डन गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

उक्त समूहले कानुनी प्रक्रियाको एउटा महत्वपूर्ण पक्षलाई थप प्रकाश पार्दै भनेको छ, “अमेरिकी न्याय मन्त्रालयले नै भनेझैँ ‘मुद्दामा समूहका अधिकारीमाथि घूसखोरीको आरोप लगाइएको छ र प्रतिवादीहरू दोषी प्रमाणित नभएसम्म निर्दोष मानिन्छन् । सबै सम्भावित कानुनी उपाय खोजिनेछ ।

अदानी समूहले आफ्नो सेवाले उच्च गुणस्तरको शासन, अनुपालन र पारदर्शिताप्रतिको समर्पणलाई पुनः पुष्टि गरेको छ ।

“अडानी समूहले सँधै आफ्नो सञ्चालनको सबै क्षेत्राधिकारहरूमा शासन, पारदर्शिता र नियामक अनुपालनको उच्चतम मानकहरू कायम राख्न दृढतापूर्वक प्रतिबद्ध छ । हामी हाम्रा सरोकारवाला, साझेदार र कर्मचारीलाई आश्वस्त गर्दछौं कि हामी कानूनको पालना गर्ने संस्था हौं, सबै कानूनहरूको पूर्ण अनुपालन गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

यी आरोपहरूको बीचमा, अदानी ग्रीन इनर्जीले यसका सहायक कम्पनीहरूले उनीहरूको योजनाबद्ध अमेरिकी डलर–नामित बन्ड प्रस्तावहरू स्थगित गर्ने निर्णय गरेको स्टक एक्सचेन्जहरूलाई पनि सूचित गरेको छ ।

“यी घटनाक्रमलाई ध्यानमा राख्दै हाम्रा सहायक कम्पनीहरूले हाल प्रस्तावित अमेरिकी डलर अङ्कित ऋणपत्र प्रस्तावलाई अगाडि नबढाउने निर्णय गरेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

अमेरिकी अभियोजकहरूले गौतम अदानी र समूहका अन्य सदस्यलाई सौर्य ऊर्जा सम्झौतामा घूस लिएको आरोपमा मुद्दा चलाएका छन् । अमेरिकाको न्यूयोर्कको पूर्वी जिल्ला अदालतमा अदानी समूहका अध्यक्ष गौतम अदानीसहितका प्रमुख भारतीय अधिकारीहरूलाई घूसखोरी र जालसाजी योजनासँग जोडेर मुद्दा दायर गरिएको छ ।

न्यूयोर्कको पूर्वी जिल्लास्थित अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले भनेको छ, “गौतम अदानी, सागर आर अदानी र विनीत एस जैनलाई झूटा र भ्रामक बयानका आधारमा अमेरिकी लगानीकर्ता र विश्वव्यापी वित्तीय संस्थाहरूबाट रकम प्राप्त गर्न अर्बौं डलरको योजनामा उनीहरूको भूमिकाको लागि प्रतिभूति र तार जालसाजी र ठोस प्रतिभूति जालसाजी गर्ने षडयन्त्रको आरोप लगाउँदै संघीय अदालतमा अभियोग दर्ता गरिएको छ ।

अभियोगपत्रमा न्युयोर्क स्टक एक्सचेन्ज (अमेरिकी जारीकर्ता) मा कारोबार भएको एक नवीकरणीय ऊर्जा कम्पनीका पूर्व कार्यकारी रञ्जित गुप्ता र रुपेश अग्रवाल तथा क्यानेडियन संस्थागत लगानीकर्ताका पूर्व कर्मचारी सिरिल क्याबानेस, सौरभ अग्रवाल र दीपक मल्होत्रामाथि विदेशी भ्रष्ट आचरण ऐन उल्लङ्घन गरेको आरोप लगाइएको छ ।

निर्धक्क भएर लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह

लुम्बिनी, ६ मङ्सिरः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी व्यवसायीलाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । उहाँले लुम्बिनी प्रदेशमा उद्योग, व्यापार व्यवसायको वातावरण सरकारले बनाउने प्रतिबद्धता जनाउँदै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

रुपन्देहीको तिलोत्तमामा आजदेखि सुरु भएको दोस्रो व्यापार महोत्सवको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले पछिल्लो समय आर्थिक अवस्था सुधार हुँदा उद्योग, व्यवसायका क्षेत्रमा सकारात्मक प्रभावहरु देखिन थालेको बताउनुभयो । उहाँले तीन तहका सरकारले लगानीमैत्री वातावरण बनाउने नीति अवलम्बन गरेकाले ढुक्क भएर लगानी गर्न उद्योगी, व्यवसायीमा आमन्त्रण गर्नुभएको हो ।

लुम्बिनी प्रदेशको विकास र समृद्धिको निम्ति प्रदेशमा उद्योग, व्यवसायको विकास हुन जरुरी रहेको पनि उहाँले उल्लेख गर्नुभयो । “राज्यले लगानीको वातावरण बनाउँछ । तपाईंहरु निर्धक्क भएर लगानी गर्नुस्”, उहाँले भन्नुभयो, “सरकारले व्यवसायीहरुको संरक्षण र सम्वद्र्धन गर्छ । उद्योग, पर्यटन, कृषि, पूर्वाधार विकास हाम्रा प्राथमिकता हुन् ।”

मुख्यमन्त्री आचार्यले आफूले थालेका कामप्रति दृढ विश्वास नहुँदा समाजमा केही विचलन देखिएको उल्लेख गर्नुभयो । तिलोत्तमा लुम्बिनीको मात्रै नभई देशकै उदाउँदो र नमुना सहरका रुपमा परिचित हुनु गौरवको विषय भएको उहाँको भनाइ छ । महोत्सवमा विभिन्न क्षेत्रका तीन सय प्रदर्शनी कक्ष रहेका छन् ।

‘तेल भिसा’को अग्रीम बुकिङ खुला

मंसिर ७ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘तेल भिसा’को अग्रीम बुकिङ खुला गरिएको छ । शंकर घिमिरेले १२ पछि निर्देशनमा कमव्याक गरेको सिनेमाले देशभरका सिंगलस्क्रिनदेखि मल्टीप्लेक्ससम्म राम्रो पाएको हो । सिनेमाको अग्रीम टिकट बुकिङ पनि राम्रो देखिएको छ ।

देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा २५ शो अनि मोफसलमा २५ शो उपलब्ध गराएको छ । यस्तै, देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आइएनआई सिनेमाजले ९ शो, वान सिनेमाजले ७ शो, एफक्युबले ६ शो, बिग मूभिजले ४ शो, बिएसआर मूभिजले ३ शो, रञ्जना सिनेप्लेक्सले ५ शो, सिके सिनेमाजले ३ शो, सिने डी सेफले ४ शो र कृर्तिपुर सिनेप्लेक्सले १ शो उपलब्ध गराएका छन् ।

सिनेमाले देशभरका सिनेमा घरमा डेढ सय हाराहारीमा शो पाएको देखिन्छ । यो नेपाली सिनेमाका लागि उपलब्ध राम्रो शो हो । यी मात्रै शोमा दर्शकको अकुपेन्सी आक्रामक देखिएपछि १ करोड बढि ओपनिङ हुने गर्छ । त्यसपछि सिनेमाले दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाएको खण्डमा शो बढ्दै जाने हलसञ्चालक र वितरकको भनाई छ । अझै केही हलरुमा अग्रीम टिकट बुकिङ खुल्ने क्रम जारी छ ।

शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा अभिनेता विपिन कार्कीको बृद्ध र जवानगरी दोहोरो भुमिका हेर्न पाइनेछ । सिनेमामा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।

रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

रूसले बिहीबार पहिलो पटक युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको किएभले जनाएको छ । युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै रूसी सेनाले महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरी विभिन्न प्रकारका मिसाइलहरू प्रहार गरेको जनाएको छ । विज्ञप्तिका अनुसार रूसको आस्ट्राखान क्षेत्रबाट अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको थियो ।

युक्रेनी सेनाले क्रेमलिनले आक्रमण सुरु गरेपछि पहिलो पटक आफ्नो सेनाले हतियार तैनाथ गरेको पुष्टि गरेको छ ।

हजारौँ किलोमिटर टाढा सम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र प्रहारको विषयमा सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफूले यस विषयमा केही भन्न नसक्ने बताउनु भएको छ ।

वायु सेनाले पाँच वटा मिसाइल खसालिएको डिनिप्रो सहर क्षेत्रका प्रमुखले रूसी प्रहारले पुनर्वास केन्द्र,घरहरूका साथै औद्योगिक क्षेत्रमा क्षति पुर्याएको जनाएको छ ।

प्रहारमा “दुई जना घाइते भएको तथा उनीहरुलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको युक्रेनी अधिकारी सेर्गी लिसाकले बताउनु भएको छ ।

मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न परिपत्र

काठमाडौँ, ६ मङिसरः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ ।

मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहज रुपमा जानकारी पाउने व्यवस्था गर्न भनेको हो ।

मन्त्रालयले पठाएको पत्रमा शल्यक्रिया शुल्क खुलाउनु पर्ने, सबै खालका शय्याको विवरण, रेडियोलोजी सेवा तथा ल्यावको शुल्क विवरणसमेत खुलाउन भनिएको छ । त्यसैगरी टिकटसहितका अरु सेवाको विवरणसमेत खुलाएर सेवाग्राहीलाई जानकारी गराउन मन्त्रालयले पत्राचार गरेको छ ।

तोकिएभन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबैलाई जानकारी पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भन्नुभएको थियो । मन्त्री पौडेलले चासो लिए पछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले मन्त्रालयले परिपत्रपछि विवरण सार्वजनिक भए नभएको अनुगमन गर्ने तयारी गरेको बताउनुभयो । “पहिलो चरणमा अनुगमन गरिनेछ । बढी लिएको वा शुल्क सार्वजनिक नगरेको पाइए नियमानुसार कारबाही हुनेछ”, उहाँले भन्नुभयो ।

एक हजार एम्पुल लागू औषधसहित २३ वर्षीया युवति पक्राउ

म्याग्दी, ६ मङसिर: म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरबाट एक हजारभन्दा बढी एम्पुल लागू औषधसहित एक जना युवतिलाई प्रहरीले पक्राउ गरेको छ । एक हजार एक सय ९३ एम्पुल लागूऔषध सहित मङ्गला गाउँपालिका–२ की २३ वर्षीया पूर्णा बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । यही मङ्सिर २ गते आइतबार पक्राउ परेकी बिकलाई आज सार्वजनिक गरिएको हो । 

प्रहरी निरीक्षक सागर पौडेलले बिकको साथबाट तीन सय ९८ एम्पुल डाइजापाम, तीन सय ९७ एम्पुल फेनेरागन र तीन सय ९८ बुप्रेनोफिन बरामद गरिएको जानकारी दिनुभयो । विशेष सूचनाको आधारमा बिकको घर खानतलासी गर्ने क्रममा चामलको बोरामा लुकाएर राखेको अवस्थामा लागु औषध भेटिएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । 

बिकविरुद्ध म्याग्दी जिल्ला अदालतमा लागूऔषध शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पूर्णको साथबाट म्याग्दी जिल्लामा हालसम्मकै ठूलो परिमाणमा लागू औषधि बरामद भएको प्रहरीले जनाएको छ । 

कांग्रेसले विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै

काठमाडौँ, ६ मङ्सिरः नेपाली कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने भएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा यही मङ्सिर ७ गते उक्त छलफल कार्यक्रम गर्न लागेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

शुक्रबार विहान ११ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको शङ्कर हलमा हुने कार्यक्रममा पूर्वअर्थमन्त्री, रााष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, निजी क्षेत्रका अर्थतन्त्रसँग जोडिएका सङ्घ संस्थाका पदाधिकारीलगायतसँग छलफल गरिने प्रमुख श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।

प्रथम त्रैमासिकको प्रगति समीक्षाः जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न कडा निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतीकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देश गरेका हुन् ।

प्रधानमन्त्री ओलीले देश विकास गर्ने प्रतिबद्धताका साथ लागेर स्वच्छ र पारदर्शी रुपमा काम गर्न आग्रह गर्दै सुशासन कायम, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्ट निर्देशन दिए ।

‘भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नुस् । बैठकहरुको औचित्य सिद्ध गर्नुस् । अर्को बैठकमा आउँदा यो यो परिवर्तन भयो भन्ने लिएर आउनुस् । सुशासन र विकासमा कुनै कानुनले व्यवधान खडा गरेको छ भने सरकार छिटो बाटोबाट कानुनको संशोधन गर्न पनि तयार छ ‘, उनले भने, ‘हाम्रो सम्पूर्ण प्रयास उत्पादन वृद्धिमा हुनुपर्छ । हाम्रो स्रोत साधन जति छन्, तिनीहरूको वैज्ञानिक ढङ्गले उपयोग गर्नुपर्छ । सूचना र प्रविधिको प्रयोग गरी विकासको गतिलाई तीव्रता दिनुपर्छ ।’

बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल र सचिवहरु, मातहतका कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

बाढीबाट देशभर भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय

काठमाडौँ, ६ मङ्सिरः कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ ।

गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो ।

वास्तविक किसानको नोक्सानीको विवरण सङ्कलन भएपछि उनीहरुलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ ।

सूचना अधिकारी जोशीका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चक जिल्लामा क्षति भएको छ । बाढीबाट रु छ अर्बको क्षति भएको मन्त्रालयको अनुमान छ ।

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ ।

पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न काठमाडौं आएक भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । गत १६ असारमा सेनाध्यक्ष नियुक्त भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । भोलि शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

ताप्लेजुङको आकषर्णको केन्द्र मिरा पिक हिमाल

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लोनाक क्षेत्रमा अवस्थित मिरा पिक हिमाल ।

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा यो हिमाल आकषर्णको केन्द्रको रूपमा रहेको छ । तस्बिरः दिलकुमार लिम्बू

बहदुरमाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले चार महिनादेखि तलबभत्ता पाएनन्

वीरगञ्ज (पर्सा), ६ मङ्सिरः जिल्लाको बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको वैमनस्यताका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलबभत्ता सुविधाबाट वञ्चित भएका छन् ।

चालु आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्चसम्म सबै रोकिएको छ ।

स्थानीय तहले असार १० गतेभित्रै पालिकाको नगरसभाबाट आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि सो नगरपालिकाले सो मितिमा नगरसभा गर्न सकेन ।

नगरपालिकाभित्रको विवादको कारणले ढिलोगरी गत कात्तिक ८ गते नगरसभाबाट पालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो । बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीले नगरसभाबाट बजेट स्वीकृत भएकोे झण्डै एक महिना बित्न लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अधिकार प्रत्यायोजन नगर्दा जनप्रतिनिधि र कर्मचारी चार महिनादेखि तलबभत्ता तथा अन्य सुविधाबाट वञ्चित भएका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ अनुसार नगरसभाबाट बजेट स्वीकृत भएको सात दिनभित्र प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई बजेटको खर्च गर्ने अख्तियारी दिनुपर्ने व्यवस्था छ ।
बहुदरमाई नगरपालिका उपप्रमुख सुष्माकुमारी कुशवाहाले नगरसभाबाट बजेट पारित भएको एक महिना बित्नै लाग्दा पनि नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारनामा नदिँदा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले तलबभत्ता नपाएको बताउनुभयो ।

“मैले पटकपटक, प्रमुखसँग समन्वय गरिसके । तर, उहाँले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा अहिले नगरपालिकाको कर्मचारी तलब बेतनदेखि नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि ठप्प छन् । ”, उहाँले भन्नुभयो, “नगरपालिका तथा सम्पूर्ण वडा कार्यालयमा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक कर्मचारी, स्वास्थ्य निकायका कर्मचारीले २०८१ साउनदेखि तलबभत्ता पाएका छैनन् । विद्यार्थीले छात्रवृत्ति, दैनिक खाजा खर्च,सुत्केरी भत्ता सबै रोकिएको छ । ”

पालिकामा रहेका कर्मचारी, जनप्रतिनिधि सामुदायिक विद्यालयका शिक्षक गरी झण्डै एक सयभन्दा धेरै कर्मचारी तथा जनप्रतिनिधिले साउनदेखि कात्तिकसम्मको कुनै पनि तलबभत्ता, दशैँ खर्चलगायत सुविधा पाएका छैनन् ।

उपप्रमुख कुशवाहाले साउनदेखि नगरभित्रका सम्पूर्ण विकास निर्माण कार्यहरु पनि रोकिएको जानकारी दिनुभयो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख यज्ञराज उप्रेतीले पर्साको बहुदरमाई गाउँपालिकाको खाता अहिलेसम्म पनि सञ्चालनमा नआएको बताउनुभयो । गत कात्तिकमा नगरसभा भए पनि नगरपालिका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा अहिलेसम्म खाता सञ्चालनमा हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो, “चालु आवको साउनदेखि पालिकाको सम्पूर्ण आर्थिक गतिविधि ठप्प छ । आवश्यक समन्वय गरिरहे पनि अहिलेसम्म विवाद समाधान भएको छैन ।”

गत कात्तिक ३० गते नगरपालिकाका उपप्रमुख कुशवाहा, वडा नम्बर १ का वडाध्यक्ष प्रमोदप्रसाद यादव, वडा नम्बर २ का वडाध्यक्ष जीतेन्द्र पटेल, वडा नम्बर ३ का दिनेश यादव, वडा नम्बर ४ का सुरेन्द्रप्रसाद यादव, वडा नम्बर ५ का वडाध्यक्ष सुनिल महत्तो कोइरी र वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्रप्रसाद गुप्ताले जिल्ला प्रशासन कार्यालय पर्सालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।
बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले नगरप्रमुखले नगरसभाबाट पारित भएको बजेटको अख्तियारी नदिँदा कर्मचारी तथा जनप्रतिनिधिले तलबप्राप्त गर्न नसकेको बताउनुभयो । “नगरप्रमुख ज्यूले अख्तियारी नदिँदा पालिकाको खाता अझैसम्म पनि सञ्चालन गर्न सकिरहेका छैनौँ,” उहाँले भन्नुभयो ।

नगरपालिका प्रमुख तेलीले प्रमुख प्रशासकीय अधिकृतको असहयोगका कारण अख्तियारनामा दिन केही ढिलाइ भएको स्वीकार्नुभयो । “गत कात्तिक ८ गते नगरसभाबाट बजेट पारित गरेका छौँ । चाडपर्व र अन्य विविध कारणले अख्तियारी दिन केही समय लागेको हो”, उहाँले भन्नुभयो, “ मङ्सिरभित्रै अख्तियारी दिनेछु ।”

पोष्टबहादुर बोगटी सुरुङमार्ग डिपीआरमा सीमित

बागमती, ६ मङ्सिरः बागमती सरकारले गौरवको आयोजनाका रूपमा पोष्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै रु एक करोड खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) दराजमा थन्किएको छ ।

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भीमफेदी–कुलेखानी खण्डमा पोष्टबहादुर सुरुङमार्ग निर्माण गर्न डिपीआर तयार पारिएको थियो । राजनीतिक अस्थिरताका कारण सुरुङमार्ग योजना अलपत्र छ ।

“आर्थिक वर्ष २०७६÷७७ मा सुरुङमार्गको अध्ययन गर्न र योजना अघि बढाउन बजेट विनियोजन भयो”, बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयका इञ्जिनियर ज्यानेन्द्रप्रसाद पुनले भन्नुभयो, “सो सरकारको निर्णयअनुसार आव २०७७÷७८ मा सुरुङमार्गको अध्ययन भयो र त्यसको कार्यान्वयन गर्न आयोजना कार्यालय पनि स्थापना भयो । तर, ठेक्का लगाउने बेलामा सरकार फेरिएपछि त्यो अलपत्र छ, ” उहाँले भन्नुभयो ।

सरकार फेरिएसँगै सो आयोजना अघि बढाउने वा खारेज गर्ने टुङ्गो नलाग्दा मन्त्रालय नै अन्योलमा परेको उहाँले बताउनुभयो
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्रोतको सुनिश्चितता नगरी आयोजना अघि बढाइएकाले अन्योल भएकोे बताउनुभयो । “अन्य आयोजनाजस्तो सरल होइन सुरुङमार्ग, यो अधिक लगानी लाग्ने आयोजना हो”, उहाँले भन्नुभयो, “पहिला सुरुङमार्ग बनाउन कति खर्च लाग्छ, त्यो बजेट कहाँबाट ल्याउने हो त्यसको सुनिश्चितता गर्नुपर्छ ।”
सङ्घ र प्रदेश सरकारको संयुक्त लगानीमा मात्र सुरुङमार्ग बनाउन सकिने भएकाले त्यसका लागि प्रयास भइरहेको उहाँले बताउनुभयो ।