`

कांग्रेसले विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै

काठमाडौँ, ६ मङ्सिरः नेपाली कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने भएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा यही मङ्सिर ७ गते उक्त छलफल कार्यक्रम गर्न लागेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

शुक्रबार विहान ११ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको शङ्कर हलमा हुने कार्यक्रममा पूर्वअर्थमन्त्री, रााष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, निजी क्षेत्रका अर्थतन्त्रसँग जोडिएका सङ्घ संस्थाका पदाधिकारीलगायतसँग छलफल गरिने प्रमुख श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।

प्रथम त्रैमासिकको प्रगति समीक्षाः जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न कडा निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतीकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देश गरेका हुन् ।

प्रधानमन्त्री ओलीले देश विकास गर्ने प्रतिबद्धताका साथ लागेर स्वच्छ र पारदर्शी रुपमा काम गर्न आग्रह गर्दै सुशासन कायम, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्ट निर्देशन दिए ।

‘भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नुस् । बैठकहरुको औचित्य सिद्ध गर्नुस् । अर्को बैठकमा आउँदा यो यो परिवर्तन भयो भन्ने लिएर आउनुस् । सुशासन र विकासमा कुनै कानुनले व्यवधान खडा गरेको छ भने सरकार छिटो बाटोबाट कानुनको संशोधन गर्न पनि तयार छ ‘, उनले भने, ‘हाम्रो सम्पूर्ण प्रयास उत्पादन वृद्धिमा हुनुपर्छ । हाम्रो स्रोत साधन जति छन्, तिनीहरूको वैज्ञानिक ढङ्गले उपयोग गर्नुपर्छ । सूचना र प्रविधिको प्रयोग गरी विकासको गतिलाई तीव्रता दिनुपर्छ ।’

बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल र सचिवहरु, मातहतका कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

बाढीबाट देशभर भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय

काठमाडौँ, ६ मङ्सिरः कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ ।

गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो ।

वास्तविक किसानको नोक्सानीको विवरण सङ्कलन भएपछि उनीहरुलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ ।

सूचना अधिकारी जोशीका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चक जिल्लामा क्षति भएको छ । बाढीबाट रु छ अर्बको क्षति भएको मन्त्रालयको अनुमान छ ।

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ ।

पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न काठमाडौं आएक भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । गत १६ असारमा सेनाध्यक्ष नियुक्त भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । भोलि शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

ताप्लेजुङको आकषर्णको केन्द्र मिरा पिक हिमाल

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लोनाक क्षेत्रमा अवस्थित मिरा पिक हिमाल ।

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा यो हिमाल आकषर्णको केन्द्रको रूपमा रहेको छ । तस्बिरः दिलकुमार लिम्बू

बहदुरमाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले चार महिनादेखि तलबभत्ता पाएनन्

वीरगञ्ज (पर्सा), ६ मङ्सिरः जिल्लाको बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको वैमनस्यताका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलबभत्ता सुविधाबाट वञ्चित भएका छन् ।

चालु आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्चसम्म सबै रोकिएको छ ।

स्थानीय तहले असार १० गतेभित्रै पालिकाको नगरसभाबाट आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि सो नगरपालिकाले सो मितिमा नगरसभा गर्न सकेन ।

नगरपालिकाभित्रको विवादको कारणले ढिलोगरी गत कात्तिक ८ गते नगरसभाबाट पालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो । बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीले नगरसभाबाट बजेट स्वीकृत भएकोे झण्डै एक महिना बित्न लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अधिकार प्रत्यायोजन नगर्दा जनप्रतिनिधि र कर्मचारी चार महिनादेखि तलबभत्ता तथा अन्य सुविधाबाट वञ्चित भएका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ अनुसार नगरसभाबाट बजेट स्वीकृत भएको सात दिनभित्र प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई बजेटको खर्च गर्ने अख्तियारी दिनुपर्ने व्यवस्था छ ।
बहुदरमाई नगरपालिका उपप्रमुख सुष्माकुमारी कुशवाहाले नगरसभाबाट बजेट पारित भएको एक महिना बित्नै लाग्दा पनि नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारनामा नदिँदा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले तलबभत्ता नपाएको बताउनुभयो ।

“मैले पटकपटक, प्रमुखसँग समन्वय गरिसके । तर, उहाँले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा अहिले नगरपालिकाको कर्मचारी तलब बेतनदेखि नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि ठप्प छन् । ”, उहाँले भन्नुभयो, “नगरपालिका तथा सम्पूर्ण वडा कार्यालयमा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक कर्मचारी, स्वास्थ्य निकायका कर्मचारीले २०८१ साउनदेखि तलबभत्ता पाएका छैनन् । विद्यार्थीले छात्रवृत्ति, दैनिक खाजा खर्च,सुत्केरी भत्ता सबै रोकिएको छ । ”

पालिकामा रहेका कर्मचारी, जनप्रतिनिधि सामुदायिक विद्यालयका शिक्षक गरी झण्डै एक सयभन्दा धेरै कर्मचारी तथा जनप्रतिनिधिले साउनदेखि कात्तिकसम्मको कुनै पनि तलबभत्ता, दशैँ खर्चलगायत सुविधा पाएका छैनन् ।

उपप्रमुख कुशवाहाले साउनदेखि नगरभित्रका सम्पूर्ण विकास निर्माण कार्यहरु पनि रोकिएको जानकारी दिनुभयो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख यज्ञराज उप्रेतीले पर्साको बहुदरमाई गाउँपालिकाको खाता अहिलेसम्म पनि सञ्चालनमा नआएको बताउनुभयो । गत कात्तिकमा नगरसभा भए पनि नगरपालिका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा अहिलेसम्म खाता सञ्चालनमा हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो, “चालु आवको साउनदेखि पालिकाको सम्पूर्ण आर्थिक गतिविधि ठप्प छ । आवश्यक समन्वय गरिरहे पनि अहिलेसम्म विवाद समाधान भएको छैन ।”

गत कात्तिक ३० गते नगरपालिकाका उपप्रमुख कुशवाहा, वडा नम्बर १ का वडाध्यक्ष प्रमोदप्रसाद यादव, वडा नम्बर २ का वडाध्यक्ष जीतेन्द्र पटेल, वडा नम्बर ३ का दिनेश यादव, वडा नम्बर ४ का सुरेन्द्रप्रसाद यादव, वडा नम्बर ५ का वडाध्यक्ष सुनिल महत्तो कोइरी र वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्रप्रसाद गुप्ताले जिल्ला प्रशासन कार्यालय पर्सालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।
बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले नगरप्रमुखले नगरसभाबाट पारित भएको बजेटको अख्तियारी नदिँदा कर्मचारी तथा जनप्रतिनिधिले तलबप्राप्त गर्न नसकेको बताउनुभयो । “नगरप्रमुख ज्यूले अख्तियारी नदिँदा पालिकाको खाता अझैसम्म पनि सञ्चालन गर्न सकिरहेका छैनौँ,” उहाँले भन्नुभयो ।

नगरपालिका प्रमुख तेलीले प्रमुख प्रशासकीय अधिकृतको असहयोगका कारण अख्तियारनामा दिन केही ढिलाइ भएको स्वीकार्नुभयो । “गत कात्तिक ८ गते नगरसभाबाट बजेट पारित गरेका छौँ । चाडपर्व र अन्य विविध कारणले अख्तियारी दिन केही समय लागेको हो”, उहाँले भन्नुभयो, “ मङ्सिरभित्रै अख्तियारी दिनेछु ।”

पोष्टबहादुर बोगटी सुरुङमार्ग डिपीआरमा सीमित

बागमती, ६ मङ्सिरः बागमती सरकारले गौरवको आयोजनाका रूपमा पोष्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै रु एक करोड खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) दराजमा थन्किएको छ ।

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भीमफेदी–कुलेखानी खण्डमा पोष्टबहादुर सुरुङमार्ग निर्माण गर्न डिपीआर तयार पारिएको थियो । राजनीतिक अस्थिरताका कारण सुरुङमार्ग योजना अलपत्र छ ।

“आर्थिक वर्ष २०७६÷७७ मा सुरुङमार्गको अध्ययन गर्न र योजना अघि बढाउन बजेट विनियोजन भयो”, बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयका इञ्जिनियर ज्यानेन्द्रप्रसाद पुनले भन्नुभयो, “सो सरकारको निर्णयअनुसार आव २०७७÷७८ मा सुरुङमार्गको अध्ययन भयो र त्यसको कार्यान्वयन गर्न आयोजना कार्यालय पनि स्थापना भयो । तर, ठेक्का लगाउने बेलामा सरकार फेरिएपछि त्यो अलपत्र छ, ” उहाँले भन्नुभयो ।

सरकार फेरिएसँगै सो आयोजना अघि बढाउने वा खारेज गर्ने टुङ्गो नलाग्दा मन्त्रालय नै अन्योलमा परेको उहाँले बताउनुभयो
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्रोतको सुनिश्चितता नगरी आयोजना अघि बढाइएकाले अन्योल भएकोे बताउनुभयो । “अन्य आयोजनाजस्तो सरल होइन सुरुङमार्ग, यो अधिक लगानी लाग्ने आयोजना हो”, उहाँले भन्नुभयो, “पहिला सुरुङमार्ग बनाउन कति खर्च लाग्छ, त्यो बजेट कहाँबाट ल्याउने हो त्यसको सुनिश्चितता गर्नुपर्छ ।”
सङ्घ र प्रदेश सरकारको संयुक्त लगानीमा मात्र सुरुङमार्ग बनाउन सकिने भएकाले त्यसका लागि प्रयास भइरहेको उहाँले बताउनुभयो ।

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च छ प्रतिशतमा सीमित

वीरगञ्ज (पर्सा), ६ मङ्सिरः सङ्घीय सरकार मातहतका पर्साका सरकारी कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा छ दशमलव ०८ प्रतिशत पुँजीगत खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ६६ सरकारी कार्यालय तथा पालिकाका लागि पुँजीगततर्फ वार्षिक रु दुई अर्ब ५८ करोड २७ लाख ८६ हजार सात सय ५० विनियोजन भएकामा चालु आवको कात्तिक मसान्तसम्ममा रु १५ करोड ६९ लाख ३३ हजार पाँच सय २८ खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले सङ्घीय सरकार मातहतका सरकारी कार्यालयले चालु आवको चार महिनामा पुँजीगत खर्च नगन्य मात्रामा गरेका बताउनुभयो । “चालु आवको कात्तिक मसान्तसम्मको अवधिमा नयाँ बोलपत्र ‘डकुमेन्ट’ बनाउनेदेखि बोलपत्र आह्वानसम्मका काम हुने भएकाले पुँजीगत खर्च बढ्न नसकेको हो”, उहाँले भन्नुभयो, “अब चाडबाड र वर्षायाम पनि सकिएकाले सरकारी कार्यालयको पुँजीगत खर्च बढ्ने अपेक्षा गरेका छौँ ।”

पर्साका सरकारी कार्यालयको वार्षिक चालु खर्चतर्फ रु दश अर्ब ४६ करोड १४ लाख ७५ हजार चार सय ९९ विनियोजन गरिएको छ । चालु आवको चार महिनामा कूल विनियोजित रकमको २८ दशमलव २५ प्रतिशतअर्थात् रु दुई अर्ब ९५ करोड ५५ लाख ८० हजार दुई सय ३८ रकम खर्च भएको छ । पर्साका सरकारी कार्यालयले सोही अवधिमा रु ६५ अर्ब ७३ करोड २९ लाख २५ हजार एक सय १६ राजस्व सङ्कलन गरेका छन् ।

नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड

काठमाडौँ, ६ मङ्सिरःक्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।

बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र साझा चासोका विषयमा छलफल भएको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ । दुई मुलुकबीच आर्थिक साझेदारी विस्तार तथा नेपाल र क्यानडाका संसद्बीच सहकार्यका साथै संसदीय आदानप्रदानमा राजदूत पौड्यालले जोड दिनुभएको थियो ।

‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित

गलकोट (बागलुङ), ६ मङ्सिर : बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार्यान्वयन भएको छैन । खेलाडी पूर्वाधारबिना खेल खेल्न बाध्य छन् ।

बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनेको एक दशक बित्न लागेको छ । तर यहाँ तारबार मात्र हालेको छ । नगरपालिका र सङ्घीय संरकारले बिनियोजन गरेको रु आठ करोड बजेट फिर्ता गएको छ ।

यस्तै बागलुङ नगरपालिका–९ स्थित तित्याङको आलेखर्क खेल मैदान पनि डिपिआरमै सिमिति भएको छ । बागलुङका अन्य स्थानीय तहले अघि सारेका खेल पूर्वाधार पनि बन्न सकेका छैनन् । तमान रङ्गशाला र काठेखोला गाउँपालिकाको रेशको खेल मैदान निर्माणले पनि गति लिन सकेको छैन ।

रङ्गशालाको डिपिआर स्थानीय तहको सहयोगमा तयार भए पनि खेल मैदान बन्न नसकेको बागलुङ–९ तित्याङका वडाध्यक्ष राजु थापाले बताउनुभयो । बागलुङमा वषौँदेखि बजेट अभावमा खेल मैदान बन्न नसकेका खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । बाङ्गेचौर खेल मैदानमा रहेका सल्लाका बोट हटाउन नसक्दा बजेट फ्रिज भएको छ ।

“खेल क्षेत्रमा राज्यले लगानी बढाउन सकेको छैन, खेलकूद गतिविधि ठप्प जस्तै छन्”, उहाँले भन्नुभयो, “बाङ्गेचौर खेलमैदान बनाउन रु ३० करोड लाग्ने गरी डिपिआर बनाइएको थियो, अहिले लागत बढेर रु ५० करोड पुगेको छ ।”

बागलुङ–९ तित्याङमा बजेट अभावले मैदान बनाउन नसकेको वडाध्यक्ष राजु थापाले बताउनुभयो । बागलुङ बजारबाट नजिकै रहेको तित्याङस्थित आलेखर्क खेल मैदानलाई विस्तार गरी बाङ्गेचौर खेल मैदानको विकल्पका रुपमा अगाडी बढाइएको हो । झण्डै २० रोपनी जग्गामा फैलिएको आलेखर्क खेल मैदानलाई बहुउदेश्यीय रङ्गशाला निर्माण गर्न सकिने भएपनि बजेट अभावले रोकिएको छ । यसमा झण्डै रु ६ करोड खर्च लाग्ने देखिन्छ ।

तमानखोला गाउँपालिकाले तमानगाउँमा निर्माण गर्ने रङ्गाशाला समेत अधुरै छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट बिनियोजन गरेको छ । त्यो पर्याप्त नहुँदा सङ्घीय र प्रदेश सरकारको मुख ताक्नुपरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । “पालिकाको बजेटले रङ्गशाला बनाउन असम्भव छ”, उहाँले भन्नुभयो–“यसका लागि कम्तिमा रु १० करोड बजेट चाहिन्छ ।”

लेकबाट बेँसी झर्न थाले भेडाका बथान

लमजुङ, ६ मङ्सिर : चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाका बथान लेकबाट बेँसी झर्न थालेका छन् । चिसो मौसम सुरु भएसँगै चरनमा समस्या आउन थालेपछि जिल्लाका घुम्ति गोठका गोठालाले आ–आफ्ना भेडाका बथान यतिबेला बेँसी झार्न थालेका छन् ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त कार्यालय प्रमुख डा सुनिल न्यौपानेका अनुसार जिल्लामा साना ठूला गरेर तीन सयभन्दा बढी घुम्ती भेडीगोठ रहेका छन् । ती सबै लेकबाट बेँसी झर्न थालेका छन् । सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायतका ग्रामीण क्षेत्रमा भेडीगोठ रहेका छन् ।

गर्र्मीयाममा भेडाबाख्रा लेकतर्फ लैजाने गरेकामा चिसो मौसम सुरु भएसँगै बेँसीतर्फ पुनःफर्किएका भेडीगोठाला कमल अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मीयाममा ६ महिना लेक र चिसोयामको ६ महिना बेँसीमा भेडीगोठ राख्ने गर्दछौँ । बेँसीमा झारिएका भेडाबाख्राका बथानको मल यहाँका खेतबारीमा प्रयोग हुने गरेको छ ।”

क्व्होलासोथार गाउँपालिका–३ घलेगाउँका दिर्घराज घलेले गाउँका दुई वडाका भेडीगोठ रहेका र चिसो हुन थालेसँगै लेकबाट घलेगाउँतर्फ ल्याउन लागेको बताउनुभयो ।

त्यस्तै कास्कीको सिमाना डाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ यतिबेला क्युबे–ल्हेदे हुँदै गाउँतर्फ फर्किन थालेको स्थानीयको भनाइ छ । जिल्लाको उत्तरी ताघ्रिङ्का भेडीगोठ यसअघि थुर्जुलेक पुगेकामा अहिले ठूलागी आइपुगेको र केही हप्तापछि गाउँमै ल्याइने छ ।

विशेष गरी गुरुङ समुदायको पुर्खौँली चलन तथा पेसाको रुपमा भेडिगोठलाई लिइन्छ । लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूध पोखरीनजिकै थुर्जु तथा लमजुङ हिमालको काखलगायतका ठाउँसम्म लैजाने गरिन्छ । पसगाउँको भेडीगोठ लमजुङ र कास्कीको सिमाना डाँडा तिङ्जेमा पुग्ने गर्दछ । उत्तरी लमजुङको ताघ्रिङका बासिन्दाको भेडीगोठ लके थुर्जु पुग्ने गरेको छ ।

बेँसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने, भेडाको ऊन निकालेर राडीपाखी, बख्खुलगायत सामग्री बनाउन प्रयोग हुने गर्छ । जिल्लाभर २३ हजार भेडाबाख्रा रहेको तथ्याङ्क छ । वार्षिक १० हजार किलो ऊन उत्पादन हुने गरेको छ । ऊनको प्रतिकिलो रु तीन सयमा बिक्री हुने गरेको छ ।

रूसद्वारा नयाँ आणविक नीतिले अनिश्चितता थपेको विशेषज्ञहरूको भनाइ

रूसको नयाँ आणविक सिद्धान्तले युक्रेनका मित्रराष्ट्रहरूलाई युद्ध रोकिने अनुमानलाई अनिश्चिततातर्फ धकेल्ने प्रतिबिम्बित गरेको विज्ञहरूले बताएका छन्।

युक्रेनले पहिलो पटक आफ्नो भूमिमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि मस्कोले जवाफ दिने चेतावनी दिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धको एक हजार दिन पुगेको अवसरमा आणविक हतियारको चेतावनी जारी गर्नुभएको छ ।

विदेशमन्त्री सर्गेई लाभरोभले आक्रमणले पश्चिमा देशहरूले द्वन्द्वलाई ‘बढाउन’ चाहेको देखाएको बताउनुभएको छ ।

राष्ट्रपति पुटिनले आणविक हतियार प्रयोगको सीमा घटाउने आदेशमा मङ्गलबार हस्ताक्षर गर्नुभएको थियो भने ह्वाइट हाउस, बेलायत र युरोपेली युनियनले यसलाई ‘गैरजिम्मेवार’ भन्दै निन्दा गरेका थिए ।

वासिङ्टनले यसै साता युक्रेनलाई रूस भित्ररहेका सैन्य लक्ष्यविरुद्ध एटीएसीएमएस प्रयोग गर्न अनुमति दिएको बताएको थियो ।

रूसी सैन्य विश्लेषक भासिली काशिनले भन्नुभयो, “अमेरिकीहरूको प्रत्यक्ष संलग्नता बिना यो क्षेप्यास्त्र आक्रमण असम्भव हुने थियो, साथै फ्रान्सेली वा बेलायतीहरूले आफ्नो ‘स्क्याल्प÷स्टॉर्म स्याडो’ क्षेप्यास्त्रहरू प्रयोग गरेका थिए।

“रूसी परिप्रेक्ष्यमा यो प्रयोग रूसी भूमिमा उनीहरूले गरेको आक्रमण बराबर हो,” उहाँले एएफपीसँग भन्नुभयो।

काशिनले भन्नुभयो, “क्रिमिया र डोनबास क्षेत्रमा यसअघि नै यस्ता हतियारको प्रयोग भइसकेको थियो, ‘उक्त क्षेत्रलाई क्रेमलिनले रूसी क्षेत्र मानेको छ तर अन्तर्राष्ट्रिय समुदायले यसलाई रूसी क्षेत्रका रूपमा मान्यता दिँदैन ।”

सन् २०२२ मा युक्रेनमा आक्रमण गरेलगत्तै आणविक चेतावनी दिन थालेका पुटिनले बारम्बार दिइएको चेतावनीमा विश्वसनीयता थप्न चाहेको हुन सक्ने कतिपय विश्लेषकहरूको बुझाई छ ।

क्यानडाको क्विन्स युनिभर्सिटीका रूसी आणविक नीतिका विशेषज्ञ म्याक्सिम स्टार्चकले क्रेमलिनको सिद्धान्तले आणविक हतियारको प्रयोगका लागि ‘थ्रेसहोल्ड कम’ गर्ने बताउनुभयो । तर यसले ‘अस्पष्टता पनि प्रस्तुत गर्ने उहाँको बुझाई रहेको छ ।

उहाँले भन्नुभयो, “एकातर्फ, रूसले क्षेत्रीय खतराको अवस्थामा आणविक हतियार प्रयोग गर्ने सम्भावनाको बारेमा बोल्छ, तर अर्कोतर्फ, यस्तो खतराको मात्रा स्पष्ट छैन।”

आणविक प्रश्नलाई पन्छाउँदै स्टार्चकले भन्नुभयो, “रूसतर्फ उत्तर कोरियाली सेनाको हालैको आगमन र युक्रेनी पक्षबाट अमेरिकाले आपूर्ति गरेको क्षेप्यास्त्र प्रक्षेपण ‘निश्चित रूपमा द्वन्द्वको वृद्धि’ हो।

‘विश्व च्याम्पियनसिपका लागि ढुक्क भए तयारी थाल्नुस्’ – राखेप

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले तेस्रो थाउलो विश्व कपका कांस्य पदक विजेता उसुका विजय सिन्जालीलाई आगामी विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाउनुभएको छ ।

सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा विजयलाई बधाई दिँदै विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाउनुभएको हो । “विश्व च्याम्पियनसिपको तयारीमा ढुक्क भएर अगाडि बढ्नुस् । बाँकी कुराको केही चिन्ता गर्नुपर्दैन । आवश्यक सहयोगका लागि परिषद् तयार छ,” सदस्य–सचिव घिसिङले भन्नुभयो ।

सदस्य–सचिव घिसिङले विजयलाई एरिका गुरुङ र पलेशा गोवद्र्धनजस्तै परिषद्ले रणनीतिक खेलाडीको सूचीमा राख्ने बताउँदै थाउलो विश्वकपको पुरस्कारका लागि प्रक्रिया सुरु भइसकेको जानकारी गराउनुभयो ।

विजयले जापानको योकोहामामा गत अक्टोबर २३ देखि २८ तारिखसम्म भएको प्रतियोगिताको चेन्सुमा कांस्य पदक जितेका थिए । थाउलो विश्वकपमा विजयले छनोट चरण पार गर्दै सहभागिता जनाएका हुन् ।

चीनमा गत अप्रिलमा भएको उसु आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगितामा २७ प्रतिस्पर्धीमध्ये पाँचौँ स्थानमा रहँदै विजय थाउलो विश्वकपका लागि छनोट भएको प्रशिक्षक निकेश श्रेष्ठले जानकारी दिनुभयो । सोही प्रतियोगिताको तुइलिन स्पर्धा भने विजयले कांस्य जितेका थिए । विजयले रियादमा भएको विश्व कम्ब्याटमा स्वर्ण, १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा रजत र १३ औँ सागमा स्वर्ण जितेका छन् ।

टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी

काठमाडौँ, ६ मङ्सिरःक्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन् । दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो ।

राहदानी विभाग, टोरन्टोस्थित नेपालको अवैतनिक महावाणिज्य दूतावास, क्यानडास्थित गैरआवासीय नेपाली सङ्गठनलगायत सामुदायिक संस्थाको सहकार्यमा दूतावासले उल्लेख्य सङ्ख्यामा टोरन्टोमा रहेका नेपाली प्रवासीलाई लक्ष्यित गरी शिविर सञ्चालन गरेको हो ।

उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिअनुसार विगत एक वर्षमा ‘ग्रेटर टोरन्टो एरिया’मा यस्ता दुईवटा शिविर सञ्चालन गरेर प्रवासी नेपालीलाई सेवा दिएको थियो । ग्रेटर टोरन्टो एरियामा प्रवासी नेपालीका सङ्ख्या अधिक छ । त्यहाँ सञ्चालन भएको यो तेस्रो शिविर हो ।

यसअघि दूतावासले एडमन्टन, भ्यानकुभर, ह्यालिफ्याक्स र क्यालगरी सहरमा पनि यस्तै शिविरमार्फत सेवा प्रवाह गरेको थियो ।

कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल

कर्णाली, ६ मङ्सिर : कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘आमसञ्चार विधेयकको मस्यौदा’माथि यहाँका पत्रकारसँग छलफल गरेको छ ।

मन्त्रालयले बुधबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीका पत्रकारको सहभागितामा ‘आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल तथा अन्तरक्रिया कार्यक्रम’ गरेको हो । छलफलका क्रममा पत्रकारहरुले आमसञ्चार सम्बन्धी कानुन निर्माण गर्दा मूलतः सूचना तथा प्रसारण, प्रेस काउन्सिल, न्यूनतम पारिश्रमिक निर्धारण समित, विज्ञापन बोर्डलगायतका संरचना अट्ने गरी ल्याउनुपर्ने सुझाव दिएका छन् ।

त्यस्तै, ऐनअन्तर्गत सिङ्गो प्रेस तथा सञ्चार क्षेत्रको नियमन, अनुगमन, सुपरीवेक्षण तथा व्यवस्थापन हुने संरचना निर्माण गर्नुपर्ने, दुर्गम तथा साना लगानीका मिडियाको प्रवरद्धन, विधागत पत्रकारिताको विकास र पुरस्कार वितरण, सञ्चारगृह तथा सञ्चारकर्मीको उपकरणको जोखिम बीमा, पत्रकार स्वास्थ्य बीमा, आमसञ्चार तथा पत्रकारिता छात्रवृति, पत्रकार कल्याण कोष, लोक कल्याणकारी विज्ञापन, एआईसँग सम्बन्धित क्षमता अभिवृद्धि तालिमलगायत विषय विधेयकमा समेटिनुपर्ने पत्रकारहरुले सुझाव दिएका छन् ।

छलफलका क्रममा मन्त्रालयका निमित्त सचिव उत्तम गौतमले सञ्चारकर्मीबाट प्राप्त सुझावलाई विधेयकमा समेटिने र चालु आर्थिक वर्षको बजेटबाट यहाँका पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि एआई (कृत्रिम बौद्धिकता)सँग आधारित मल्टिमिडियासम्बन्धी तालिम प्रदान गरिने बताउनुभयो । छलफलमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सूर्यमणि गौतम, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिका अध्यक्ष देवीराम देवकोटा, प्रदेशस्थित नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टरका प्रमुख एवं प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

झापामा पहिलो चौमासिकमा सात प्रतिशत मात्रै खर्च

भद्रपुर (झापा), ६ मङ्सिर : झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका कार्यालय प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुुसार जिल्लाको पुँजीगततर्फ रु १० अर्ब २८ करोड चार लाख विनियोजन भएकामा कात्तिक मसान्तसम्म रु ७५ करोड ४८ लाख खर्च भएको छ ।

“चालुतर्फ विनियोजित रु १५ अर्ब ८८ करोड ३८ लाख ९२ हजार मध्ये २९ दशमलव २२ अर्थात् रु चार अर्ब ६४ करोड १७ लाख खर्च भएको छ”, उहाँले भन्नुभयो ।

समग्रमा चालु आब २०८१/८२ को कात्तिक मसान्तसम्म जम्मा २० दशमलव ६३ प्रतिशत अर्थात् रु पाँच अर्ब ३९ करोड ६५ लाख ६१ हजार खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले बताउनुभयो । उहाँका अनुसार समयमै बजेट निकासा हुँदा पनि जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहहरुले अपेक्षित पुँजीगत बजेट खर्च गर्न सकेन्न ।

कार्यालयको तथ्याङ्क अनुसार चालु आव २०८१/८२ को पहिलो चौमासिकमा जिल्लाभर रु ६ अर्ब एक करोड ९८ लाख ८६ हजार राजश्व सङ्कलन भएको छ । सो अवधिमा सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकरभिट्टाले रु चार अर्ब ६२ करोड ८४ लाख राजश्व सङ्कलन गरेको छ ।

बालकुमारीमा विद्युत चुहावट भएर आगलागी, फार्मेसी जलेर नष्ट

काठमाडौँ, ६ मङ्सिर : बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर आगलागी भएको हो । आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गर्नुभएको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको प्रभागका सहायक हवल्दार रुद्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

यसैगरी आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र मःम पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सँगैको ‘जुम्बा डान्स सेन्टर’ पनि जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ । पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो । आगो निभाउन काठमाडौँका तीन र ललितपुरका दुईवटा दमकलका साथै प्रहरी परिचालन गरिएको थियो ।

आजदेखि फिल्म साउथ एसिया महोत्सव

काठमाडौँ, ६ मङ्सिर : ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ ।

ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् ।

महोत्सवका सहायक निर्देशक पवस मानन्धरले यस वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको उल्लेख गर्दै उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुने जानकारी दिनुभयो ।

“बिहान ९ बजेदेखि महोत्सव सुरु हुनेछ । निर्देशनसम्बन्धी कार्यशाला पनि हँुदैछ”, उहाँले भन्नुभयो,“वृत्तचित्र हेर्न र सिर्जना गर्न चाहनेका लागि यो महोत्सव सुनौलो अवसर हो ।”

कार्यशालामा भारतका निर्देशक कवीर खानको उपस्थीतिसमेत रहने बताइएको छ । महोत्सवमा पहिलो दिन तीनवटा हलमा विद्यार्थीहरुद्वारा सिर्जित सात लघु चलचित्र प्रदर्शन गर्ने तयारी रहेको छ ।

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ६ मङ्सिर : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।

बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । बिहीबार युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५४ पैसा तथा बिक्रीदर एक सय ७१ रुपैयाँ ३० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ १८ पैसा तथा बिक्रीदर एक सय ५२ रुपैयाँ ८६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा, बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको जनाएको छ ।

आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३० पैसा तथा बिक्री दर ९६ रुपैयाँ ७२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३४ पैसा तथा बिक्रीदर एक सय रुपैयाँ ७९ पैसा कायम भएको छ ।

यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा तथा बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै थाईभाट एकको खरिददर तीन रुपैयाँ ८८ पैसा, तथा बिक्रीदर तीन रुपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा तथा बिक्रीदर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १२ रुपैयाँ ३० पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा तथा बिक्रीदर १९ रुपैयाँ १४ पैसा र हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ३९ पैसा तय गरेको छ ।

यस्तै कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १३ पैसा तथा बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५३ पैसा तथा बिक्रीदर तीन सय ५९ रुपैयाँ १२ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आज देशभरको मौसम सफा रहने

काठमाडौँ, ६ मङ्सिरः देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक –दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी,आज राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

स्थानीय तह उपनिर्वाचनः ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, ५ मङ्सिर : आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट दुई सय ८९ र एक सय २१ स्वतन्त्र उम्मेदवार गरी कुल चार सय १० जनाको मनोनयनपत्र दर्ता भएको थियो ।

तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।

उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाली कांग्रेस (विपी), नेपाली जनता दल र आम जनता पार्टीले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता नगराएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

निर्वाचन कार्यक्रमअनुसार यही मङ्सिर ६ देखि १३ गते राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न सक्नेछन् । मङ्सिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको छ । मङ्सिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

वालिङ (स्याङ्जा) । स्याङ्जाका तीन महिला क्रिकेटरलाई जनही   एक-एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ । उन्नाइस वर्षमुनिका उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै युएईमा सम्पन्न टि-२० महिला क्रिकेट प्रतियोगितामा सहभागी स्याङ्जाका तीन खेलाडीलाई बुधबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा सम्मान गरिएको हो ।

शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदका क्षेत्रमा सक्रिय रहेका खुमा अर्याल फाउण्डेशनले उनीहरूलाई नगदसहित दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरेको हो ।

कार्यक्रममा स्याङ्जाको पुतली बजार नगरपालिका-१ का ज्योत्सिना मरासिनी, पुतली बजार–१३ की सिमाना केसी, कुसुम गोदार र स्याङ्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापालाई पुरस्कार तथा सम्मान गरिएको संस्थाका सचिव ध्रुव शर्माले जानकारी दिए । संस्थाले छैटौँ स्थापना दिवसको सन्दर्भ पारेर बुधबार सम्मान गरेको हो ।

युएईमा भएको यु-१९ टी-२० महिला विश्वकपको एसिया छनोटको उपाधि विजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेलमा पुग्न सफल नेपाली टिममा स्याङ्जाका तीन जना महिला खेलाडी पर्न सफल भएका थिए ।

देशका लागि खेल्न पाउँदा आफूलाई गर्व लागेको र आगामी दिनमा खेल्नका लागि थप ऊर्जा मिलेको खेलाडी ज्योत्सिना मरासिनीले बताइन् । अबको समय मलेसियामा हुने एसिया कपको तयारीमा जुट्नुपर्ने उनले बताइन् ।

महिला खेलाडीलाई स्याङ्जाको पुतली बजार नगरपालिकाले जनही रु. ३३ हजार तीन सय ३३ पुरस्कार तथा सम्मानस्वरुप प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख तुलसीराम रेग्मीले बताए । नगर कार्यपालिकाले तीन जनालाई रु. एक लाख प्रदान गर्ने निर्णय गरेकाले आगामी नगर सभाबाट खेलाडीलाई प्रदान गरिने उनले बताए ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले जनही रु. १५ हजार नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । गाउँपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार एवं प्रदान गर्ने तयारी गरेको उनले बताए । यसअघि स्याङ्जा जिल्ला खेलकुद विकास समितिले खेलाडीलाई सम्मान गरेको थियो ।

स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

भक्तपुर, ५ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल क्यान्सर उपचार सेवाको शुभारम्भ गर्नुभएको छ ।

अस्पतालले आयोजना गरेको कार्यक्रममा उहाँले १४ वर्षमुनिका बालबालिकाको क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार निःशुल्क सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो । उहाँले कान्ति बाल अस्पताल (काठमाडौँ), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर चितवन) मा बालबालिकाको क्यान्सर उपचार सेवा मङ्सिर १ गतेदेखि निःशुल्क रुपमा सुरु भएको जानकारी दिनुभयो । क्यान्सर भएका बालबालिकाले आर्थिक अभावका कारण मृत्युवरण गर्न नपरोस् र रोगको समयमै पहिचान गरी ज्यान बचाउन सकियोस् भन्ने उद्देश्यले उपचार सेवा निःशुल्क सुरु गरिएको उहाँले बताउनुभयो । कर्मचारीदेखि जनप्रतिनिधिसम्म, सरकारीदेखि निजी निकायसम्मका सबै कर्मचारीले आफ्नो मासिक तलबको दुई प्रतिशत रकम बिमा कोषमा जानेगरी व्यवस्था गर्नसके आमनागरिकलाई बिमामार्फत निःशुल्क उपचार गर्न सकिने उहाँले बताउनुभयो । मन्त्री पौडेलले भन्नुभयो, “मन्त्रालयले नक्कली बिमा दाबी रोक्न कडा कानुनी व्यवस्था गर्न लागेको छ । बिमा ऐनमा संशोधन गरी नक्कली बिल पेस गरेर दाबी गर्ने अस्पताललाई सम्बन्धन खारेज गर्ने र नक्कली बिमालाई स्वीकृत गर्ने डाक्टर र कर्मचारीलाई बर्खास्त गर्ने सम्मको व्यवस्था आवश्यक छ ।”

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले समयमा उपचार भए बालबालिकामा हुने क्यान्सर निको हुने बताउँदै उहाँले नेपालमा सर्नेभन्दा नसर्ने रोगको प्रकोप बढ्दै गइरहेको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाको ख्वप अस्पतालले स्वास्थ्य बिमा बोर्डसँग रु २२ करोड सोधभर्ना लिन बाँकी रहेको बताउँदै सरकारी अस्पताललाई स्वास्थ्य उपकरण र आवश्यक जनशक्ति व्यवस्थापन गरी सुविधासम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले अस्पतालले क्यान्सरका बालबालिकाका लागि सम्पूर्ण उपचार निःशुल्क गर्ने बताउदै अहिले एक सय ५० जना बालबालिका क्यान्सरको उपचार गराइरहेको बताउनुभयो ।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, अस्पतालका प्रशासन प्रमुख राजाराम तजले, अस्पतालकी बालरोग विशेषज्ञ डा रितु लामिछानेलगायतले बालबालिकामा क्यान्सरको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै बालबालिकाको निःशुल्क उपचारमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ, ५ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’ को एसिया प्रशान्त क्षेत्रीयस्तरको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज समापन गर्दै मन्त्री खड्काले जलवायु परिवर्तनबाट निम्तिएका विपद् तथा वातावरणीय असन्तुलनलाई न्यूनीकरण गर्न सबैको साथ र सहयोगको खाँचो रहेको बताउनुभयो ।

“संयुक्त प्रयासबाट मात्र हामी हाम्रो ग्रहलाई जोगाउन र उज्ज्वल भविष्य निर्माण गर्न सक्छौँ, त्यसका लागि हामी सबैको हातेमालो जरुरी छ, दीगो विकासका लागि सबै एकजुट हुनुपर्छ”, मन्त्री खड्काले भन्नुभयो । उहाँले विश्व समुदाय र सम्बन्धित संस्थाहरूसँग जलवायु परिवर्तनका चुनौतीहरूलाई न्यूनीकरण गर्नका लागि दिगो समाधानका उपाय र प्रविधि हस्तान्तरणलाई अघि बढाउन सहयोगका लागि आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक रहेको बताउनुभयो । उहाँले उच्च पहाडदेखि तराईसम्मका समुदायले खाद्य सुरक्षा, पानी अभाव र विपद् व्यवस्थापनमा चुनौती सामना गरिरहेको भन्दै जलवायु अनुकूलनका लागि दीर्घकालीन योजना र दिगो विकास नीतिहरू आवश्यक रहेको बताउनुभयो ।

मन्त्री ठकुरीले नेपालमा जलवायु परिवर्तनका असरहरू गम्भीररूपमा देखा परेको औँल्याउँदै हिमाली क्षेत्रका हिउँ र हिमनदी द्रुत गतिमा पग्लिरहेकोले जलप्रवाहलाई नै अस्थिर बनाएको उल्लेख गर्नुभयो ।

तीनदिने सम्मेलनमा २३ देशका विज्ञहरूको सहभागितामा पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधिलगायत विशिष्टीकृत विषयमा बहस र छलफल भएको थियो ।

गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु, अध्यक्ष दाहालद्धारा उद्घाटन

गोरखा, ५ मङ्सिर : गोरखा सदरमुकाममा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ आज सुरु भएको छ । दुई दिन सम्म चल्ने भेलाको आज पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो ।

गोरखामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन रणनीतिक योजना निर्माण गर्ने उद्देश्यसहित सदरमुकाममा भेला सुरु भएको आयोजक होटल सङ्घ गोरखाले जनाएको छ । जिल्लामै पहिलोपटक गोरखाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको हो । भेलामा जिल्लाभित्र स्थायी घर भई देशभर पर्यटन क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायीको सहभागिता रहेको होटल व्यवसायी सङ्घ गोरखाका अध्यक्ष केशव कुँवरले जानकारी दिनुभयो ।

भौगोलिक, प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा वातावरणीय विविधताका कारण पर्यटनको प्रचुर सम्भावना भएको गोरखाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसके जिल्लामा अत्यधिक पर्यटक भित्र्याउन सकिने आयोजकको भनाइ छ ।

भेलामा एक सय ५० बढी पर्यटन व्यवसायीको सहभागिता रहेको सङ्घका उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने भेलामा जिल्लाभित्रका ११ वटै स्थानीय तहले आआफ्ना स्थानीय भित्रको पर्यटकीय सम्भावना बोकेका क्षेत्रको भिडियो सामग्री प्रस्तुत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

पुथाउत्तरगङ्गा गाउँपालिका–२ को वडाअध्यक्षमा माओवादीका घर्ती निर्विरोध निर्वाचित

त्रिवेणी (रुकुम पश्चिम), ५ मङ्सिर : रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–२ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले)का संयुक्त उम्मेदवार नेकपा एमालेका जीवन रोकाले उम्मेद्वारी फिर्ता लिएपछि माओवादी केन्द्रका घर्ती निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचन तालिकाअनुसार आज उम्मेद्वारलाई आफ्नो उम्मेद्वारी फिर्ता लिने समय दिइएको थियो । सोही समय सीमा भित्र कांग्रेस र एमालेका संयुक्त उम्मेदवार रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य कुनै उम्मेदवार नभएपछि माओवादी केन्द्रका घर्तीलाई वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । अब पुथाउत्तरगङ्गा गाउँपालिकामा उपाध्यक्ष पदका लािग उपनिर्वाचन हुनेछ । उपाध्यक्ष पदका लागि कांग्रेस र माओवादी केन्द्र चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट केशकुमारी तुलाचन र माओवादी केन्द्रबाट नरपुरा बुढाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत हमालले जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट उम्मेद्वारी दिनुभएकी सुनिता बुढा, स्वतन्त्र उम्मेद्वार मोहनभक्त बुढा, श्रीदेवी सुनार, भीमकुमारी पुन र कोपिला पुन बुढाले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसबाट उम्मेद्वार बन्नुभएकी तुलाचन नेकपा एमालेको जिल्ला कमिटी उपसचिव हुनुहुन्छ । उहाँ कांग्रेसबाट रुख चिह्न लिएर चुनावी मैदानमा हुनुहन्छ ।

गत भदौ २८ गते काठमाडौँबाट रुकुमपूर्व आउँदै गर्दा बागलुङमा गाउँपालिकाको गाडी दुर्घटनामा परी उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं वडाध्यक्ष जसबहादुर श्रीपाइलीको मृत्यु भएको थियो ।

महाराष्ट्र विधानसभा निर्वाचनमा साँझ पाँच बजेसम्म ५५.२२ प्रतिशत मतदान

महाराष्ट्रको २८८ सिट रहेको विधानसभा निर्वाचनका लागि बुधबार साँझ ५ बजेसम्म ५८.२२ प्रतिशत मत खसेको छ ।

भारतीय निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी गढचिरौली जिल्लामा ६९.६३ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम मुम्बईमा ४९.०७ प्रतिशत मतदान भएको छ । ठाणेमा ४९.७६ प्रतिशत मतदान भएको छ ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति गठबन्धनमा भाजपा, शिवसेना र राष्ट्रवादी काङ्ग्रेस पार्टी छन् भने विपक्षी महाविकास अघाडी (एमभीए) मा काङ्ग्रेस, शिव सेना (यूबीटी) र राकांपा (शरदचन्द्र पवार) छन्।

महाराष्ट्र विधानसभा चुनावको २८८ सिटको एउटा चरण र झारखण्ड विधानसभा चुनावको दोस्रो चरणका लागि बुधबार बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । महाराष्ट्र र झारखण्डका सबै सिट र उपनिर्वाचनको नतिजा नोभेम्बर २३ मा घोषणा हुनेछ ।

काठमाडौँमा सात देशको कला प्रदर्शनी

काठमाडौँ, ५ मङ्सिर : काठमाडौँस्थित नक्सालमा सात देशका कलाकारले सिर्जना गरेका कलाको प्रदर्शनी सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टस्, भारतको संयुक्त आयोजनामा यहाँ ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला’ सुरु भएको छ ।

कार्यक्रमको प्रतिनिधिसभा सदस्य रघुजी पन्त र प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायत अन्तर्राष्ट्रिय कलाकारहरूले संयुक्तरूपमा उद्घाटन गर्नुभयो । प्रतिनिधिसभा सदस्य पन्तले यस्ता कार्यक्रममार्फत कला, संस्कृतिको आदानप्रदान हुने विचार व्यक्त गर्नुभयो । उहाँले यस्ता प्रदर्शनी र कार्यशाला विभिन्न देशमा आयोजना हुन जरुरी रहेको र यसले पर्यटन विकासका साथै आपसी सम्बन्ध विस्तारमा समेत योगदान पुग्ने बताउनुभयो ।

द्घाटन समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रमले सातवटा देशका कलाकारसँग साक्षत्कार गर्ने अवसर दिनुका साथै कला, संस्कृतिको आदानप्रदानमा सहयोग गरेको बताउनुभयो ।

श्रीलङ्काका कलाकार महेस चतुर्रङ्ग एकनायकेले नेपाल आएर कला प्रदर्शनीमा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्दै सात देशका कलाको अभ्यास शैली, संस्कृतिका बारेमा बुझ्ने अवसर मिलेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।

बङ्लादेशकी कलाकार रुविना नार्गिसले यस कार्यक्रममा सहभागी हुन पाउँदा धेरै खुसी लागेको बताउनुभयो । सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टसका अध्यक्ष अरूप चन्द्रले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग सहकार्यमा कार्यक्रम आयोजना हुनु नै खुसीको कुरा भएको बताउनुभयो ।

प्रदर्शनीमा नेपालसँगै भारत, श्रीलङ्का, मौरिसस, बङ्गलादेश, स्पेन, अर्जेन्टिनाका ७५ जना कलाकारका एक सय ५० भन्दा बढी कलाकृति समावेश गरिएको छ । आजदेखि सुरु भएको प्रदर्शनी मङ्सिर ७ गतेसम्म चल्ने प्रतिष्ठानले जानकारी दिएको छ ।

स्वास्थ्यमन्त्री पौडेलद्वारा धौलागिरि अस्पताल निरीक्षण

गलकोट (बागलुङ), ५ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज धौलागिरि अस्पताल निरीक्षण गर्नुभएको छ ।

उहाँले अस्पतालको सेवा प्रवाह, जनशक्ति तथा वर्तमान अवस्थाबारे जानकारी लिनुभएको हो । अस्पताल सुधारका लागि अस्पतालको यथार्थ अवस्था बुझ्न आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले अस्पताललाई स्तरवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पौडेलले अस्पतालको सेवाका विषयमा अस्पतालमा भर्ना भएका बिरामीलाई समेत सोधपुछ गर्नुभएको थियो । उहाँले आकस्मिक कक्ष, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, डायलासिस सेवाकक्षलगायतको अवलोकन गर्नुभएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा किरण तिवारीले जानकारी दिनुभयो ।

५० श्ययाको अनुमति रहेको अस्पतालको स्तवृद्धि गरी एक सय श्यया बनाउन सहजीकरण गर्ने मन्त्री पौडेलले प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रदेशअन्तर्गतको अस्पतालको रुपमा रहेको यस अस्पताललाई तत्काल अस्थायी चिकित्सक राखेर भए पनि एक सय श्ययामा स्तरवृद्धिका लागि अनुमति दिने बताउनुभयो ।

“अस्पतालले क्षमताभन्दा बढी सेवा दिएको छ, स्तरवृद्धि भएको छैन प्रदेशले दुई सय श्ययामा स्तरवृद्धि गर्ने योजना बनाएको रहेछ, तत्कालै एक सय श्ययामा स्तरवृद्धि गर्दा सेवा प्रदानमा सहज हुन्छ”, मन्त्री पौडेलले भन्नुभयो, “अस्पतालप्रति जनताको भरोसा धेरै रहेको पाएँ, बिरामीको चाप समेत धेरै रहेछ, उपकरण र चिकित्सक थप गर्न सङ्घ सरकारले प्रदेश सरकारसँग समन्वय गरेर काम गर्छ ।”

बहत्तर चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान

काठमाडौँ, ५ मङ्सिर : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो ।

मन्त्री गुरुङले भन्नुभयो, “यो परिचयपत्रले चलचित्रमा जीवन समर्पित गर्नुभएका चलचित्रकर्मीलाई थोरै भए पनि सम्मान गरेको छ भन्ने लागेको छ । हामीले यस क्षेत्रमा देखिएको समस्यालाई विस्तारै कम गर्नेछौँ । सरकार र मन्त्रालय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सधैँ तत्पर छ ।”

कार्यक्रममा कलाकार गौरी मल्ल, पुष्पकुमार श्रेष्ठ, माओत्से गुरुङ, पुरणबहादुर जोशी, परशुराम चौधरी, तैयब शाह, रचना सिंह, राजकुमार शाह, दिव्यश्वर गौतम, राकेशकुमार खड्का, रामेश्वरजङ्ग केसी, पुकार भट्टराई, कृष्णप्रसाद ढुङ्गाना, मुकुन्द थापा, रमेश रञ्जन झा, रवि डङ्गोल, शङ्करप्रसाद आचार्य, केदारनाथ दवाडी, दिनेशकुमार विष्ट, आनन्द ढुङ्गाना, म्याक्चुङ गौतम (हिउँवाला), शालिकराम कार्की, सरोजकुमार खनाल, रामशरण जङ्गम लगायतलाई परिचयपत्र प्रदान गरिएको थियो ।

“चलचित्रकर्मी परिचयपत्रलाई थप व्यवस्थित बनाइ यसको प्रभावकारिता बढाएर प्रदान गरेका हौँ । यो राज्यले दिएको एउटा सम्मान र सुविधा पनि हो”, चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले भन्नुभयो । १३ जना चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्दै यसको सुरुआत विसं २०७३ वैशाख ७ गतेदेखि भएको थियो । त्यसपछि विसं २०७३ असार १६ गते २७ जना, विसं २०७९ असार १६ गते ६२ जना र आज ७२ जनालाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरिएको बोर्डले जनाएको छ ।