बाढी पहिरो र डुबान पीडितको उद्धारका लागि कार्यकर्तालाई तयारी अवस्थामा रहन अध्यक्ष ओलीको निर्देशन


काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धारमा खटिन तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत बर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै नेता कार्यकर्तालाई सो निर्देशन दिएका हुन् ।
उनले लेखेका छन् ‘भारी वर्षाका कारण देशका बिभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरु आइरहेका छन् । पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुने र यात्रुहरु प्रभावित हुने क्रम बढ्दै छ । त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरुमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु । हाम्रो पार्टीको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्दार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु । बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरुलाई यथोचित परिचालन गरोस् भन्ने ध्यानाकर्षण गराउँछु ’।