गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन्न तर अर्थमन्त्रीबारे सोच्नसक्छु : सुनिल शर्मा
काठमाडौँ – नेपाली कांग्रेस सांसद सुनिल शर्माले अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन्न तर अर्थमन्त्रीबारे सोच्ने बताएका छन् ।
आइतबार जारी संसदीय दलको बैठकमा शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट गएकोबारे नेताहरुले प्रश्न उठाएका छन् । बैठकमा सांसदहरुले पार्टीको अनुशासन विपरीत बालकोट गएर अभिव्यक्ति दिएको भन्दै प्रश्न उठाएका हुन् ।
आफ्नो बारेमा बैठकमा प्रश्न उठेपछि आफूलाई सहयोग गर्नेहरुलाई भेट्ने क्रममा आफू बालकोट गएको बताए । उनले बैठकमा प्रष्टीकरण दिँदै भने, ‘मैले मलाई सपोर्ट गर्नेहरुलाई भेट्नेक्रममा केपी ओली भेट्न गएको हुँ। मेरोबारेमा पार्टी सभापति, महामन्त्री, शेखर दाइ सबैले मेरो पक्षमा बोल्नुभएको छ ।’
उनले आज बिहान बालकोट गएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेस र एमालेको सरकार बनाउने पहल थाल्ने बताएका थिए । त्यसो त उनले आफू अब गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक हुन नसक्ने सुनाए ।
उनले भने, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ । अर्थमन्त्रीबारे सोच्नसक्छु ।’ उनले सुन प्रकरणलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए ।
