टेस्लाको उड्ने कारले मच्चायो तहल्का
टेक्ससमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको यो कारमा रकेटमा प्रयोग हुने थ्रस्टर प्रविधि जडान गरिएको बताइएको छ । यस प्रविधिको सहायताले कारलाई जमिनबाट हावामा उडाउन र हावामै दिशा परिवर्तन गर्न सकिने दाबी गरिएको छ ।
स्पेसएक्सको परिसरमा आयोजित प्रदर्शन कार्यक्रममा टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले दर्शकहरूलाई सम्बोधन गर्दै आफूहरूले कल्पनाभन्दा बाहिरका दृश्य देखाउन लागेको बताएका थिए । उनले यो दृश्य कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको भिडियो नभई वास्तविक भएको देखाउन प्रत्यक्ष प्रदर्शन गरिएको बताए ।
प्रदर्शनका क्रममा दोस्रो पुस्ताको रोडस्टर एउटा ठूलो र्याम्पमा तीव्र गतिमा अघि बढ्दै हावामा उफ्रिएको देखाइएको थियो । त्यसपछि कारले हावामै फ्लिप गर्दै एयर जेटको सहायताले जमिनमा अवतरण गरेको थियो । कार सुरक्षित रूपमा ल्यान्ड भएपछि मस्कले उत्साहित हुँदै भने, ‘यसले त साँच्चै काम गर्यो !’
मस्कका अनुसार यो कारले केवल ०.८१ सेकेन्डमै प्रतिघण्टा ९७ किलोमिटरको गति हासिल गर्न सक्छ । यो दाबी वास्तविक उत्पादनमा पनि पुष्टि भए कारको गति समात्ने क्षमताका हिसाबले नयाँ कीर्तिमान बन्न सक्नेछ ।
टेस्ला र स्पेसएक्सका इन्जिनियरहरूले संयुक्त रूपमा विकास गरेको यो कारमा दुई जना बस्न मिल्ने व्यवस्था रहेको बताइएको छ । यसमा अन्तरिक्षमा रकेट तथा उपग्रहको दिशा नियन्त्रण गर्न प्रयोग गरिने ‘कोल्ड ग्यास थ्रस्टर’ प्रविधि समावेश गरिएको छ । उक्त प्रणालीले उच्च दबाबमा ग्यास बाहिर फालेर आवश्यक बल उत्पन्न गर्छ ।
त्यस्तै, कारको हावामा नियन्त्रण कायम गर्न ‘एल्टिट्यूड थ्रस्टर’ र पछाडिको भागमा ‘मेन थ्रस्टर’ राखिएको बताइएको छ । यही प्रविधिले कारलाई सामान्य सवारीसाधनभन्दा फरक ढंगले हावामा उफ्रिन तथा आफ्नो गति र दिशा नियन्त्रण गर्न सहयोग गर्ने अवधारणा अघि सारिएको छ ।
यो कार सामान्य सडकमा पनि गुडाउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्नमा मस्कले ठट्यौली शैलीमा जवाफ दिएका थिए, ‘यो तपाईंको सडक कस्तो छ भन्ने कुरामा निर्भर गर्छ ।’
रोडस्टरको प्रदर्शन सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको सम्भावित प्रयोगबारे विभिन्न अड्कलबाजी सुरु भएका छन् । कसैले टोल बूथ छल्न कार उडाउने कल्पना गरेका छन् भने कसैले ट्राफिक जाम र खाल्डाखुल्डी भएका सडकबाट बच्न यस्तो प्रविधि उपयोगी हुन सक्ने बताएका छन् ।
तर, उड्ने कारको यो अवधारणा अहिलेसम्म प्रदर्शनकै चरणमा छ । यसको व्यावसायिक उत्पादन कहिले सुरु हुन्छ, बजारमा कस्तो मूल्यमा उपलब्ध हुन्छ र उडान तथा सडक सुरक्षासम्बन्धी मापदण्ड कसरी लागू गरिन्छ भन्ने विषयमा स्पष्ट विवरण सार्वजनिक भएको छैन । त्यसैले टेस्लाको यो नयाँ रोडस्टरले भविष्यमा यातायातको स्वरूप नै बदल्न सक्छ कि सक्दैन भन्ने कुरा यसको वास्तविक क्षमता, सुरक्षा र व्यावसायिक उपलब्धतामा निर्भर रहनेछ ।
