`

‘प्रलयको हिमनदी’ तीव्र गतिमा पग्लिँदै, समुद्री सतह बढ्ने खतरा दोब्बर!

Nepal One HD ३० असोज २०८३ १६:१३
विज्ञान-प्रविधि

काठमाडौं । अन्टार्कटिकामा रहेको थ्वाइट्स हिमनदी वैज्ञानिकहरूले अनुमान गरेभन्दा तीव्र गतिमा पग्लिरहेको नयाँ अध्ययनले देखाएको छ। ‘डुम्सडे ग्लेसियर’ अर्थात् ‘प्रलयको हिमनदी’ नामले चिनिने यस हिमनदीको पग्लने गति तीव्र बन्दा भविष्यमा विश्वव्यापी समुद्री सतह वृद्धिको जोखिम यसअघिका अनुमानभन्दा दोब्बर हुन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।

पश्चिमी अन्टार्कटिकामा अवस्थित थ्वाइट्स हिमनदी विश्वकै सबैभन्दा संवेदनशील हिमनदीमध्ये एक हो। यसको पूर्ण पतन भएमा यसमा रहेको बरफ पग्लिएर समुद्री सतह दुई फिटभन्दा बढी बढ्न सक्छ। त्यति मात्र होइन, यसले अन्टार्कटिकाको विशाल बरफको भण्डारलाई समुद्रतर्फ बग्नबाट रोक्ने प्राकृतिक अवरोधको कामसमेत गरिरहेको छ। यो अवरोध हटेमा दीर्घकालमा समुद्री सतह करिब १० फिटसम्म बढ्न सक्ने अनुमान गरिएको छ।

समुद्री सतहमा हुने यस्तो वृद्धिले अमेरिकाको मियामीदेखि फिलिपिन्सको मनिलासम्मका तटीय सहर तथा बस्तीमा गम्भीर प्रभाव पार्न सक्छ। बाढीको जोखिम बढ्नुका साथै तटीय क्षेत्रमा बसोबास गर्ने ठूलो जनसङ्ख्या प्रभावित हुन सक्ने वैज्ञानिकहरूको चिन्ता छ।

क्यालिफोर्निया विश्वविद्यालय, इर्भिन र अमेरिकी अन्तरिक्ष निकाय नासाको जेट प्रोपल्सन प्रयोगशालाका वैज्ञानिकहरूले थ्वाइट्स हिमनदीको तल्लो भागमा भइरहेका प्रक्रियालाई समेटेर नयाँ वैज्ञानिक मोडेल विकास गरेका छन्।

नयाँ मोडेलका आधारमा गरिएको अध्ययनले सन् २१०० सम्म थ्वाइट्स हिमनदीका कारण समुद्री सतह १.२ इन्चसम्म बढ्न सक्ने देखाएको छ। यो अनुमान यसअघिको आकलनभन्दा दोब्बर हो। विश्वव्यापी तापक्रममा थप वृद्धि नभए पनि यस्तो वृद्धि हुन सक्ने अध्ययनको निष्कर्ष छ।

फ्लोरिडा राज्यजत्रो आकारको यो हिमनदी दशकौँदेखि पछि हटिरहेको छ। यसबाट पग्लिने बरफले अहिले नै विश्वव्यापी समुद्री सतह वृद्धिमा करिब चार प्रतिशत योगदान दिइरहेको छ।

वैज्ञानिकहरूका अनुसार हिमनदीको तल्लो भागमा समुद्री पानीको प्रभाव पहिले अनुमान गरिएभन्दा बढी छ। जमिनबाट उठेर समुद्रमा तैरिन सुरु गर्ने क्षेत्रलाई ‘ग्राउन्डिङ जोन’ भनिन्छ। समुद्री ज्वारभाटाका कारण यस क्षेत्रमा पानी निरन्तर भित्रबाहिर हुन्छ, जसले बाक्लो बरफलाई माथि उठाउने र तल झार्ने गर्छ।

‘टाइडल पम्पिङ’ भनिने यस प्रक्रियाबाट तुलनात्मक रूपमा न्यानो समुद्री पानी हिमनदीको भित्री भागसम्म पुग्न सक्छ। यसले बरफ पग्लने गति तीव्र बनाउन सक्छ।

यसअघि प्रयोग गरिएका वैज्ञानिक मोडेलले जमिन र बरफ छुट्टिने क्षेत्रलाई निश्चित रेखाका रूपमा हेर्ने गरेका थिए। तर, उपग्रहबाट प्राप्त तथ्याङ्कले यो क्षेत्र फराकिलो हुने र धेरै माइलसम्म फैलिन सक्ने देखाएको छ।

अध्ययनकी प्रमुख लेखक माटिया पोइनेलीका अनुसार समुद्रमा गएर टुङ्गिने ठूला हिमनदीको तल्लो संरचना वैज्ञानिकहरूले पहिले ठानेभन्दा फरक रहेको बुझाइ विकसित हुँदै गएको छ।

थ्वाइट्स हिमनदीको बहावलाई समुद्रमुनि रहेका दुई प्रमुख चट्टानी संरचनाले केही हदसम्म रोकिरहेका छन्। तर, बरफ पग्लने क्रम जारी रहँदा यी प्राकृतिक अवरोधबाट हिमनदीको बरफ क्रमशः छुट्न सक्ने अध्ययनले देखाएको छ।

अनुसन्धानअनुसार ‘मौजिनोट रिज’ नामक चट्टानी संरचनामा अड्किएको बरफ यस शताब्दीको अन्त्यसम्ममा पूर्ण रूपमा छुट्ने सम्भावना ६० प्रतिशत छ।

यदि बरफ उक्त संरचनाबाट छुट्यो भने हिमनदी अर्को चट्टानी संरचनातर्फ तीव्र गतिमा पछि हट्न सक्छ। यसले समुद्री सतह वृद्धिको जोखिम थप बढाउन सक्ने वैज्ञानिकहरूको आकलन छ।

समुद्री सतहमा १.२ इन्चको वृद्धि सामान्य लाग्न सक्छ। तर, समुद्री सतहमा हुने सानो वृद्धिले पनि उच्च ज्वारभाटा र आँधीका बेला तटीय क्षेत्रमा बाढीको जोखिम बढाउन सक्छ।

क्यालिफोर्निया विश्वविद्यालय, इर्भिनका पृथ्वी प्रणाली विज्ञानका प्राध्यापक तथा अध्ययनका सहलेखक एरिक रिनोटका अनुसार आगामी दशकहरूमा तटीय क्षेत्रमा बाढीको जोखिम र त्यसबाट प्रभावित हुने जनसङ्ख्या वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी हुन सक्छ।

यस अनुसन्धानमा सहभागी नभएका कोलोराडो विश्वविद्यालय, बोल्डरका वरिष्ठ अनुसन्धान वैज्ञानिक टेड स्काम्बोसले पनि यस अध्ययनले भविष्यमा समुद्री सतह वृद्धिको अनुमानमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने बताएका छन्।

यद्यपि, हिमनदीको तल्लो भागमा हुने बरफ पग्लने विभिन्न प्रक्रियाको प्रभाव बुझ्न थप अनुसन्धान आवश्यक रहेको विज्ञहरूको भनाइ छ। ब्रिटिस अन्टार्कटिक सर्भेका समुद्री भूभौतिकशास्त्री रोबर्ट लार्टरका अनुसार हिमनदीको मुनिको वातावरणमा पुगेर प्रत्यक्ष अध्ययन गर्न अत्यन्त कठिन छ।

वैज्ञानिकहरूले सन् २०२८ मा थ्वाइट्स हिमनदीको ग्राउन्डिङ जोनमा उपकरण जडान गरी समुद्री पानीको आवागमनबारे प्रत्यक्ष तथ्याङ्क सङ्कलन गर्ने योजना बनाएका छन्। यसबाट हिमनदीको तल्लो भागमा भइरहेका प्रक्रियाबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

अध्ययनका सहलेखक रिनोटले पृथ्वीलाई तातो बनाउने प्रदूषण तत्काल घटाउनुपर्नेमा जोड दिएका छन्। यद्यपि, विगतमा भइसकेको क्षतिका कारण प्रदूषण घटाए पनि भविष्यमा समुद्री सतह बढ्ने क्रम पूर्ण रूपमा रोक्न नसकिने उनको चेतावनी छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *