`

भूपेन्द्रजंग शाही : तीन दशकको राजनीतिक साधनापछि कांग्रेस महामन्त्रीको दाबेदार

समिन बरुवाल १० मंसिर २०८३ १३:५०
राजनीति

काठमाडौं । राजनीतिमा कोही विरासतमा आउँछन्, कोही संघर्षबाट आफ्नो ठाउँ बनाउँछन्। 

भूपेन्द्रजंग शाहीको राजनीतिक यात्रा भने विद्यालय तहबाटै सुरु भएको हो अर्थात् उनि संघर्षबाट राजिनितिमा आएका हुन्। पढाइसँगै विद्यार्थी संगठनमा जोडिएका उनी नेविसंघको स्कुल इकाई अध्यक्ष हुँदै जिल्ला नेतृत्वमा पुगे। त्यही संगठनात्मक यात्राले उनलाई केन्द्रीय उपाध्यक्षसम्म पुर्‍यायो। त्यसपछि तरुण दलको महामन्त्री बने।

अहिले भने नेपाली कांग्रेसको महामन्त्री बन्ने आकांक्षासहित पार्टीको केन्द्रीय राजनीतिमा आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।

कालिकोटको स्थानीय परिवेशबाट राजनीति सुरु गरेका शाहीका लागि विद्यार्थी संगठन राजनीतिक प्रवेशको माध्यम बनेन, नेतृत्व सिक्ने थलो पनि बन्यो। विद्यालयमा पढ्दादेखि नेविसंघमा सक्रिय उनी स्कुल समिति अध्यक्ष हुँदै कालिकोट जिल्ला अध्यक्ष बने। कर्णालीका विद्यार्थीका समस्या र अधिकार उठाउन गठित कर्णाली विद्यार्थी हित समितिको साझा अध्यक्षको जिम्मेवारीसमेत सम्हाले।

जिल्लामा संगठनको नेतृत्व गर्दै अघि बढेका उनी विस्तारै नेविसंघको केन्द्रीय राजनीतिमा पुगे। तीन पटक केन्द्रीय सदस्य बनेका शाही २०६४ सालमा केन्द्रीय उपाध्यक्ष भए। विद्यार्थीका शैक्षिक अधिकार, संगठन विस्तार र नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने विषयमा काम गरे।

विद्यार्थी राजनीतिबाट बनाएको सम्बन्ध र अनुभवलाई उनले युवा संगठनमा विस्तार गरे। २०७३ सालमा नेपाल तरुण दलको केन्द्रीय महामन्त्री बनेपछि उनको राजनीतिक दायरा फराकिलो भयो।

विद्यार्थी संगठनमा नेतृत्व गरिसकेका शाहीले अब पार्टीका युवा कार्यकर्तालाई संगठित गर्ने जिम्मेवारी पाए। युवा पुस्तालाई कांग्रेसको राजनीतिमा जोड्ने र राष्ट्रिय मुद्दामा उनीहरूको सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राखे।

तर संगठनको नेतृत्व सम्हाल्नु र जनताबाट निर्वाचित हुनु फरक विषय हुन्। शाहीले पनि यो परीक्षा दुई पटक सामना गरे। २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसबाट कालिकोटमा उम्मेदवार बने। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि त्यही क्षेत्रबाट प्रतिस्पर्धा गरे। दुवै पटक संसद् पुग्ने उनको प्रयास सफल भएन।

२०७४ को निर्वाचनमा उनले १६ हजार ४०७ मत प्राप्त गरेका थिए। माओवादी केन्द्रका दुर्गबहादुर रावत २१ हजार ११२ मतसहित निर्वाचित भए। शाही ४ हजार ७०५ मतले पछाडि परे। चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि कालिकोटको राजनीतिमा उनको सक्रियता भने कायम थियो।

२०७८ सालमा कांग्रेसको १४औँ महाधिवेशन हुँदा उनले कर्णाली प्रदेश सभापति पदमा उम्मेदवारी दिए। संसदीय निर्वाचनपछि पार्टीको प्रदेश नेतृत्वमा पुग्ने उनको अर्को प्रयास थियो। तर त्यसमा पनि सफलता मिलेन।

 पार्टीभित्र औपचारिक जिम्मेवारी नहुँदा पनि संगठनको काम गर्न सकिन्छ भन्ने मान्यतासहित उनले देशका विभिन्न भागमा पुगेर अभियान चलाउँदै आएका छन्।

२०८० जेठ ११ गते मेचीदेखि महाकालीसम्म संगठन निर्माण अभियान सुरु गरे। विभिन्न जिल्लामा पुगेर नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने, संगठनको अवस्था बुझ्ने र कार्यकर्तालाई सक्रिय बनाउने उद्देश्य अभियानको थियो।

त्यसपछि २०८० चैत २ गतेदेखि कर्णालीका विकट बस्तीमा संगठन सुदृढीकरण यात्रा चलाए। भौगोलिक कठिनाइका कारण पार्टीको पहुँच कमजोर रहेका क्षेत्रसम्म पुगेर कार्यकर्तासँग संवाद गर्ने उनको प्रयास थियो।

२०८१ कात्तिकमा सुरु भएको मेची-महाकाली युवा संकल्प यात्रा भने उनको राजनीतिक अभियानमध्ये विशेष चर्चामा रह्यो। कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु भएको यात्रा मंसिर ४ गते महेन्द्रनगर पुगेर सम्पन्न भयो। 

यात्रामा भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारी, महँगी नियन्त्रण, उद्यमशीलता र नवप्रवर्तनका विषय उठाइए। सहकारी पीडितको बचत फिर्ता र ठगीमा संलग्नलाई कारबाही गर्नुपर्ने मागसमेत समेटियो।

यो अभियानमार्फत शाहीले कांग्रेसको आन्तरिक संगठनात्मक गतिविधिलाई नागरिकका दैनिक समस्यासँग जोड्ने प्रयास गरे। 

पार्टीका नेता तथा कार्यकर्तासँगै युवा, किसान, व्यवसायी र विभिन्न क्षेत्रका नागरिकसँग संवाद गरिएको थियो। पार्टीभित्र पद र जिम्मेवारीको प्रतिस्पर्धाभन्दा बाहिर रहेर पनि राजनीतिक गतिविधि गर्न सकिन्छ भन्ने उनको सन्देश थियो।

युवाको क्षमता र नेतृत्व विकासलाई पनि उनले आफ्नो राजनीतिक अभियानको हिस्सा बनाएका छन्। २०८१ माघ ११ र १२ गते सुर्खेतमा कर्णाली युथ फेस्टिभल आयोजना गरे। युवाको सिर्जनशीलता, नेतृत्व क्षमता र सम्भावनाबारे छलफल गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रमले कर्णालीका युवालाई एउटै मञ्चमा जोड्ने प्रयास गरेको थियो।

राजनीतिमा मात्रै सीमित नभएको उनको अर्को परिचय साहित्यसँग जोडिन्छ। शाही गीत लेख्छन्, पुस्तक पनि लेख्छन्। ‘नेविसंघ, नेविसंघ, हाम्रो नेविसंघ’ लगायतका गीत रचना गरेका उनका ‘बन्दीगृह’ उपन्याससहित चारवटा पुस्तक प्रकाशित छन्। राजनीतिक व्यस्तताका बीच लेखनलाई निरन्तरता दिनुले उनको सार्वजनिक जीवनको अर्को पक्ष देखाउँछ। भनिन्छ नि साहित्यकार कुशल राजनीतिज्ञ पनि हुन्छ। 

अहिले भने शाहीको राजनीतिक ध्यान कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रित छ। देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको महाधिवेशनमा उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारीसँगै उनले पार्टीभित्रको बेथितिमाथि पनि असन्तुष्टि जनाएका छन्। कांग्रेसमा गुटबन्दी, भागबन्डा, व्यक्तिगत स्वार्थ, अवसरवाद र चाकडीवाद अन्त्य हुनुपर्ने उनको भनाइ छ। कांग्रेस सत्ता प्राप्तिको जोडघटाउमा मात्र सीमित नभई जनताका मुद्दामा केन्द्रित हुनुपर्ने उनको धारणा छ। पार्टी विधि र प्रणालीअनुसार चल्नुपर्ने तथा सबै कार्यकर्ताले समान अवसर पाउनुपर्नेमा उनले जोड दिएका छन्।

अत: विद्यार्थी संगठनको स्कुल इकाईबाट सुरु भएको यात्रा, दुई पटकको संसदीय प्रतिस्पर्धा, प्रदेश सभापतिको दौड र विभिन्न संगठनात्मक अभियान पार गरेका शाही अहिले नयाँ राजनीतिक छलाङको तयारीमा छन्। 

कालिकोटबाट सुरु भएको उनको राजनीतिक यात्राले कांग्रेसको केन्द्रीय नेतृत्वमा स्थान बनाउँछ कि बनाउँदैन, त्यसको जवाफ १५औँ महाधिवेशनले दिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *