मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा किन दिनुपर्दैन ? (वार्ता)
एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा दिन लगाएर नेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेको प्रसङ्गले प्रदेशको राजनीति तरंगित छ । राजीनामाबारे कोशीका एमाले सांसद र नेताहरू प्रष्ट रूपमा दुई खेमामा देखिएका छन् । तर, सत्ता साझेदार नेकपा भने राजनीतिक स्थिरताका लागि मुख्यमन्त्री कार्कीले राजीनामा दिन नपर्ने र उनको सरकार चुनावसम्मै जानुपर्ने पक्षमा छ । सोही पार्टीको कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो ‘मौसम’सँग गरिएको संवादको सम्पादित अंश प्रस्तुत छ :
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामाबारे सत्ता साझेदार दल नेकपाको संसदीय दलका नेता तपाईं लगायतसँग छलफल गर्नु भएछ, छलफलमा उहाँले के भन्नुभयो ?
मुख्यमन्त्रीसँग खासगरी दुई/तीनवटा विषयमा छलफल गर्न हाम्रो नेपाली कम्युनिस्ट पार्टीको टिम गएका थियौँ । खासगरेर अहिलेसम्मको सरकारको कामको समीक्षा, तत्काल सरकारको कामलाई प्रभावकारी बनाउनका निम्ति आगामी दिनमा के के गर्ने ? अर्को कुरा, बजारमा मुख्यमन्त्रीको राजीनामाको पनि कुरा आइरहेको हुँदा त्यो विषयमा पनि हामीले बुझ्न खोजेका थियौँ । त्यो बारेमा ‘मलाई पार्टी अध्यक्ष कमरेड (केपी शर्मा ओली)ले आधिकारिक रूपमा राजीनामा दिनू भन्नुभएको छैन र म राजीनामा दिने र अस्थिरता सिर्जना गर्ने मनस्थितिमा छैन’ भन्नुभयो ।
उसो भए राजीनामाको हल्ला कसले फिँजाएको भन्नुभयो त उहाँले ?
उहाँको आशय चाहिँ यहाँको पार्टीका नेताहरू र सांसदहरू गएर अध्यक्ष कमरेड केपी ओलीलाई ‘सरकार बदल्नुपर्छ, अहिले पूर्वमा जुन किसिमको राजनीतिक माहोल छ, जनजाति नेतालाई सरकार प्रमुख (मुख्यमन्त्री) बनाउनुपर्छ, अनि मात्रै थेग्न सकिन्छ भन्ने लगायतका कुराहरू गर्नुभएको रहेछ ।
जनजाति नेतालाई मुख्यमन्त्री बनाउनुपर्छ भनेको चाहिँ तिलकुमार मेन्याङ्बोलाई हो ?
सायद त्यही जस्तो लाग्छ । यसअघि पनि उहाँलाई नै मुख्यमन्त्रीमा अगाडि सारिएको हुनाले त्यही कुरा हुन सक्छ ।
जसरी एमालेका आदिवासी जनजातिहरू खासगरी श्रम संस्कृति पार्टीतिर गइरहेका छन्, उनीहरूलाई रोक्नका लागि आदिवासी नेतृत्वलाई सरकारको मुख्यमन्त्री बनाउनुपर्छ भन्ने आशयबाट कार्कीलाई हटाउनुपर्छ भनिएको हो त ?
उहाँहरूको बुझाइ के छ ? मलाई जानकारी छैन । तर, व्यक्ति भन्दा पनि एजेन्डाको कुरा मुख्य हुन्छ । एमाले सही एजेण्डामा आउनुपर्यो । आदिवासी जनजातिहरू प्रदेश नामाङ्कनमा यत्रो असन्तुष्ट भइसकेपछि नाम संशोधन गर्न तयार हुनुपर्यो । आदिवासी जनजातिको समावेशी र समानुपातिकजस्ता मुद्दामा सकारात्मक हुनुपर्यो । माग सम्बोधन गर्न तयार हुनुपर्यो । त्यसपछि यहाँको धर्म-संस्कृतिको कुरामा सकारात्मक हुनुपर्यो । पहिचानसँग जोडिएको धेरै ठूलो विषय भाषाको विषयमा त एमाले सहमत भयो र भाषा विधेयक पारित भयो । अहिले कार्यान्वयन प्रक्रियामा छ र आदिवासी जनजातिको पहिचानसहितको मुद्दा र प्रदेशको पुनःनामाङ्कनमा एमाले सकारात्मक हुनुपर्यो । तर, केवल अनुहार देखाएर अनुहारको बलमा चुनाव जित्न सकिन्छ र पार्टीमा देखिएको पलायन रोक्न सकिन्छ भन्ने सोचाइ नै गलत हो ।
तपाईंले राजीनामा दिनुहोस् भन्नुभयो कि नदिनुहोस् भन्नुभयो ?
नेपाली कम्युनिस्ट पार्टी प्रदेशमा राजनीतिक स्थायित्व दिनको निम्ति र सरकारमार्फत् जनताको पक्षमा प्रभावकारी काम गर्नको निम्ति सरकारमा सहभागी भएको हो । त्यसकारणले गर्दा राजनीतिक अस्थिरताको पक्षमा छैनौँ । पटकपटक मुख्यमन्त्री बदलेर जुन प्रदेशले बदनामी कमाइरहेको छ, त्यो बदनामी बोक्न हामी तयार छैनौँ । यसमा प्रष्ट कुरा के छ भने हिक्मत कार्कीकै निरन्तरता रहोस्, उहाँले राजीनामा दिइरहन जरुरत छैन र सरकारलाई प्रभावकारी बनाएर स्थायित्व दिएर लैजाउ । भर्खरै सरकारले कामको लय समात्न खोज्दैछ, गति लिन खोज्दैछ, यस्तोमा मुख्यमन्त्री परिवर्तनले अस्थिरता हुन्छ र परिणाम आउँदैन । अनुहार बदलेर न जनताका समस्याहरू सम्बोधन हुन्छ न अहिलेको समस्याको सम्बोधन हुन्छ । त्यसकारणले गर्दा हामी स्थायित्वको पक्षमा छौँ र अहिलेको मुख्यमन्त्रीकै निरन्तरताको पक्षमा छौँ ।
मुख्यमन्त्री कार्कीलाई पदबाट राजीनामा दिन पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिनुभएको भन्ने छ, अस्ति पनि पदबाट राजीनामा दिन उहाँमाथि दबाब थियो । तर सत्ता साझेदार पार्टी नेकपाले राजीनामा नदिनू भनेर एमालेमा भाँडभैलो मच्चाउन खोजेको त होइन ?
एमालेले मुख्यमन्त्रीको रूपमा कसलाई अगाडि सार्छ ? हामी (नेकपा)सँग सत्ता सहकार्यको विषयमा उहाँहरूले हिक्मत कार्कीलाई नै निरन्तरता दिनुभयो । यसमा हाम्रो प्रष्ट कुरा के छ भने कोशी प्रदेशको अहिलेको कार्की सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको हो । त्यसकारणले यो सरकार दुर्घटना नजिक हुन्छ । प्रदेश सभा विघटनको नजिक रहन्छ । उसै त प्रदेशमा स्थायित्व दिन नसकेको आरोप र गुनासो हामीमाथि छ । त्यसकारण हामी बदनामीको भारी बोक्ने र अस्थिरताको भारी बोक्ने पक्षमा छैनौँ । हामी स्थायित्व चाहन्छौँ । हामी परिणाम चाहन्छौँ र सरकारबाट जनतालाई राम्रो परिणाम दिन सकियोस् भन्ने चाहना छ । त्यसका निम्ति हामीले मुख्यमन्त्रीमा कार्कीकै निरन्तरता भनेर भनेका हौँ । यसो भन्दा एमालेमा भाँडभैलो हुने हुँदैन । हिक्मतजी त एमालेको केन्द्रीय सचिव हुनुहुन्छ । त्यसमा हाम्रो के संलग्नता रह्यो र ?
उसो भए हिक्मत कार्कीकै सरकार चुनावसम्मै जानुपर्छ भन्ने कुरा हो ?
अँ । हाम्रो केही छैन । हामीले दाबी गरेका पनि छैनौँ । हामी राजनीतिक स्थायित्व चाहन्छौँ । परिणाम चाहन्छौँ । एक–डेढ वर्षमा पनि राम्रो काम गर्न सकियोस् भन्न् हाम्रो चाहना छ । त्यो चाहिँ सरकारको स्थायित्व भयो भने मात्रै सम्भव छ । त्यसो हुनाले यो सरकार निर्वाचनसम्म जाओस् र निर्वाध रूपमा सरकारले काम गर्ने वातावरण होस् । होइन भने सरकारको स्थायित्व नहुने र बदनामीको भारी बोक्न नेकपा तयार छैन ।
अनि, हिक्ममत कार्कीकै सरकार कायम रहँदा सरकारले पुनःनामाङ्कनका लागि सदनमा रहेका दलहरूबीच समन्वय गर्नेगरी कदम अगाडि बढाउँछ कि बढाउँदैन ?
शीर्ष नेताहरूको सहमति त चाहिन्छ र शीर्ष नेताहरूको सहमति हुने, सरोकारवालाहरू विभिन्न जातीय संस्थाहरू र दलहरूको सहमति जुट्ने अवस्था आए प्रदेशको पुनःनामाङ्कन गर्न कुनै समस्या छैन । त्यसका निम्ति छलफल गर्ने नै भनेर प्रदेश सभाबाट पुनःनामाङ्कनको प्रस्ताव हामीले पास गरेका हौँ।
प्रदेश सभाको दुई तिहाई बहुमतबाट टुंग्याएको नाम कोशी छ, भोलि पुनःनामाङ्कन गर्नुपर्दा तपाईंहरूले पश्चताप महसुस गर्नुहुन्छ कि गर्नुहुँदैन ?
पहिलो कार्यकालभरी प्रदेशको नाम ल्याउन सकेनौँ । दोस्रो कार्यकालको पनि प्रारम्भमा प्रदेशले नाम पाउन सकेन । लामो समयसम्म प्रदेशको नामाङ्कन नहुनु भन्दा होस् भन्ने हिसाबले प्रदेशको नामाङ्कन भएको हो । अब प्रदेशको नाम राख्न पनि हामीले अग्रसरता लियौँ र प्रदेशको नामाङ्कन भयो । प्रदेशको नामाङ्कनप्रति बहुसंख्यक जनताले असहमति जनाइसकेपछि जनताको चाहनाअनुसार प्रदेशको पुनःनामाङ्कनको पक्षमा पनि हामी नै उभियौँ । हामीले गर्ने राजनीति र एजेण्डा त प्रदेशवासीको चाहनाअनुसार न हो । त्यसकारण बहुसंख्यक जनताले प्रदेशको नाम पहिचानसहितको हुनुपर्छ भन्ने कोणबाट आवाज उठाइसकेपछि त्यसलाई सम्बोधन गरौँ भनेका हौँ । त्यसलाई किन पश्चतापको कुरा र ? हामीले प्रदेशको नाम थिएन र नाम दियौँ । बहुसंख्यक जनताले यसमा असन्तुष्टि जाहेर गर्नुभयो । आन्दोलन गर्नुभयो । त्यसो भएपछि यसलाई सम्बोधन गरौँ भन्ने ठाउँमा हामी सबै पुग्नु त जनताको आवाज राज्यले/सरकारले सुन्नु त सकारात्मक पो मान्नुपर्छ त।
