कांग्रेससँग बालेन सरकार डरायाे : कांग्रेस सांसद बुढा (भिडियाे)
काठमाडौं । नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा देउवा पक्षलाई आधिकारिकता दिनुपर्ने भन्दै चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएका छन् ।
उनले रास्वपा सांसदहरूको अडियो सार्वजनिक हुनुले कांग्रेस सभापति गगनकुमार थापासँग रास्वपा र सरकार डराएको पुष्टि भएको दाबी गरेका छन् ।
चीन भ्रमणमा गएका रास्वपा सांसदहरूले त्यहाँको प्रविधि, विकास, सुशासन र समृद्धिबारे सिकेर संसद्मा अनुभव सुनाउने अपेक्षा गरेको भए पनि उनीहरू राजनीतिक विवादमा केन्द्रित भएको बुढाको भनाइ छ ।
बुढाले कांग्रेस सभापति थापामाथि लगाइएको १८ करोड रुपैयाँको आरोपलाई पनि योजनाबद्ध प्रचारको संज्ञा दिएका छन् ।
चीनमा कांग्रेसको आधिकारिकता विवादबारे रास्वपा सांसदहरूले गरेको टिप्पणी र नेपालमा थापामाथि लगाइएको १८ करोडको आरोप एकअर्कासँग जोडिएको उनको दाबी छ ।
‘नेपाली कांग्रेससँग र खासगरी सभापति गगनकुमार थापासँग यो सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी निकै डराइरहेको अवस्था प्रस्ट हुन्छ,’ उनले भने ।
थापाले कांग्रेसको आधिकारिकता प्राप्त गर्न न्यायाधीशलाई तीन करोड रुपैयाँ दिएको भन्ने आरोपबारे आफूले ठोकुवा गरेर खण्डन गर्न सक्ने बुढाले बताए ।
कांग्रेसले आधिकारिकताका लागि तीन करोड होइन, तीन रुपैयाँ पनि खर्च नगरेको उनको दाबी छ ।
कांग्रेस विचारमा विश्वास गर्ने पार्टी भएकाले पैसाको बलमा आधिकारिकता लिन खोजेको भन्ने आरोप निराधार रहेको उनले बताए ।
बुढाले कांग्रेसको आधिकारिकता विवाद न्यायालयले विधि र प्रक्रियाअनुसार टुंग्याउने विश्वास पनि व्यक्त गरे । सर्वोच्च अदालतले यसअघि गरेको निर्णय उल्ट्याउने सम्भावना आफूले नदेखेको उनको भनाइ छ ।
कांग्रेसभित्रको विवादले आगामी स्थानीय तह निर्वाचनमा असर पार्न सक्ने स्वीकार गर्दै उनले पार्टी एकता अहिलेको आवश्यकता भएको बताए । सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवालगायतका नेताहरू मिलेर निर्वाचनमा जानुपर्ने उनको धारणा छ ।
उनले कांग्रेस कमजोर प्रतिपक्ष नभई जिम्मेवार प्रतिपक्ष भएको दाबी गरे । यद्यपि, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउन नसकेको र जनजीविकाका सवालमा पर्याप्त दबाब सिर्जना गर्न नसकेको भन्ने आलोचनाबारे भने कांग्रेसले आफ्नो भूमिका अझ प्रभावकारी बनाउनुपर्ने संकेत गरे ।
‘प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउने मुख्य कार्यभार प्रतिपक्षी दलको हो,’ उनले भने ।
बुढाले संसद् नबोलाएर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै सरकारको आलोचना गरे । महँगी, ग्यास अभाव, भोटेकोशी बाढीपीडितको अवस्था, जाजरकोट भूकम्पपीडितको पुनर्निर्माण र प्रेस स्वतन्त्रतामाथि देखिएका चुनौती संसद्मा उठाउनुपर्ने विषय भएको उनले बताए ।
सरकारका गतिविधिले कर्मचारीतन्त्र, सुरक्षा निकाय र सञ्चार क्षेत्रसमेत त्रसित हुने अवस्था बनेको उनको आरोप छ ।
कांग्रेसले सडक र सदन दुवै मोर्चाबाट सरकारलाई जवाफदेही बनाउनुपर्ने भए पनि आफूहरूले उठाएका विषयमा सरकारले सुनुवाइ नगरेको उनको भनाइ छ ।
बुढाले बालेन नेतृत्वको सरकारले लिएको बाटो विधि र कानुनअनुसार नभएको टिप्पणी गर्दै सरकारलाई लोकतान्त्रिक संस्कार अपनाउन आग्रह गरे । सरकार सफल हुँदा देश सफल हुने भन्दै उनले प्रधानमन्त्रीको भारत भ्रमण सफल होस् भन्ने शुभकामना पनि व्यक्त गरे ।
