`

दानबहादुर कार्की अदालतमा, रिटमाथि आज सुनुवाइ हुँदै

Nepal One HD २ मंसिर २०८३ ११:४३
प्रशासन

काठमाडौं । नेपाल प्रहरीको नेतृत्वबाट हटाउने सरकारको निर्णयलाई चुनौती दिँदै पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ। बुधबारका लागि तोकिएको पेसी न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ।

गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो। सरकारले उनलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत गरेको थियो। त्यससँगै डा. मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गरिएको थियो।

आफूलाई पदबाट हटाउने निर्णय कानुनसम्मत नभएको भन्दै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतको ढोका ढकढक्याएका थिए। उनले सरकारको निर्णय खारेज गरी पूर्ववत् रूपमा प्रहरी महानिरीक्षकको जिम्मेवारीमा फर्काउन अदालतसँग माग गरेका छन्।

कार्कीको रिटमा नयाँ आईजीपी डा. केसीको नियुक्ति र कार्यसम्पादनसम्बन्धी विषयसमेत उठाइएको छ। मुद्दाको अन्तिम फैसला नआएसम्म केसीलाई आईजीपीको जिम्मेवारीमा रहेर काम गर्न नदिन अन्तरिम आदेश जारी हुनुपर्ने उनको माग छ।

कार्कीले आफूलाई पदबाट हटाउने क्रममा कानुनी प्रक्रिया पालना नगरिएको जिकिर गरेका छन्। निर्णय गर्नुअघि आफ्नो धारणा राख्ने अवसर नदिइएको र स्पष्टीकरणसमेत नसोधिएको उनको दाबी छ। यसले प्राकृतिक न्यायको मान्यतामाथि प्रश्न उठाएको रिटमा उल्लेख छ।
सरकारको निर्णयसँगै भएका नियुक्ति तथा त्यसबाट सिर्जित अन्य प्रशासनिक कामकारबाही पनि कानुनविपरीत रहेको दाबी गर्दै कार्कीले ती सबै बदर गर्न माग गरेका छन्।

यसअघि कात्तिक ३० गते सुनुवाइका लागि पेसी तोकिए पनि सार्वजनिक बिदाका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन। त्यसपछि मुद्दा बुधबारका लागि पुनः पेसीमा चढाइएको हो।

आजको सुनुवाइमा सर्वोच्च अदालतले कार्कीको अन्तरिम आदेशसम्बन्धी मागमा प्रारम्भिक निर्णय लिन सक्नेछ। आवश्यक ठानेमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षको धारणा माग्न पनि सक्नेछ।

अदालतको प्रारम्भिक आदेशले सरकारको निर्णयविरुद्ध कार्कीले उठाएको कानुनी प्रश्न र नयाँ प्रहरी नेतृत्वको निरन्तरतासम्बन्धी विवादलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *