`

अबदेखि बसाइँ सरेकै ठाउँबाट नागरिकताको प्रतिलिपि लिन पाइने

Nepal One HD ३० कार्तिक २०८३ १५:४९
प्रशासन

काठमाडौं । बसोबासको स्थान परिवर्तन गरेका नेपाली नागरिकले नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन अब पहिलेको जिल्लामै धाउनुपर्ने झन्झट कम हुने भएको छ। सरकारले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ मार्फत बसाइँसराइ, नागरिकता हराउने तथा नष्ट हुनेलगायत अवस्थालाई समेटेर प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया निर्धारण गरेको छ।

नियमावलीको नियम १६(ख) मा नेपाली नागरिकता र गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जारी गर्न सकिने अवस्था तथा त्यसका लागि पूरा गर्नुपर्ने प्रक्रियाबारे व्यवस्था गरिएको छ।

नयाँ प्रावधानअनुसार आगलागी वा पानीका कारण नागरिकता नष्ट भएमा, प्रमाणपत्र च्यातिएर प्रयोग गर्न नसकिने भएमा, हराएमा, बसाइँसराइ गरेमा वा नयाँ ढाँचाको प्रमाणपत्र आवश्यक परेमा प्रतिलिपिका लागि आवेदन दिन सकिनेछ।

यसका लागि सम्बन्धित व्यक्तिले आवश्यक कागजातसहित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पेस गर्नुपर्नेछ।

नागरिकता च्यातिएर काम नलाग्ने भएको, बसाइँसराइ गरेको वा नयाँ ढाँचामा परिवर्तन गर्नुपर्ने अवस्थामा सक्कल प्रमाणपत्र पेस गर्नुपर्ने नियमावलीमा उल्लेख छ। तर आगलागी वा पानीले नष्ट भएको तथा हराएको अवस्थामा भने सक्कल प्रमाणपत्र उपलब्ध गराउनुपर्ने छैन।

त्यस्तो अवस्थामा पुरानो प्रतिलिपि उपलब्ध भए सोही कागजात र त्योसमेत नभए राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी पुर्जामध्ये कुनै एउटा प्रमाण पेस गर्न सकिने व्यवस्था छ।

बसाइँसराइ गरेर अर्को स्थानमा पुगेका व्यक्तिले भने बसाइँसराइ प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस पेस गर्नुपर्नेछ। यसरी कागजात पूरा गरेर नयाँ बसोबास भएको क्षेत्रबाट प्रतिलिपि प्राप्त गर्ने बाटो खुल्नेछ।

सरकारले डिजिटल अभिलेखमा आधारित सेवाको व्यवस्थासमेत गरेको छ। नियमावलीको उपनियम (३) अनुसार नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको व्यक्तिगत विवरण र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको जैविक विवरण आपसमा रुजु भएमा स्थानीय तहको सिफारिस लिनुपर्ने छैन।

यस प्रावधानले सरकारी प्रणालीमा विवरण अद्यावधिक र प्रमाणित भएका नागरिकलाई थप कागजी प्रक्रिया तथा प्रशासनिक झन्झटबाट बचाउने अपेक्षा गरिएको छ।

गैरआवासीय नेपाली नागरिकताको प्रतिलिपि लिन चाहनेका लागि पनि छुट्टै कागजात तोकिएको छ। नागरिकता ऐनको दफा ७(क) अन्तर्गत जारी प्रमाणपत्रको प्रतिलिपि माग गर्दा सक्कल प्रमाणपत्र वा त्यो उपलब्ध नभए प्रतिलिपि, हाल नागरिक रहेको मुलुकको नागरिकता वा राहदानी र सम्बन्धित स्थानीय तहको सिफारिस बुझाउनुपर्नेछ।

निवेदनको हकमा नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्न अनुसूची-१६ र गैरआवासीय नेपाली नागरिकताको प्रतिलिपिका लागि अनुसूची-१७ मा तोकिएको ढाँचा प्रयोग गर्नुपर्नेछ।

नयाँ व्यवस्थाले विशेषगरी बसाइँसराइ गरेका, नागरिकता हराएका वा प्राकृतिक तथा अन्य कारणले प्रमाणपत्र नष्ट भएका नागरिकलाई सेवा प्राप्त गर्न सहज बनाउने लक्ष्य राखेको छ। साथै डिजिटल अभिलेखको प्रयोगले नागरिकता प्रशासनलाई थप व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *