जलवायु सम्मेलनमा सहभागी भएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
अर्थमन्त्री वाग्लेले सम्मेलनमा जलवायु वित्तसँग सम्बन्धित करिब एक दर्जन उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाएका थिए । उनले ४४ वटा अतिकम विकसित राष्ट्र (एलडीसी) का तर्फबाट आयोजित जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए ।
त्यसक्रममा नेपाललाई सात वर्षअघि स्थापना भएको ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’ मा नयाँ सदस्यका रूपमा समावेश गराएका थिए । साथै, जलवायु परिवर्तनबाट उत्पन्न जोखिम सामना गर्न आवश्यक वित्तीय स्रोत परिचालन गर्ने उद्देश्यसहित ‘उत्थानशीलताका लागि वित्त’ सम्बन्धी नीतिगत अवधारणा पनि छलफलका लागि प्रस्तुत गरेका थिए ।
भ्रमणका क्रममा वाग्लेले बार्बेडसकी प्रधानमन्त्री मिया मोट्लीसँग भेटवार्ता गरेका थिए । जलवायुजन्य विपद्पछि ऋणको भार कम गर्नुपर्ने र प्रभावित मुलुकलाई आर्थिक राहत उपलब्ध गराउनुपर्ने विषयमा अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्दै आएकी मोट्लीसँगको छलफलमा जलवायु वित्तका विषयमा सहकार्यबारे कुराकानी भएको थियो ।
त्यस्तै, विश्वका प्रमुख अर्थतन्त्रमध्येका देशहरूको समूह जी–२० को आगामी अध्यक्षता गर्ने तयारीमा रहेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग पनि उनले भेट गरेका थिए । उक्त भेटमा जलवायु संकटबाट प्रभावित मुलुकलाई सहयोग पुर्याउने विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालले सम्मेलनमा उठाएका जलवायु वित्त र अनुकूलनका मुद्दालाई अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले अर्थमन्त्रीले पाँच प्रभावशाली जलवायु दूतसँग पनि छलफल गरेका थिए । छलफलमा बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र संयुक्त राष्ट्रसंघका महासचिवका जलवायु दूत सेल्विन हार्ट सहभागी थिए ।
यसैगरी, हरित जलवायु कोषका उच्च अधिकारीहरूसँग नेपालको आगामी जलवायु कार्यक्रम र वित्तीय सहयोगका सम्भावनाबारे छलफल भएको थियो । जेनेभास्थित विश्व मौसम विज्ञान संगठनअन्तर्गत नेपालले समेत लाभ लिएको जलवायु मापनसम्बन्धी कोषको कार्यक्रममा पनि वाग्लेले सम्बोधन गरेका थिए ।
सम्मेलनका क्रममा उनले जलवायु तथा अर्थशास्त्रका अन्तर्राष्ट्रिय विज्ञ प्राध्यापक योहान रक्स्त्रम र प्राध्यापक निकोलस स्टर्नसँग समेत भेटघाट गरेका थिए । जलवायु परिवर्तनको आर्थिक प्रभाव, वित्तीय स्रोतको परिचालन र जोखिम न्यूनीकरणका विषयमा उनीहरूसँग विचार आदानप्रदान भएको थियो ।
अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द न्युयोर्क टाइम्स लाई अन्तर्वार्तासमेत दिएका थिए । त्यस्तै, सन् २०२६ का लागि टाइम पत्रिकाले छनोट गरेका जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सम्मानमा आयोजित कार्यक्रममा पनि उनी सहभागी भएका थिए ।
