`

बसाइँसराइँले रित्तिँदै छ गाउँ, विदेशबाट फर्केर किवी फलाइरहेछन् मातृका (तस्वीरहरू)

Nepal One HD २७ कार्तिक २०८३ १४:५५
प्रमुख खबर

काठमाडाैं । बसाइँसराइँका कारण गाउँबस्ती सुनसान बन्दै गएका छन् । वरपरका टोल र छिमेकीसमेत गाउँ छाडेर सहर झर्न थालेका छन् । तर, बागलुङको जैमिनी नगरपालिका-२ दमेकका मातृकाप्रसाद शर्मा भने गाउँमै बसेर कृषि उद्यममा रमाइरहेका छन् । दुई वर्ष साउदी अरबमा बिताएका उनले गाउँका खाली जग्गामा किवी खेती गर्दै आएका छन् ।

सुरुमा उनले सामूहिक रूपमा अलैँची खेती गरेका थिए । तर, अलैँची उत्पादन सोचेअनुसार हुन सकेन । त्यसपछि उनले किवी खेती सुरु गरे । ‘गाउँघरमा धेरै सम्भावना छ । म पनि दुई वर्ष विदेशमा गएर दुःख गरेँ,’ उनले सुनाए, ‘अहिले गाउँमा आएर केही गरौँ भनेर लागेको छु । सुरुमा अलैँची खेती गर्ने योजना बनाएका थियौँ, तर यहाँको हावापानीसँग मेल खान सकेन ।’

उनको दैनिकी अहिले किवी खेतीको रेखदेखमै बित्ने गरेको छ । दमेक गाउँको बीच भागमा रहेको उनको फार्ममा अहिले लटरम्म किवी फलेका छन् । सुरुमा पाँच रोपनी जग्गाबाट किवी खेती थालेका शर्माले अहिले विस्तार गरेर २५ रोपनीमा पुर्‍याएका छन् ।

‘किवी राम्रो हुँदै गएको छ । बजारमा उचित मूल्य पाउन सकियो भने यसबाट परिवार चलाउन समस्या हुने छैन,’ उनले भने ।

त्यस्तै, किवी खेती सुरु गर्दा उनले बिरुवा, टनेल र फलामका पोल खरिद गर्न पाँच लाख रुपैयाँ लगानी गरेका थिए । अहिले खेती विस्तारसँगै उनको कुल लगानी करिब २० लाख रुपैयाँ पुगेको छ । शर्माले गत वर्ष चार लाख रुपैयाँ बराबरको किवी बिक्री गरेका थिए । यस वर्ष उत्पादन राम्रो भएकाले आम्दानी पनि बढ्ने उनको अपेक्षा छ ।

किवी खेतीका लागि शर्मालाई गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ अनुदानसमेत दिएको छ । उत्पादन राम्रो भए पनि उचित मूल्य पाउन नसकेको उनको गुनासो छ । उनले किवी प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री गर्न बाध्य छन् । जबकि बजारमा किवीको मूल्य प्रतिकिलो चारदेखि पाँच सय रुपैयाँसम्म पर्ने गरेको छ ।

किवी खेतीसँगै शर्माले पछिल्लो समय गाउँकै केही जग्गामा सुन्तलासमेत लगाएका छन् । साथै, युवाहरूले गाउँमै लगानी गरेर उद्यम गर्न सके विदेशमा गर्ने जत्तिकै कमाइ स्वदेशमै गर्न सकिने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *