वडाअध्यक्ष बन्लान् र रवि!
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थानीय तह निर्वाचनका लागि वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवार बन्न इच्छुकको संख्या न्यून भएपछि असन्तुष्टि जनाएका छन्।
शुक्रबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले पार्टीका अधिकांश आकांक्षीको ध्यान गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुख पदमा मात्रै केन्द्रित भएको बताए। तल्लो तहका पदमा उम्मेदवारी दिन कार्यकर्ताले रुचि नदेखाएको उनको भनाइ थियो।
‘हाम्रो समस्या छ यहाँ । वडाध्यक्ष उठ्न त म आफैँले राजीनामा दिएर उठ्नुपर्ने जस्तो छ,’ उनले व्यंग्य गर्दै भने, ‘हाम्रा साथीहरूले वडाध्यक्ष हेर्दैनन् अहिले । एकैचोटि पालिका हेर्ने हो । तल हेर्दैनन् हाम्रा साथीहरूले । यहाँ वडाध्यक्ष हुन मन छैन कसैलाई।’
वडाध्यक्ष पदमा उम्मेदवारी दिन कोही तयार नभए आफू नै राजीनामा दिएर चुनाव लड्न आउने उनले बताए। पार्टीका कार्यकर्ताले तल्लो तहका पदलाई बेवास्ता गरेको भन्दै उनले अवसरको राजनीति नगर्नसमेत आग्रह गरे।
रास्वपाले गाउँपालिकाका विभिन्न पदमा उम्मेदवार बन्न इच्छुकका लागि भदौ १ गतेदेखि र नगरपालिकाका लागि असोज २८ गतेदेखि आवेदन खुलाएको थियो। तर, अहिलेसम्म प्राप्त आवेदनमा गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुख पदका आकांक्षी बढी देखिएका छन्। वडाध्यक्ष तथा वडा सदस्य पदमा भने अपेक्षाअनुसार आवेदन परेको छैन।
लामिछानेले कांग्रेस र कम्युनिस्ट पार्टीका पुराना नेता–कार्यकर्ताबाट राजनीतिक निष्ठाको पाठ सिक्न पनि आग्रह गरे। पञ्चायतकालका ३० वर्षमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले पद र अवसरको अपेक्षाभन्दा राजनीतिक प्रतिबद्धतालाई प्राथमिकता दिएको उदाहरण दिँदै उनले कार्यकर्तालाई त्यसबाट शिक्षा लिन सुझाव दिए।
