सरकार स्वेच्छाचारी बाटोमा उन्मुख भयो, हद नाघ्याे : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार स्वेच्छाचारी बाटोमा उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सरकारनिकट एउटा सानो समूहले आफूलाई नै राज्य ठान्न थालेको र मनलाग्दी गर्न थालेको उनको आरोप छ ।
सरकारले नागरिकको अधिकार र प्रेस स्वतन्त्रतालाई कुन दृष्टिकोणबाट बुझेको छ भन्ने प्रश्न गर्दै थापाले सञ्चारमाध्यममा प्रहरी परिचालन र पत्रकार पक्राउ गर्ने घटनाप्रति आपत्ति जनाएका छन् ।
‘मिडिया हाउसमाथि प्रहरी त्यसै गएका होइनन् । आदेश लिएरै गएका हुन् भनेमा हामी ढुक्क छौँ,’ उनले भने ।
थापाले सामाजिक सञ्जालमा उठ्ने आलोचना र जनमतलाई समेत सरकारले कसरी लिइरहेको छ भन्ने प्रश्न उठाए । केही व्यक्तिलाई पक्राउ गर्ने र फेरि छाड्ने घटनालाई उनले विषयान्तर गर्ने प्रवृत्तिका रूपमा व्याख्या गरे ।
‘ल, ८-१० जना केटाहरूलाई उठाइदेऊ । उठाए । लाइक घट्यो । अनि भनियो, छाड्दे । अब चाहियो नयाँ विषय । यो विषय विषयान्तर गरियो,’ प्रधानमन्त्री बालेनलाई लक्षित गर्दै उनले भने ।
सरकारनिकट सीमित व्यक्तिहरूले आफूहरू नै राज्य भएको ठान्ने प्रवृत्ति देखिएको थापाको आरोप छ । राज्यका निकायलाई आफ्नो आदेश पालना गर्ने संस्थाका रूपमा बुझ्नु स्वेच्छाचारिता भएको उनले बताए ।
‘सानो समूहलाई हामी नै राज्य हौँ भन्ने लागेको छ । हामीले हुकुम दिने हो भन्ने लागेको छ । अड्डा अदालत हाम्रै आदेश पालना गर्ने निकाय हो भन्ने लागेको छ,’ थापाले भने ।
सरकारको यस्तो कार्यशैलीले लोकतान्त्रिक शासन प्रणाली र नागरिक अधिकारमाथि प्रश्न उठाएको उनको भनाइ छ । ‘यो स्वेच्छाचारिता हो । यसले हद नाघ्यो,’ उनले भने ।
प्रेस स्वतन्त्रता, नागरिक अधिकार र राज्यका संस्थाहरूको स्वतन्त्रतामाथि सरकारको दृष्टिकोण स्पष्ट हुनुपर्ने थापाको अभिव्यक्तिले देखाएको छ ।
