`

एनपीएलको तेस्रो संस्करण पाँच बजे सुरु हुँदै, क्रिकेटसँगै अर्थतन्त्र प्रवर्द्धनको पनि अपेक्षा

शुभेच्छा खड्का १० कार्तिक २०८३ १२:५०
खेलकुद

काठमाडौं। नेपाली क्रिकेटको व्यावसायिक विकासमा महत्त्वपूर्ण मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबार साँझ ५ बजेदेखि सुरु हुँदै छ। एनपीएलको यस संस्करणको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले गर्नेछन्।

प्रतियोगिताको पहिलो खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सको सामना गर्दै छ। पहिलो खेलबाटै बलियो सुरुवात गर्ने योजनामा रहेका यी दुवै टोलीबीचको प्रतिस्पर्धाले एनपीएलको उद्घाटन खेललाई रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ। दुवै टोलीमा चर्चित विदेशी खेलाडीको उपस्थिति, रात्रिकालीन खेल र पहिलोपटक नेपाली क्रिकेटमा डिआरएसको प्रयोगले खेललाई थप विशेष बनाउनेछ।

अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। सबै खेलमा आईसीसीको मान्यता, डिसिजन रिभ्यु सिस्टम (डिआरएस), अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीको सहभागिता र सुस्ताएको नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने सम्भावनाका कारण प्रतियोगिता देशभर चर्चाको केन्द्रमा छ।

तेस्रो संस्करणको एनपीएल चर्चामा रहनुको प्रमुख कारण अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित हस्तीहरूको उपस्थिति हो। यसअघि फाफ डु प्लेसिस, मार्टिन गप्टिल, शिखर धवन, रवि बोपारा र जिम्मी निशमजस्ता विश्वप्रसिद्ध क्रिकेटरहरूले एनपीएलमा सहभागिता जनाइसकेका छन्। तेस्रो संस्करणसम्म आइपुग्दा यी नामसँगै अन्य चर्चित खेलाडीहरू पनि जोडिने क्रम जारी छ। यसपटक आन्द्रे रसेल, शेरफेन रदरफोर्ड, डेभिड मिलर, इफ्तिखार अहमद, हसन अली र शाकिब अल हसनलगायत विश्व क्रिकेटका हस्तीहरू एनपीएलसँग जोडिँदै छन्। यसले एनपीएल मात्र नभई समग्र नेपाली क्रिकेटको गरिमा उच्च बनाउने अपेक्षा गरिएको छ।

एनपीएल यसपटक खेल मैदानको प्रतिस्पर्धामा मात्र सीमित छैन। प्रतियोगिताबाट करिब एक अर्ब ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै पत्रकार सम्मेलनमार्फत जनाएको थियो। प्रायोजन, विज्ञापन, टिकट बिक्री, खेलाडी अनुबन्ध, प्रसारण अधिकार तथा अन्य व्यावसायिक गतिविधिले प्रतियोगितासँग जोडिएका आर्थिक क्षेत्र विस्तार गर्ने अपेक्षा गरिएको छ। यसले पछिल्लो समय अपेक्षित गतिशीलता हासिल गर्न नसकेको नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ। फ्रेन्चाइज टोलीहरूले खेलाडी खरिद, पारिश्रमिक, व्यवस्थापन र प्रचारप्रसारमा उल्लेख्य रकम खर्च गरेका छन्। प्रतिटोली औसत १५ करोड रुपैयाँसम्म लगानी भएको जनाइएको छ।

एनपीएलको तेस्रो संस्करणमा काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्स गरी आठ टोली मैदानमा उत्रिनेछन्। प्रतियोगिताको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले आफ्नो पोल्टामा पारेको थियो। दुवै संस्करणमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो।

प्रतियोगिताका खेल दिउँसो १२ः३० बजे र साँझ ५ बजे सुरु हुने तालिका छ। एनपीएलका सबै खेल हिमालय स्पोर्ट्स टेलिभिजन र नेटटीभीमार्फत प्रसारण हुनेछन्। हिमालय एचडीले क्यानमार्फत १७ करोड २४ लाख रुपैयाँमा प्रत्यक्ष प्रसारणको अधिकार लिएको थियो।

मैदानमै पुगेर खेल हेर्न चाहने दर्शकका लागि टिकटको मूल्य र उपलब्धता पनि चासोको विषय बनेको छ। साधारण टिकटको मूल्य पाँच सय रुपैयाँ तोकिएको छ। प्रिमियममा बसेर खेल हेर्न चाहनेले भने एक हजार रुपैयाँ तिर्नुपर्नेछ। इलिमिनेटर र फाइनल खेलका लागि टिकटको मूल्य छुट्टै निर्धारण गरिएको छ। यी खेलमा साधारणतर्फ एक हजार रुपैयाँ र प्रिमियमतर्फ दुई हजार रुपैयाँ टिकट मूल्य तोकिएको छ।

नेपाली क्रिकेटको बढ्दो लोकप्रियताका बीच एनपीएलले खेलाडीलाई व्यावसायिक अवसर प्रदान गर्नुका साथै खेलसँग सम्बन्धित व्यवसायलाई समेत प्रोत्साहन गरिरहेको छ। होटल, यातायात, खानपान, विज्ञापन र पर्यटन क्षेत्रमा पनि प्रतियोगिताले आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय खेलाडी र दर्शकको आकर्षण बढाउन सके यसले नेपालमा खेल पर्यटनको सम्भावनालाई थप बलियो बनाउन सक्छ।

कुनै बेला चाउचाउ, चना र अण्डा खाएर क्रिकेट खेलेका नेपाली क्रिकेट खेलाडीहरूको आर्थिक हैसियत पनि एनपीएलले बदलिदिएको छ। अब एनपीएलमार्फत नेपाली खेलाडीहरू खेल खेलेरै देशको चाहेको सहरमा आफ्नै घर, गाडीसहित विलासी जिन्दगी बाँच्न पाउनेछन्। यो नेपाली क्रिकेटको अर्को ठूलो उपलब्धि हो। त्योभन्दा पनि नेपालमै क्रिकेट खेलेर राम्रो जिन्दगी बाँच्न सकिन्छ भन्ने विश्वास निर्माण गर्न सक्नु यसको सबैभन्दा ठूलो उपलब्धि हो।

समग्रमा भन्दा क्रिकेट नेपालीहरूको हाँसो, रोदन, मनोरञ्जन र खुसीको कारण बनिरहेको छ। नेपालीहरूले वर्षौंदेखि क्रिकेटलाई भावना मान्दै आइरहेका छन्। देश हारेको बेला क्रिकेटले जिताउँछ भन्ने विश्वास प्रत्येक नेपालीको भावना हो। र, नेपाली क्रिकेटले विभिन्न समयमा त्यो विश्वास कायम गर्न सफल पनि भएको छ। 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *