खोटाङमा धारिलो हतियार प्रहारबाट चार जना घाइते, एक जना पक्राउ
काठमाडौं। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका छन् । आफ्नै ससुरालीमा पुगेर ४३ वर्षीय नइन्द्रकुमार राईले धारिलो हतियार प्रहार गर्दा उनकी श्रीमतीसहित चार जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार घटनामा घाइते भएकी ४० वर्षीया अञ्जना राईको टाउकोको पछाडिको भागमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको छ । त्यस्तै, ६२ वर्षीया स्यामाउन राईको टाउको र दाहिने हातमा चोट लागेको छ । उनको अवस्था पनि गम्भीर रहेको छ ।
त्यसैगरी, नरेन्द्र राईको दाहिने हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ भने २५ वर्षीया तेनिना राईको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते चारै जनालाई उपचारका लागि नगर अस्पताल दुर्छिममा लगिएको छ । हतियार प्रहार गरेको आरोपमा नइन्द्रकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
