एम्बुलेन्समा ५७४ किलो गाँजा, मोटरसाइकलमा ब्राउनसुगर र प्रतिबन्धित औषधि
काठमाडौं । सुनसरीमा प्रहरीले एम्बुलेन्सबाट ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। त्यस्तै, भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट ३ ग्राम ६३० मिलिग्राम ब्राउनसुगर र प्रतिबन्धित औषधिका १६२ ट्याब्लेट बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि इटहरीबाट विराटनगरतर्फ जाने कोशी राजमार्गमा गाँजा बोकेको एम्बुलेन्स गुडिरहेको सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी दुहबीको संयुक्त टोलीले खोजतलास गर्दा दुहबी-६ स्थित बूढी खोलाको किनारमा गाँजासहितको एम्बुलेन्स फेला पारेको हो।
‘नेपाल-भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको ना.४ च ६०६३ नम्बरको एम्बुलेन्समा उक्त परिमाणको गाँजा भेटिएको प्रहरीले जनाएको छ। एम्बुलेन्सका चालक र गाँजा ओसारपसारमा संलग्न व्यक्ति भने फरार छन्।
एम्बुलेन्स कुन संस्थाबाट सञ्चालन भएको थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार सवारीसाधनमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको वा सामान्य गाडीलाई एम्बुलेन्सको स्वरूप दिएर प्रहरीलाई झुक्याउने प्रयास गरिएको हुन सक्ने आशंका छ।
यसैगरी, सोमबार बिहान ९ बजे भोक्राहा नरसिंह गाउँपालिका-२ निवासी अर्सद अन्सारीको घरमा पार्किङ गरिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा प्रहरीले लागुऔषध र प्रतिबन्धित औषधि बरामद गरेको हो।
प्रहरीका अनुसार बीआर ३८ एजे ७३१२ नम्बरको मोटरसाइकलबाट ३ ग्राम ६३० मिलिग्राम ब्राउनसुगर, स्पाज्मोका ७२ ट्याब्लेट र नित्जासेसीनका ९० ट्याब्लेट बरामद भएका छन्।
घटनामा संलग्न रहेको आशंकामा अन्सारीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवाको हिरासतमा राखिएको छ। साथै, दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
