`

सीमामा कुकुर परिचालन, तस्करमाथि सशस्त्र प्रहरीको निगरानी कडा

Nepal One HD १ कार्तिक २०८३ १२:२०
अपराध

काठमाडौं । सीमा नाकाबाट हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले तालिम प्राप्त कुकुर परिचालनलाई विस्तार गरेको छ । कञ्चनपुरको गड्डाचौकी भन्सार नाकामा पनि डग स्क्वाड खटाएर निगरानी र जाँच सुरु गरिएको छ ।

आज शनिबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले गड्डाचौकीमा परिचालन हुने डग स्क्वाडको उद्घाटन गरेका हुन् । तालिम प्राप्त कुकुरको सहायताले सीमा क्षेत्रमा हुने शंकास्पद गतिविधि पहिचान गर्न र अवैध ओसारपसार नियन्त्रण गर्न सहज हुने सशस्त्र प्रहरीको अपेक्षा छ ।

यसअघि झापाको काँकडभिट्टा, पर्साको वीरगन्ज र रुपन्देहीको बेलहिया नाकामा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको थियो । २०८० सालमा काँकडभिट्टा तथा २०८१ सालमा वीरगन्ज र बेलहियामा यस्तो व्यवस्था सुरु गरिएको थियो ।

यस वर्ष बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा समेत डग स्क्वाड परिचालन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिए ।

सशस्त्र प्रहरीका अनुसार तालिम प्राप्त कुकुर परिचालनबाट अवैध चोरीतस्करी, हातहतियार तथा लागुऔषध ओसारपसार र सीमापार अपराध नियन्त्रणमा सकारात्मक नतिजा प्राप्त भएको छ । प्रमुख सीमानाकामा निगरानी विस्तार गर्दै सीमा सुरक्षा र जाँचलाई थप प्रभावकारी बनाउने प्रहरीको योजना छ ।

साथै, सशस्त्र प्रहरी बलमा हाल तालिम प्राप्त कुकुरका लागि ३० दरबन्दी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *