जेनजी आन्दोलनमा रविसँगै फरार कैदीको घरमा दुई थान पेस्तोल
सर्लाही। प्रहरीले सर्लाहीमा दुई थान पेस्तोल, तीन थान म्याग्जिन र १५ राउण्ड गोली बरामद गरेको छ। हतियार लुकाएर राखेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
त्यस्तै, ब्राउन सुगर बिक्रीवितरणको आरोपमा थप दुई जना पक्राउ परेका छन्।
जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका सर्लाहीको बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज बाबु थापाको घरमा खानतलासी गर्दा हतियार फेला परेको प्रहरीले जनाएको छ।
थापालाई नियन्त्रणमा लिएर घरमा खोजतलास गर्दा ‘मेड इन युएसए’ लेखिएको एक थान पेस्तोल, ब्रान्ड नखुलेको अर्को पेस्तोल, तीन थान म्याग्जिन र १५ राउण्ड गोली बरामद गरिएको हो।
यसैगरी, हरिवन नगरपालिका–४, तिनघरेबाट प्रहरीले २३.३१० ग्राम ब्राउन सुगर बरामद गरेको छ। लागुऔषध बिक्रीवितरण गर्दै हिँडेको आरोपमा स्थानीय ३२ वर्षीय सागर पाख्रिन र २५ वर्षीय राजु भुजेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीहरूलाई नियन्त्रणमा लिएपछि प्राप्त बयानका आधारमा सागर पाख्रिनको घरमा खानतलासी गर्दा उक्त परिमाणको ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ।
दुवै घटनामा नियन्त्रणमा लिइएका व्यक्तिमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
