कोशीमा भाषा विधेयक पारित, आङ्बोले भने- ऐतिहासिक क्षण
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम)ले कोशी प्रदेश सभाबाट सरकारी कामकाजको भाषासम्बन्धी विधेयक पारित हुनुलाई ऐतिहासिक उपलब्धि भनेका छन्।
शनिबार साँझ सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै आङ्बोले विधेयक पारित हुनुलाई प्रदेशको भाषिक पहिचान र सांस्कृतिक विविधताको संरक्षण तथा प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण निर्णयका रूपमा उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘ऐतिहासिक क्षण, सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक पारित।’
उनका अनुसार विधेयक पारित हुनु प्रदेशको भाषिक पहिचान, सांस्कृतिक विविधता र ऐतिहासिक गौरवको संरक्षण तथा प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण उपलब्धि हो।
उनले भने, ‘प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि उक्त विधेयकमा उल्लेख भए बमोजिम आगामी २०८३ कार्तिक २५ गते राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन ज्युको जन्मजयन्तीको अवसरमा यसको औपचारिक कार्यान्वयन प्रारम्भ गरिनेछ।’
विधेयक कार्यान्वयनमा आएपछि कोशी प्रदेशमा विभिन्न मातृभाषाको सरकारी कामकाजमा प्रयोगलाई कानुनी आधार प्राप्त हुनेछ।
