`

एनपीएलको उद्घाटनको लागि प्रधानमन्त्री शाह किर्तिपुर जाँदै

Nepal One HD १० कार्तिक २०८३ ११:१८
खेलकुद

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले शाह उद्घाटन समारोहमा उपस्थित हुने जानकारी दिएकी हुन् ।

सोमबार दिउँसो ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपीएलको उद्घाटन कार्यक्रम आयोजना हुँदैछ । प्रतियोगिता सुरु हुनुअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत लिगको सफलताको कामना गरेका छन् ।

प्रधानमन्त्री शाहले छोटो समयमै एनपीएलले नेपाली खेलकुद क्षेत्रमा महत्त्वपूर्ण स्थान बनाउन सफल भएको उल्लेख गरेका छन् । उनका अनुसार एनपीएल अहिले नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा स्थापित हुँदै भव्य खेलकुद उत्सव बन्न सफल भएको छ ।

उनले प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै लिगको सफल आयोजनाका लागि नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका छन् ।

एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको लोकप्रियता बढाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपालको खेलकुद पहिचान थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *