आँखैअघि सुरुङ खनेर ८ कैदी फरार हुँदा १५ प्रहरी कसरी बेखबर ?
काठमाडौं । १७ जना कैदीबन्दीको सुरक्षामा १५ जना प्रहरी खटिएका थिए । तर, प्रहरीको आँखैअगाडि जेलभित्र ४.४३ मिटर लामो सुरुङ खनियो ।
त्यही सुरुङबाट आठ जना कैदी फरार भए । यो घटना डोल्पा कारागारको हो ।
कैदीभन्दा सुरक्षाकर्मीको संख्या दुई जना मात्रै कम थियो । तर, यति धेरै सुरक्षाकर्मी परिचालन भएको कारागारबाट आठ जना कैदी सुरुङ खनेर भाग्दा पनि कसैले सुइँको पाएनन् । यसले कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।
फरार हुनेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ का २९ वर्षीय कालीप्रसाद रोकाया, वडा नम्बर ४ का २८ वर्षीय हरिबहादुर बुढा रहेका छन् ।
त्यस्तै, जाजरकोटको बारेकोट गाउँपालिका-१ का २५ वर्षीय यज्ञ विक, नलगाड नगरपालिका–९ का १९ वर्षीय कपिल परियार पनि फरार भएका छन् ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ का ३८ वर्षीय तिलक भण्डारी, वडा नम्बर १० का ३२ वर्षीय रामबहादुर कामी, वडा नम्बर ३ का ३२ वर्षीय अदेश भण्डारी र सल्यानको कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना पनि सुरुङ खनेर भागेका छन् ।
सबैभन्दा आश्चर्यलाग्दो कुरा, कैदीहरूले सुरुङ खन्न समय लगाउँदा पनि कसैले थाहा पाएनन् । सेफ्टी ट्याङ्की फुटाउनुपर्यो, झ्यालको रड निकाल्नुपर्यो र माटोसमेत व्यवस्थापन गर्नुपर्यो । तर, न प्रहरीलाई थाहा भयो, न जेल प्रशासनलाई।
जेलर दीर्घराज आरसीका अनुसार शनिबार बिहान पौने ६ बजे मात्रै कैदी भागेको थाहा भयो । उनले राति पानी परेको र बत्तीसमेत गएको बताएका छन् ।
तर, के पानी पर्दैमा र बत्ती जाँदैमा सुरक्षाको जिम्मेवारी सकिन्छ ? ४० देखि ४२ मिटरको दूरीमा रहेका दुई सुरक्षा पोस्टबीचको भागमा कैदीले सुरुङ खन्दा कसैको नजर किन पुगेन ? नियमित गस्ती कहाँ थियो ? सुरुङ खन्ने सामग्री जेलभित्र कसरी पुग्यो ?
घटनापछि खोजीका लागि प्रहरी, सेना र सशस्त्र प्रहरी गरी डेढदेखि दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ । तर, कैदी भागेपछि सयौँ सुरक्षाकर्मी परिचालन गर्नुभन्दा भाग्नुअघि नै सुरक्षा व्यवस्था चुस्त बनाउनुपर्ने होइन र ?
आठ कैदीको फरारीले डोल्पा कारागारको सुरक्षा व्यवस्थापनमाथि गम्भीर छानबिनको आवश्यकता देखाएको छ ।
