`

जर्मनीमा जेनजी प्रदर्शन उग्र, पसलमा लुटपाटदेखि प्रहरीसँग झडपसम्म

Nepal One HD १६ कार्तिक २०८३ ११:४८
विश्व

काठमाडौं । जर्मनीमा महँगी, सरकारी खर्च कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा उत्रिएका जेनजी युवाको प्रदर्शन हिंसात्मक बनेको छ। शनिबार दिउँसो शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन रात पर्दै जाँदा उग्र बनेको हो।

जर्मनीको आर्थिक राजधानी फ्र्याङ्कफर्टमा प्रदर्शनकारीहरूले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग झडप गरेका छन्। बर्लिन, कोलोन र ह्याम्बर्गलगायत शहरमा पनि हिंसात्मक घटना भएका छन्।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो। तर, प्रदर्शनकारीहरूले प्रहरी तथा आपतकालीन सेवामा खटिएका कर्मचारीमाथि पटाका, ढुङ्गा र बोतल प्रहार गरेका थिए।

‘जेनजी रेगेल्ट’ नामक अभियान समूहको आह्वानमा हजारौँ युवा सडकमा उत्रिएका थिए। जर्मन भाषाको उक्त नाराको अर्थ ‘जेनजीले अब जिम्मेवारी लिन्छ’ भन्ने हुन्छ।

प्रदर्शनकारीहरूले विद्यालयमा बजेट कटौती, बढ्दो महँगी, सरकारी खर्च घटाउने निर्णय र अनिवार्य सैन्य सेवाको विरोध गरेका थिए। उनीहरूले शिक्षा तथा स्वास्थ्य प्रणालीमा थप लगानी गर्नुपर्ने माग अघि सारेका थिए।

जर्मनीमा भएको यो प्रदर्शन फ्रान्समा युवा पुस्ताको नेतृत्वमा भएका विरोध प्रदर्शनपछि भएको हो। फ्रान्समा पनि शनिबार तीन लाख २० हजारभन्दा बढी मानिस सडकमा उत्रिएका थिए।

समाचार एजेन्सी एएफपीका अनुसार फ्र्याङ्कफर्टको मुख्य सपिङ सडकको ठूलो हिस्सा प्रहरीले बन्द गरेको थियो। प्रदर्शनका क्रममा कैयौँ व्यक्ति पक्राउ परेको प्रहरी प्रवक्ताले बताएका छन्।

फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूका अनुसार विभिन्न शहरमा भएका प्रदर्शनमा कुल १८ हजार मानिस सहभागी भएका थिए। यो सङ्ख्या आयोजकहरूले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको अनुमानभन्दा झन्डै आधा हो।

‘जेनजी रेगेल्ट’ की प्रवक्ता लीना फ्रेडरिकले प्रदर्शनको उद्देश्य युद्ध र जबर्जस्तीको सट्टा शान्ति तथा स्वतन्त्रताका पक्षमा आवाज उठाउनु रहेको बताएकी छन्।

उनका अनुसार स्वास्थ्य र शिक्षा प्रणालीले नागरिकलाई अझ राम्रो सेवा दिनुपर्ने प्रदर्शनकारीको माग छ। उनीहरू अनिवार्य सैन्य सेवाको विपक्षमा छन्। साथै, सैन्य सेवाको भार सबै नागरिकमाझ न्यायपूर्ण ढङ्गले बाँडिनुपर्ने उनीहरूको भनाइ छ।

दिउँसो शान्तिपूर्ण देखिएको प्रदर्शन रात परेसँगै हिंसात्मक बनेपछि जर्मनीका विभिन्न शहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। फ्र्याङ्कफर्टमा भएको लुटपाट र प्रहरीसँगको झडपले प्रदर्शन थप तनावपूर्ण बनेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *