इरानमाथि फेरि बम वर्षाउने ट्रम्पको चेतावनी, निशानामा ‘पिकएक्स माउन्टेन’
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य तथा आणविक क्षमतामा ठूलो क्षति पुर्याइसकेको दाबी गर्दै अझै एक–दुई रणनीतिक स्थलमा आक्रमण गर्न बाँकी रहेको बताएका छन् । तीमध्ये इरानको भूमिगत आणविक संरचनासँग सम्बन्धित मानिएको ‘पिकएक्स माउन्टेन’ अमेरिकी निशानामा रहेको उनको अभिव्यक्तिले मध्यपूर्वमा पुनः सैन्य तनाव बढ्ने सङ्केत गरेको छ ।
शनिबार अक्टोबर ३१ मा फ्लोरिडास्थित आफ्नो निवास मार–ए–लागोमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताए । तर, तेहरानको प्रतिबद्धतामाथि विश्वास गर्न नसकिने उनको टिप्पणी थियो ।
‘हामीले उनीहरूको आणविक क्षमतालाई ध्वस्त पारिसकेका छौँ । अझै एक वा दुईवटा स्थललाई नियन्त्रणमा लिन बाँकी छ । तर, त्यो काम हामी १० मिनेटमै गर्न सक्छौँ,’ ट्रम्पले भने । उनले पिकएक्स माउन्टेनलाई पनि सम्भावित निशानाका रूपमा उल्लेख गर्दै त्यहाँको संरचना ध्वस्त पार्नुपर्ने धारणा राखे ।
ट्रम्पको यो अभिव्यक्ति तत्कालै अर्को आक्रमणको घोषणा भने होइन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति ट्रम्पले इरानमाथि थप सैन्य कारबाही गर्ने निर्णय नगरेको स्पष्ट पारेका छन् । अमेरिकाले कूटनीतिक माध्यमबाट पनि समस्या समाधान गर्न चाहेको उनको भनाइ छ । तर, आवश्यक परे सैन्य विकल्प खुला रहेको अमेरिकी प्रशासनको सङ्केतले वार्तामाथि दबाब कायम राखेको छ ।
के हो पिकएक्स माउन्टेन ?
इरानको आणविक कार्यक्रमसँग जोडिएको पिकएक्स माउन्टेन अहिलेको तनावको प्रमुख केन्द्र बनेको छ । यो संरचना इरानको नातान्ज आणविक केन्द्रनजिकै पहाडभित्र गहिराइमा निर्माण गरिएको सुदृढ भूमिगत परिसर हो । यसको प्रवेशद्वार र सुरुङ संरचना सम्भावित हवाई आक्रमणबाट जोगिने गरी बनाइएको विश्लेषण छ ।
पश्चिमा गुप्तचर निकाय र केही अनुसन्धान संस्थाले इरानले आफ्ना युरेनियम प्रशोधनसँग सम्बन्धित उपकरण तथा सेन्ट्रिफ्युजका सामग्री त्यहाँ सार्न सक्ने आशङ्का व्यक्त गरेका छन् । इजरायली गुप्तचर सूचनाका आधारमा इरानले त्यहाँ सेन्ट्रिफ्युज र त्यसका पार्टपुर्जा सारिएको अमेरिकी पक्षलाई जानकारी दिइएको विवरण पनि सार्वजनिक भएको छ ।
तर, यसबारे स्वतन्त्र रूपमा पूर्ण पुष्टि भएको छैन । सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) ले स्याटेलाइट तस्बिरको विश्लेषण गर्दै उक्त क्षेत्रमा सन् २०२६ मा निर्माण तथा सुरक्षा सुदृढीकरणको गतिविधि बढेको जनाएको छ ।
युरोपियन काउन्सिल अन फरेन रिलेसन्सको आणविक अनुगमन विश्लेषणअनुसार इरानले उक्त संरचनालाई भविष्यमा सेन्ट्रिफ्युज जडान गर्ने केन्द्रका रूपमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) लाई जानकारी गराएको थियो । तर, एजेन्सीले अहिलेसम्म उक्त स्थलको निरीक्षण नगरेकाले त्यहाँ वास्तवमा के गतिविधि भइरहेको छ भन्ने स्पष्ट छैन ।
इरान सरकारले भने पिकएक्स माउन्टेनमा आणविक गतिविधि भइरहेको अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ । यही अस्पष्टताबीच ट्रम्पले उक्त स्थललाई आक्रमणको सम्भावित लक्ष्यका रूपमा प्रस्तुत गरेका हुन् ।
अमेरिका र इजरायलले सन् २०२६ फेब्रुअरी २८ देखि इरानमाथि संयुक्त सैन्य कारबाही सुरु गरेका थिए । इरानको आणविक कार्यक्रम, क्षेप्यास्त्र क्षमता र सैन्य संरचनालाई कमजोर बनाउने उद्देश्यसहित आक्रमण गरिएको अमेरिकी तथा इजरायली पक्षको दाबी थियो । त्यसक्रममा इरानका तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित उच्च तहका राजनीतिक तथा सैन्य अधिकारी मारिएका थिए ।
अमेरिका र इजरायलले इरानका क्षेप्यास्त्र केन्द्र, हवाई प्रतिरक्षा प्रणाली, नौसैनिक संरचना, सैन्य उद्योग र कमान्ड केन्द्रलाई निशाना बनाएका थिए । जवाफमा इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो । यसले युद्धलाई दुई देशबीचको सीमित सैन्य भिडन्तबाट क्षेत्रीय सङ्घर्षमा विस्तार गर्यो ।
युद्धको अर्को ठूलो प्रभाव विश्व व्यापार र ऊर्जा आपूर्तिमा देखियो । इरानले रणनीतिक महत्त्वको होर्मुज जलडमरूमध्यबाट हुने समुद्री आवागमन अवरुद्ध गर्ने कदम चालेपछि तेल तथा ग्यास ढुवानी प्रभावित भयो । अमेरिकाले पनि इरानी बन्दरगाहलाई लक्षित गरी नाकाबन्दीको कदम अघि बढायो । विश्वको महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य र आपूर्ति सुरक्षाबारे चिन्ता बढेको छ ।
अप्रिलमा युद्धविरामको सहमति भए पनि त्यो टिक्न सकेन । जुनमा पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच युद्ध अन्त्य तथा थप वार्ताका लागि समझदारी बनेको थियो । तर, त्यसपछि पनि आक्रमण र प्रत्याक्रमण रोकिएनन् । अगस्टमा उक्त समझदारीको अवधि सकिएपछि दुई देशबीच तनाव पुनः बढ्दै गएको छ ।
युद्ध अन्त्यका लागि पछिल्लो समय कतारले मध्यस्थताको प्रयास गरिरहेको छ । अक्टोबर २८ मा सार्वजनिक भएको विवरणअनुसार कतारले इरानसमक्ष सात दिनको विश्वास निर्माण प्रक्रिया समेटिएको नयाँ प्रस्ताव प्रस्तुत गरेको थियो । प्रस्तावमा दुवै पक्षले क्रमिक रूपमा पूरा गर्नुपर्ने सर्त र कदम समावेश गरिएको बताइएको छ ।
तर, इरानका एक वरिष्ठ अधिकारीले कतारको प्रस्तावलाई स्वीकार गर्न नसकिने विचारहरूको सङ्ग्रह भन्दै अस्वीकार गरेका छन् । यसले वार्ता अघि बढे पनि सहमतिको आधार तयार भइनसकेको देखाउँछ ।
दुवै पक्षबीचको मुख्य विवाद आणविक कार्यक्रम र आर्थिक नाकाबन्दीमा केन्द्रित छ । अमेरिकाले वार्ताको सुरुवातमै इरानको आणविक कार्यक्रमलाई प्रमुख विषय बनाउन चाहेको छ । इरानले भने आफ्नो आणविक नीतिमा सम्झौता गर्नुअघि अमेरिकी बन्दरगाह नाकाबन्दी र तेल निर्यातमाथिका प्रतिबन्ध हटाउनुपर्ने अडान राख्दै आएको छ ।
शनिबार इरानी प्रतिनिधिहरूले कतारी मध्यस्थकर्तासँग दोहामा छलफल गरेका थिए । इरानी विदेशमन्त्री अब्बास अराघचीले मध्यस्थकर्ताहरूसँग सम्पर्क जारी रहेको र तेहरानले आफ्नै प्रस्ताव कार्यान्वयन गर्ने सम्भावनाबारे छलफल गरिरहेको बताएका छन् । यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पठाएको पत्रबारे पनि इरानी पक्षमा छलफल भइरहेको विवरण सार्वजनिक भएको छ ।
अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः सैन्य कारबाही गर्न सक्ने सङ्केत गरिरहेका बेला इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिका र इजरायललाई चेतावनी दिएका छन् । शनिबार सैन्य कमान्डरहरूलाई सम्बोधन गर्दै उनले कुनै पनि स्तर वा प्रकृतिको धम्कीको तत्काल, प्रभावकारी र भौगोलिक सीमाबिनाको जवाफ दिइने बताएका छन् ।
सन् २०२६ फेब्रुअरीको आक्रमणमा अली खामेनी मारिएपछि उनका छोरा मोज्तबा नयाँ सर्वोच्च नेता बनेका हुन् । नेतृत्व परिवर्तन भए पनि इरानले आफ्नो सैन्य प्रतिरोधको नीति नछाड्ने सङ्केत उनको पछिल्लो चेतावनीले दिएको छ ।
अमेरिकी मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ । ट्रम्पले निर्वाचनपछि इरानविरुद्ध थप सैन्य कारबाही हुन सक्ने सङ्केत यसअघि पनि दिएका थिए । उनले इरानलाई पूर्ण रूपमा पराजित गर्ने वा नगर्ने भन्नेबारे विचार गरिरहेको अभिव्यक्ति दिएका थिए । निर्वाचनपछि युद्ध अन्त्य गर्ने वा सैन्य दबाब बढाउने भन्ने अमेरिकी निर्णयले मध्यपूर्वको आगामी परिस्थिति निर्धारण गर्न सक्नेछ ।
अमेरिकाले इरानको सैन्य तथा आणविक संरचनामा ठूलो क्षति पुर्याएको दाबी गरे पनि युद्धको मूल विवाद समाधान भएको छैन । आणविक सामग्रीको वास्तविक अवस्था, भूमिगत संरचनामा रहेको उपकरण र इरानको भविष्यको आणविक कार्यक्रमबारे अन्तर्राष्ट्रिय अनुगमन अझै अपूरो छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले हालै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा इरानका क्षतिग्रस्त आणविक केन्द्र पुनर्निर्माण भइरहेको प्रमाण नदेखिएको बताएका थिए । तर, अमेरिकी आक्रमणपछि इरानसँग रहेको उच्च प्रशोधित युरेनियमको भण्डारको अवस्थाबारे एजेन्सीले पूर्ण पुष्टि गर्न नसकेको उनको भनाइ छ । एजेन्सीका अनुसार इरानसँग ६० प्रतिशत प्रशोधित ४४०.९ किलोग्राम युरेनियम रहेको अनुमान छ । यो हतियार बनाउन आवश्यक मानिने करिब ९० प्रतिशत प्रशोधन स्तरभन्दा कम भए पनि सामान्य आणविक इन्धनका लागि चाहिने स्तरभन्दा निकै माथि हो ।
यसले इरानको आणविक कार्यक्रमबारे अन्तर्राष्ट्रिय चिन्ता अझै कायम रहेको देखाउँछ । तर, आणविक संरचनामाथि थप सैन्य आक्रमण गर्दा त्यसले कार्यक्रमलाई स्थायी रूपमा रोक्छ भन्ने सुनिश्चित छैन । बरु इरानको प्रतिकार, खाडी क्षेत्रका अमेरिकी अखडा र ऊर्जा पूर्वाधारमाथि सम्भावित आक्रमण तथा होर्मुज जलडमरूमध्यमा थप अवरोध निम्तिन सक्ने जोखिम छ ।
ट्रम्प एकातिर वार्ता सकारात्मक रहेको बताइरहेका छन् भने अर्कातिर बाँकी रहेका लक्ष्यमा केही मिनेटमै आक्रमण गर्न सकिने चेतावनी दिइरहेका छन् । इरानले पनि वार्ताको ढोका पूर्ण रूपमा बन्द नगरी नयाँ आक्रमणको जवाफ दिने तयारी गरिरहेको छ ।
