नौ लाख किसानलाई बजारसँग जोड्ने श्रीलंकाको कृषि कार्यक्रम सुरु
कोलम्बो। श्रीलंकाले कृषि क्षेत्रको आधुनिकीकरण र राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाउने उद्देश्यले शुक्रबार ६६ करोड ५० लाख अमेरिकी डलरको कृषि विकास कार्यक्रम सुरु गरेको छ ।
विश्व बैंक समूह र अन्तरराष्ट्रिय कृषि विकास कोष (आईएफएडी) को आर्थिक सहयोगमा सञ्चालन हुने ‘श्रीलंका एग्रीकनेक्ट’ कार्यक्रमले सन् २०३० सम्ममा नौ लाख किसानलाई कृषि उत्पादन तथा बजारको मूल्य शृङ्खलासँग जोड्ने लक्ष्य राखेको छ ।
कार्यक्रमअन्तर्गत विश्व बैंक समूहले ५५ करोड अमेरिकी डलर र आईएफएडीले ११ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउनेछन् । यसका अतिरिक्त आगामी पाँच वर्षमा निजी क्षेत्रबाट थप १७ करोड अमेरिकी डलरसम्म लगानी भित्र्याउने लक्ष्य राखिएको छ ।
अधिकारीहरूका अनुसार कार्यक्रमले डिजिटल प्रविधिको प्रयोग र अन्य आधुनिकीकरणका उपायमार्फत कृषि तथा खाद्य क्षेत्रलाई जलवायु परिवर्तनका असर थेग्न सक्ने र बजारमुखी उद्योगका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रम शुभारम्भका अवसरमा सार्वजनिक विवरणअनुसार श्रीलंकाको कुल गार्हस्थ उत्पादनमा कृषि तथा खाद्य क्षेत्रको योगदान करिब १५ प्रतिशत छ । त्यस्तै, वस्तु निर्यातमा यस क्षेत्रको हिस्सा ३० प्रतिशत र कुल रोजगारीमा करिब एक तिहाइ रहेको छ ।
